
अन्तराष्ट्रिय मुद्रा कोष आईएमएफले भारतलाई चामल निर्यातको प्रतिबन्ध हटाउन आग्रह गरेको छ । आईएमएफका चिफ इकोनोमिस्ट पेरि ओलिभर गुरिन्चासले चामल निर्यातको प्रतिबन्ध हटाउन भारतलाई आग्रह गरेका हुन् ।
आईएमएफको रिसर्च डाइरेक्टर समेत रहेका उनले भारतले चामल निर्यातमा प्रतिबन्ध लगाउँदा विश्व भर नै चामलको मूल्य बढ्न जाने र त्यसले विश्वभर नै खाध्यान्नको मूल्य बढ्ने भएकोले आफ्नो निर्यमा पुनर्विचार गर्न आग्रह गरेका हुन् । यस्तो खालको प्रतिबन्ध विश्व कै लागि हानिकारक हुने उनको भनाई थियो । भारत विश्व कै ठुलो चामल निर्यातकर्ता हो ।
भारत सरकारले साउन ४ देखि लागु हुने गरि चामलको निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतले बासमती बाहेकका सबै प्रकारका चामल निर्यात गर्न प्रतिबन्ध लगाएको हो । भारतले हार्मोनिक कोड 10063090 अन्तर्गत पर्ने चामल निर्यातमा प्रतिबन्ध लगाएको हो ।
मनसुन कमजोर हुंदा भारतमा धानको उत्पादनमा कमी आएको छ । यसले गर्दा भारतमा चामलको मूल्य बढ्न थालेको छ । उच्च मूल्य वृद्धि रोक्नको लागि भारतले चामल निर्यातमा रोक लगाएको हो । भारतमा सन् २०२४ मा संसदीय निर्वाचन हुँदैछ । संसदीय निर्वाचनको ठिक अगाडी चामलको मूल्य वृद्धि उच्च हुने देखिएपछि भारत सरकारले रणनीतिक रुपमा चामलको निर्यातमा प्रतिबन्ध लगाएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
नेपालमा पनि चिन्ता
भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा चामलको मूल्यवृद्धि हुने देखिएको छ । भारतले जुन चामल निर्यातमा प्रतिबन्ध लागाएको त्यो चामल नेपालमा भारतबाट नै ठुलो मात्रामा भित्रिने गरेको थियो । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० को ११ महिनामा नेपालले १६ करोड किलो चामल आयात गरेको थियो । जुन औसतमा मासिक १ करोड ४५ लाख किलो हो । त्यस्तो खालको चामलले नेपालले ९ अर्ब ८५ करोड बराबरको आयात गरेको थियो । मासिक १ करोड ४५ लाख किलो चामल खपत हुँदै आएकोमा सो को आयात नै गर्न नपाउने भएपछि चामलको माग बढ्न गई मूल्य वृद्धि हुने देखिन्छ ।
यस अघि भारतले गहुँ निर्यातमा पनि प्रतिबन्ध लगाएको थियो । जसका कारण नेपालमा गहुँ र गहुँको पिठोको हाहाकार भएको थियो । त्यस बेला सरकारले नेपालकै लागि मात्र भनेर गहुँ ल्याउन पहल गरेको थियो । अहिले पनि नेपालले चामल आयातको लागि पहल नगरे नेपालमा चामल कै हाहाकार हुने देखिन्छ।
बिजपाटी डटकमले गत चैत्र मै ‘एल निनो’ का कारण मनसुन कमजोर हुने र त्यसको कारण उत्पादन घटेर खाद्यान्नको मूल्य बढ्ने जोखिम रहेको समाचार प्रकाशन गरेको थियो।
यस अघि : वर्षमा १३८ किलो चामलको भात खान्छन् नेपाली, भारतले चामल रोकेपछि भोकमरी लाग्ला ?