नेपाल सरकारले किनेको भनिएको रेल आफुले दिएको भारतले दाबी गरेको छ। भारतका रेलवे र ब्यापार तथा उद्योगमन्त्री पियुस गोयालले रेलवेद्वारा नेपाललाई २ वटा रेल दिईएको आफ्नो ट्वीट मार्फत दाबी गरेका छन्।
नेपालसँग प्राचिनकालदेखि नै सौहाद्रपूर्ण सम्बन्ध रहेको बताउदै मन्त्री गोयालले यो सम्बन्धलाई नयाँ आयाम दिंदै नेपाललाई दुईवटा रेल दिईएको दाबी गरेका छन्। उनले नेपाललाई दिईएको रेल जयनगर, बिहार कुर्था देखि नेपालसम्मको रेलयात्राको लागी उपयोग गरिने लेखेका छन्।
यद्दपी मन्त्री गोयालको ट्वीटमा रिट्वीट गर्दै अधिकांश नेपालीहरुले नेपालले उक्त रेल किनेकाले दिएको भनेर गलत प्रचार नगर्न सुझाब दिएका छन्। तर सामाजिक संजाल फेसबुक लगायतका सोसियल मिडियामा भारतले उपहारमा दिएको रेल किनेको भनेर जनता झुक्याएको भन्दै ओली सरकारको आलोचना समेत गरेका छन्।
८६ करोडमा भारतीय कम्पनीबाट दुई सेट रेल खरिद गरिएको नेपाल रेल्वे बिभागको दाबि छ। धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि ल्याउन लागिएको रेल सेट भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत किनिएको नेपाल सरकारको दाबी छ।
भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्गका अरु भौतिक पूर्वाधार निर्माण भइसकेको समेत रेलवे बिभागले जनाएको छ। यसमा कुर्थाबाट विजलपुरा खण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटरमा रेल चलाउने तयारी छ।
नेपाल सरकारले आफैंले किनेर ल्याएको भनिएको रेल भारतका मन्त्री जस्तो जिम्मेवार व्यक्तिले दिएको भनेर ट्वीट गरेपछि सामाजिक संजालमा रेल किनेको कि लिएको भन्ने बहस सुरु भएको छ।