एउटा कम्पनीले एक भन्दा बढी क्यासिनो चलाउन नपाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2023 | 12:56:53 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नेपालमा सञ्चालित क्यासिनोहरुलाई कस्ने नीति अवलम्बन गर्न खोजेको छ । विधेयकमार्फत ‘पर्यटन ऐन, २०३५’लाई संशोधन गरी क्यासिनोमाथि थप कडाइ गर्न लागिएको छ । 

क्यासिनो सञ्चालन गर्न इजाजत (लाइसेन्स) पाएको कम्पनीले एकभन्दा बढी क्यासिनो चलाउन नपाउने व्यवस्था गर्न लागिएको पर्यटन मन्त्रालय श्रोतले जनाएको छ । 

यसअघि नै कुनै एक कम्पनीले एकभन्दा बढी क्यासिनो चलाइरहेको भए त्यस्तो कम्पनीलाई एक वर्षको समय दिएर एउटा क्यासिनो बन्द गर्न लगाइने व्यवस्था राखेर ऐन संशोधनको प्रस्ताव संसदमा लैजाने तयारी गरिएको छ ।

त्यस्तै, कुनै कम्पनीले क्यासिनो सञ्चालनका लागि पाएको लाइसेन्स अरुलाई दिन नमिल्ने (ब्रोकरका रुपमा मार्जिन राखेर अरुलाई दिन नमिल्ने) प्रावधान पनि प्रस्ताव गरिएको छ । 

साथै, क्यासिनो सञ्चालक कम्पनीले १० प्रतिशत भन्दा बढी सेयर किनबेच गर्नुपर्दा वा स्वामित्व हस्तान्तरण गर्नुपर्दा यसका लागि पर्यटन विभागबाट अनिवार्य स्वीकृति लिनुपर्ने प्रावधान पनि राख्न लागिएको छ ।

यस्तो कम्पनीले होटल परिवर्तन गरेर क्यासिनो सार्न पनि पर्यटन विभागबाट पूर्वस्वीकृति लिनुपर्ने छ । 

त्यस्तै, लाइसेन्स नलिई क्यासिनो सञ्चालन गर्दा १ करोडदेखि ५ करोडसम्म जरिवाना तिर्नुपर्ने प्रावधान पनि संशोधन विधेयकमा प्रस्ताव गरिएको स्रोतले बताएको छ ।

‘सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐन संशोधन गर्न बनेको विधेयक’मार्फत पर्यटन ऐन संशोधन गरेर क्यासिनो सञ्चालनको नयाँ नियम ल्याउन लागिएको हो । यस विधेयकलाई संसदमा पेश गर्न मन्त्रिपरिषदले स्वीकृति दिइसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved