३ वर्षपछि कैलास यात्राको ढोका खुल्यो, भारतीयलाई 'नो ईन्ट्री'

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 21, 2023 | 06:32:08 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसको महामारीका कारण रोकिएको कैलाश मानसरोवरको धार्मिक यात्रा ३ वर्षपछि खुलेको छ । कोरोना महामारीका कारण चीनले लगाएको यात्रा प्रतिबन्धका कारण बन्द रहेको मानसरोवर यात्रा ३ वर्षपछि खुलेको हो । मे देखि सेप्टेम्बरसम्म कैलाश मानसरोवर यात्राका लागि उपर्युक्त मौसम मानिन्छ ।

नेपालबाट नेपाली नागरिकसहित तेस्रो देशका नागरिक पनि कैलाश मानसरोवर यात्रामा जान सक्ने भएका छन् । तर भारतीय नागरिकका लागि भने चीनले कैलाश यात्रा खुलाएको छैन । पदयात्रा व्यवसायीको छाता सङ्गठन टे«किङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष निलहरि वास्तोलाले चीन र भारतबीचको ‘डिप्लोमेट इस्यू’का कारण चीनले भारतीय नागरिकलाई कैलाश यात्राको अनुमति नदिएको हुनसक्ने बताए ।

‘पहिलो कुरा चाहीँ भारतीयहरु ठूलो सङ्ख्यामा सामूहिक ट्राभल गर्छन्, चीनले एक पटकमा कम्तीमा ४ जनाको बायोमेट्रिकसमेत लिने नियम बनाएको छ, यसले पनि भारतीयलाई निरुत्साहित गर्यो’ उनले भने, ‘मुख्य कारण चाहीँ चीन र भारतबीचको डिप्लोमेटिक कुरा हो जस्तो लाग्छ, यसअघि भारतीयलाई पनि नेपाली बाटो हुँदै कैलाश यात्रा जान दिने भन्ने कुरा भइरहेका बेला नेपालका प्रधानमन्त्रीको भारत भ्रमणले चीन सशंकित बनेको पनि हुन सक्छ ।’

उनले गैरआवासीयलाई भिसा दिए पनि भारतीय राहदानीबाहकलाई भने भिसा नदिएको बताए । ‘गैरआवासीय भारतीय नागरिकलाई रोकेको छैन, तर फूल्ली इन्डियन पासपोर्ट होल्डरलाई रोकेको छ’ अध्यक्ष वास्तोलाले भने ।

कैलाश मानसरोवरमा धार्मिक यात्रा गराउने ३३ वटा कम्पनी छन् । यीमध्ये सबैभन्दा बढी काम गर्ने व्यवसायी वसन्त बरालले पनि भारतीय नागरिकका लागि परमिट जारी गर्ने तर भिसा नदिने समस्या रहेको बताए । ‘नेपालको पर्यटनका लागि अफ सिजन हुँदा पनि मेदेखि अगष्टसम्म मानसरोवर जाने पर्यटकले पोखरादेखि काठमाडौँका होटल भरिन्थे, ट्राभल कम्पनी र त्यहाँका मजदूर, होटल, एयरलाइन्स, ट्याक्सीदेखि रेमिट्यान्स व्यवसायसम्म चलायमान हुन्थ्यो’ उनले भने, ‘तर, अहिले भारतीयलाई चीनले कैलाश यात्राका लागि भिसा नदिएपछि काम त भइरहेको छ, तर विगतमा जति हुन्थ्यो त्यसको तुलनामा निकै काम मात्रै भइरहेको छ ।’

भिसा शुल्क र भिसा नीतिमा पनि परिवर्तन

चीनले कैलाश मानसरोवर दर्शनमा जाने तीर्थयात्रीका लागि भिसा प्रक्रियामा पनि फेरबदल गरेको छ । विगतमा सामूहिक भिसा दिने गरेकोमा अहिले कम्तीमा ४ जना हुनैपर्छ । काठमाडौंस्थित चिनियाँ भिसा सेन्टरले वायोमेट्रिक लिएर मात्रै भिसा प्रक्रिया अघि बढाउन सुरु गरेको छ । भिसा प्राप्त गर्ने अवधि पनि ५ दिन पु¥याएको छ । यसले भिसा प्रक्रिया पूरा गर्न पनि समय लागिरहेको छ ।

चीनले भिसा शुल्क पनि बढाएको छ । नेपालबाट कैलाश मानसरोवर जाने पर्यटकको भिसा शुल्क एकैपटक तेब्बरले बढाएको छ । अब मानसरोवर जाने तीर्थयात्रीले १३ हजार ६६० रुपैयाँ भिसा शुल्क बुझाउनुपर्नेछ । कैलाश यात्रीहरूका सहयोगी भएर जाने नेपालीहरूको भिसा शुल्क पनि प्रतिव्यक्ति १३ हजार ६६० रुपैयाँ नै पुगेको छ । कोभिड अगाडि जम्मा ४ हजार १ सय रुपैयाँ मात्रै थियो ।

सिमित रुट

नेपालबाट हिल्सा, रसुवागढी र कोरला नाका हुँदै कैलाश मानसरोवर जाने स्थल मार्ग छ । तर, अहिले काठमाडौँ–केरुङ हुँदै चीनको सागा पुगेर मानसरोवर ताल हुँदै कैलाश पुग्ने बाटो मात्रै खुलेको छ । हुम्लाको हिल्सा नाका खुलेको भए पनि भर्खरै खुलेको र भिसा प्रक्रियालगायतका कारण कम्पनीहरुले दर्शनार्थीलाई काठमाडौँबाट केरुङ–सागा–मानसरोवर ताल हुँदै कैलाश पर्वत लैजाने गरेका छन् ।

नेपालबाट कैलाश मानसरोवर जानका लागि कम्पनीहरुले १० दिनभन्दा माथिको प्याकेज उपलब्ध गराउँछन् । यसका लागि प्रतिव्यक्ति न्यूनतम १ लाख ६० हजारदेखि अधिकतम् ३ लाख रुपैयाँसम्म लाग्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved