भारतको सबैभन्दा ठूलो विदेशी बैंकले गर्यो सेवा बन्द गर्ने घोषणा, के हुन्छ १५ खर्व निक्षेप ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2021 | 01:12:00 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतको सबैभन्दा ठूलो विदेशी बैंकको रुपमा रहेको सिटी बैंकले भारतमा आफ्नो रिटेल बैंकिङ सेवा बन्द गर्ने घोषणा गरेको छ । सिटी बैंकले भारत र चीन सहित १३ वटा देशमा  रिटेल बैंकिङ सेवा बन्द गर्ने घोषणा गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन्।

रिटेल बैंकिङ सेवा भनेको व्यक्तिसंग प्रत्यक्ष जोडिएका सेवा हुन्। कुनै कम्पनी, संघ, संस्थालाई नभई सिधै व्यक्तिगत ग्राहकसंग प्रत्यक्ष जोडिने सेवा रिटेल बैंकिङ हो । खाता खोल्ने, निक्षेप लिने, कर्जा दिने,  कार्डहरुको सेवा दिने लगायतका सेवा यसमा पर्दछन्  । सिटि बैंकले यिनै सेवा बन्द गर्ने घोषणा गरेको हो ।

सिटि बैंकले भारत, चीन, अष्ट्रेलिया, बहराइन, चीन, इन्डोनेसिया, कोरिया, मलेशिया, फिलिपिन्स, पोल्याण्ड, रुस, ताइवान, थाईल्याण्ड र भियतनाममा रिटेल बैंकिङ सेवा बन्द गर्न लागेको हो ।  बैंकले आफ्नो रिटेल बैंकिङ सेवालाई सिंगापुर, हंगकंग, लन्डन र युएईमा केन्द्रित गर्ने जनाएको छ ।

बैंकले यी १३ देशका रिटेल बैंकिङ सेवा बन्द गरेर वेल्थ म्यानेजमेन्ट सेवामा केन्द्रित हुन् चाहेको जनाएको छ । जसबाट संस्थागत ग्राहक लाभान्वित हुने छन् । सेवा बन्द गरिने घोषणा भएका १३ देशमा ब्यबसायको आकार सानो भएको र त्यसबाट अपेक्षित मुनाफा नभएको बैंकको भनाई छ । 

सिटि बैंक सन् १९०२ मा भारत प्रवेश गरेको थियो । बैंकले सन् १९८५ बाट रिटेल बैंकिङ सेवा दिन थालेको थियो  । हाल भारतमा बैंकको ३५ शाखा छ भने रिटेल बैंकिङतर्फ ४ हजार ग्राहक छन्। बैंकको कार्ड प्रयोगकर्ता २७ लाख रहेको र ति ग्राहकले कार्ड मार्फत गर्ने खर्च भारत कै उच्च रहेको बताईएको छ । भारतमा बैंकको निक्षेप संकलन १ लाख ५७ हजार ८ सय ६९ करोड पुगेको छ जुन १५ खर्ब ७८ अर्ब बराबर हो  । 

अब के हुन्छ ?

बैंकले सेवा बन्द गर्ने घोषणा गरेपनि यसको प्रक्रिया भने लामो छ  ।  अब बैंकले भारतको केन्द्रिय बैंकसंग सेवा बन्द गर्नको लागि अनुमति लिनु पर्छ  ।  अनुमति पाएपछि बैंकले आफ्नो सम्पूर्ण रिटेल बैंकिङ सेवा खरिद गर्नको लागि खरिदकर्ता खोज्ने छ। सेवा बिक्रि गरेपछि खरिदकर्ताले आफ्नै नाममा सिटि बैंककै नामबाट सेवा दिने छ । कोटक महिन्द्रा बैंक, आईसीआइसीआइ बैंक, एक्सिस बैंक लगायतले यो सेवा खरिद गर्न चासो देखाएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । खरिद बिक्रि प्रक्रिया अगाडी बढाउन केन्द्रिय बैंकको अनुमति अनिवार्य छ ।  तर यदि बैंकले केन्द्रिय बैंकबाट अनुमति नपाएमा सेवालाई निरन्तरता दिईरहनु पर्ने हुन सक्छ । 

सिटि बैंकले अहिलेको लागि रणनीति स्वरुप १३ देशमा रिटेल बैंकिङ सेवा बन्द गर्ने घोषणा गरेपनि यसबाट कुनै पनि ग्राहक र कर्मचारीलाई केहि पनि असर नगर्ने प्रष्ट पारेको छ । बैंकले विगत दिनमा झैँ सेवा दिईरहने जनाएको छ ।  

भारतबटा विदेशी लगानीको बैंक आंशिक वा पूर्ण रुपमा बाहिरिएको यो पहिलो पटक भने होइन ।  यस अघि पनि बार्कलेज, डुच, एसएसबिसी, रोयल बैंक अफ स्कट ल्याण्ड लगायतका बैंकहरु बाहिरिसकेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved