बिजपाटी सम्बाददाता     Aug 01, 2020 | 10:08:39 AM


tansen

मुक्ति अर्याल 

सुन बहुमूल्य धातु हो । यो लगानीको एक प्रमुख साधन पनि हो । यस अर्थमा यो एक वस्तु हो । दुनियाभर यसको व्यापक माग र ठूलो कारोबार छ । क्षय नहुने, ननासिने, खिया नलाग्ने भएकाले अन्य धातुभन्दा सुनको महत्व  बढी छ । सुनको प्रमुख उपयोग गरगहनामा नै हुन्छ । केन्द्रिय बैंकहरु र निजी क्षेत्रले लगानीको उद्देश्यले सुनको ब्यापक खरिद गर्ने गर्छन् । टेक्नोलोजी, इलेक्ट्रोनिक्स, बायुयान, औषधि, दन्त चिकित्सा आदिमा पनि यसको प्रयोग हुन्छ ।

सुनको उत्पादन, माग र आपूर्तिः सुनको प्रमुख उत्पादक देशहरुमा अस्ट्रेलिया, चाईना, रसिया छन् भने खरिदकर्ताहरुमा अमेरिका र युरोप, आईएमएफ, चीन, भारत लगायतका छन् । अमेरिकासंग सबैभन्दा धेरै ८१०० टनभन्दा ज्यादा सुन संचित छ । चीन र भारतसंग क्रमसः १९३६ टन र ६१८ टन सुन संचित छ । नेपालमा पनि हरेक वर्ष सुनको माग र कारोबार बढ्दै गएको छ । हाल नेपालसंग ६ टन भन्दा ज्यादा सुन भएको अनुमानित तथ्याङ्क छ ।

आपूर्तिः वर्ष २०१९ सम्ममा दुनियाभरमा करिब १ लाख ९२ हजार टन सुन उत्पादन भएको तथ्याङ्क छ । वर्ष २०१९ मा मात्र ४८१२ टन सुनको आपूर्ति भएको थियो, जसमध्ये ३४८० टन (७२५) सुन खानीबाट उत्पादन भएको थियो भने १३१२ टन (२७५) पुन प्रशोधित (रिसाईकल्ड) भएर आएको थियो । बाँकी २१ टन (१ ५) बिगतका फ्युचर्स कन्ट्रयाक्टको डेलिभरीका लागि उत्पादन भएको थियो । मागः वर्ष २०१९ मा सुनको कुल माग करिब ४३६८ टन जति थियो । जसमध्ये गहनामा करिब २११९ टन (४९५), लगानीमा १२७५ टन (२९५), केन्द्रिय बैंकहरुको खरिदमा ६४८ टन (१५५) र टेक्नोलोजीमा ३२७ टन (७५) सुन प्रयोग भएको थियो ।

सुनको मूल्य यसको माग र अपूर्तिले निर्धारण गर्दछ । माग र अपूर्तिलाइ अरु धेरै कारक तत्वहरुले निर्धारण गर्छन् । गर–गहना र सामाजिक प्रतिष्ठाको लागि सुन खरिद गर्ने व्यक्तिहरुलाई यसको मूल्य घटबढसंग त्यति सम्बन्ध हुँदैन जति लगानीकर्तालाई हुन्छ । सुनको मूल्यमा आउने उतार चढाब लगानीकर्ताको लागि मुनाफा गर्ने महत्वपूर्ण अवसर हुन्छ । वित्तीय संकटको बेला सुन लगानीको आकर्षक माध्यम हुन्छ । यो बेला माग बढेर जाने र मूल्य पनि बढ्ने गर्दछ । स्टक मार्केट बढेको बेला भने सुन कम आकर्षक हुन्छ, जसको कारण सुनको माग घट्ने र मूल्य पनि घट्ने (वा नबढ्ने) गर्दछ । 

बिकसित देशहरुमा सुनलाई लगानीको साधनको रूपमा बिकसित गरेर बहु–उपयोगी बनाइएको छ । तर नेपालमा भने अझैपनि यसलाई गर–गहना र इज्जतरप्रतिष्ठाको विषयमा सिमित राखिएको छ । ति देशमा झैँ नेपालमा पनि सुनलाई बहुउपयोगी वित्तीय साधनको रूपमा बिकसित गरेर लगानीयोग्य बनाउन जरुरी छ । 

बजेट र मौद्रिक नीतिमा सुन

आब २०७७ ।७८ को लागि हालैको बजेटले सुनमा आयात कर बढाउने बाहेक अरु उल्लेख्य व्यवस्था केहि गरेको छैन । राष्ट्रबैंकको मौद्रिक नीति भने आउनै बाँकी छ ।तर आब २०७६ ।७७ को बजेट र त्यस  लगत्तै राष्ट्रबैंकले ल्याएको मौद्रिक नीतिमा भने सुन व्यवस्थापनबारे केहि नीतिगत व्यवस्था उल्लेख थियो । ति नीतिगत व्यवस्थामा सुनलाइ बाणिज्य बैंकहरुले निक्षेपको रूपमा स्वीकार गर्ने र सो मा केहि प्रतिशत ब्याज दिने व्यवस्था थियो । यि व्यवस्थाको उद्देश्य स–साना साईजमा छरिएर रहेको सुनलाई एकमुष्ट रूपमा अर्थतन्त्रको मुलधारमा ल्याएर यसको उपयोगिता बढाउनु हो । यस सम्बन्धी बिस्तृत कार्यविधि नियमावली राष्ट्रबैंकबाट हालसम्म पनि नआएकाले यसमा कुनै प्रगति भएको छैन ।

 कार्यविधि नियमावली आएकै अवस्थामा पनि यो कार्यक्रम लागु हुनसक्ने सम्भाबना देखिदैन । यस्तो कार्यक्रम भारतमा र त्यो पनि सिमित रूपमा मात्र प्रचलनमा रहेको र त्यहाँ पनि यसले कुनै उल्लेखनीय सफलता हाँसिल गर्न सकेको छैन । उस्तै प्रकारको कार्यक्रम नेपालमा सफल हुने ठूलो आधार देखिदैन । सुनको यस्तो निक्षेपमा बैंकहरुले ब्याज आम्दानी हुने गरि कतै लागनी गर्नसक्ने अवस्था छैन । मूल्य घट्ने वा बढ्ने बाहेक सुनले कुनै नियमित आम्दानी पैदा नगर्ने हुँदा यस्तो निक्षेपमा बैंकहरुले ब्याज दिनसक्ने अवस्था रहँदैन । सो नहुँदा सुनलाई निक्षेपको रूपमा स्वीकार गर्न र सो मा ब्याज प्रदान गर्न बैंकहरुलाई कुनै प्रोत्साहन नहुने हुँदा यो कार्यक्रम आर्थिक कारणले सफल हुने देखिदैन ।

तरलताको अभाव, कर्जा लिन समय लाग्ने, व्यवस्थापकिय झन्झट र अन्य अव्यवहारिकता कारण पनि यो कार्यक्रम सफल हुन सजिलो छैन । सफल रूपमा सुनको यस्तो व्यवस्थापन दुनियामा खासै कतै देखिएको छैन । सुनको सहि र चुस्त व्यवस्थापनको लागि आधुनिक तरिका अपनाउनु आबश्यक देखिन्छ । त्यो भनेको सुनमा आधारित लगानीका विभिन्न वित्तीय साधनहरु बनाउनु हो ।

सुनमा लगानी किन ?

सुनमा लगानी गर्ने धेरै कारण हुनसक्छन् । ति मध्ये यी तीन प्रमुख छन्ः पहिलो हो सुनको मूल्यको स्टक मार्केटसंग ऋणात्मक  सहसम्बन्ध । अर्थात स्टक मार्केट बढेको बेला सुनको मूल्य घट्ने र स्टक मार्केट घटेको बेला सुनको मूल्य बढ्ने गर्छ । अहिले पनि करोना भाइरसको कारण दुनियाभरका स्टक मार्केट घट्दा सुनको मूल्य बढेर उच्च भएको छ । २००७।०८ को वित्तीय संकटले ल्याएको मन्दीको समयमा पनि सुनको मूल्य एकाएक बढेर गएको थियो । त्यसपश्चात पनि स्टक मार्केटमा वित्तीय अनिश्चितता लम्बिएर २०११ ।१२ सम्म रहंदा सुनको मूल्य सबैभन्दा उच्च–तहमा पुगेको थियो । त्यसैले स्टक मार्केट घटेको बखतमा सुनले इक्विटी इन्भेस्टमेन्टको जोखिमलाई हेज गरेर नोक्सानी कम गराउँछ । तसर्थ स्टक मार्केट घटेको बखत सुनमा लगानी गर्नु ज्यादा प्रभावकारी हुन्छ । 

दोश्रो हो मुद्रास्फृतिले पैदा गर्ने जोखिम न्यून गर्न । मुद्रास्फृति बढेर जाँदा सुनको पनि मूल्य बढ्ने हुँदा सुनले मुद्रास्फृतिको नकारात्मक असरलाई त्यहि अनुरूप प्रतिस्थापन गर्न सक्दछ । सुनले दिएको ऐतिहसिक प्रतिफललाई हेर्दा यो मुद्रास्फृतिको दरसंग लगभग बराबर जस्तै छ । त्यसैले मुद्रास्फृतिलाइ हेज गर्न सुनमा लगानी गर्नु उपयुक्त हुन्छ । 

तेश्रो हो विदेशी मुद्राको विनिमय दरको जोखिमलाई न्यून गर्न । विदेशी मुद्राको विनिमय दरमा आउने उतार चढाबबाट हुने जोखिमलाई न्यून गर्न पनि सुन सबैभन्दा उपयुक्त साधन हा े । वैदेशिक मुद्राको विनिमय दर बढ्दा सुनको मूल्य (नेपाली मुद्रामा) पनि बढ्छ । सुनमा लगानी गरेको अवस्थामा यस्तो जोखिम न्यून (हेज) हुन जान्छ ।

सुनको मूल्य अमेरिकी डलरमा निर्धारण हुने हुँदा सुन र अमेरिकी डलरको सम्बन्ध बुझ्नुपर्ने हुन्छ । सुन र अमेरिकी डलरको सहसम्बन्ध ऋणात्मक रहँदै आएको छ । अमेरिकी डलर कमजोर हुँदा सुनको मूल्य बढ्ने र अमेरिकी डलर बलियो हुँदा सुनको मूल्य घट्ने गर्छ । यी दुवै अवस्थामा नेपालमा सुनको मूल्य बढ्ने गर्छ । अमेरिकी डलर र सुनको मूल्य दुवै घट्दा मात्र नेपालमा सुनको मूल्य घट्दछ, जुन अत्यन्तै कम हुने गर्छ । यसको कारण अमेरिकी डलरको तुलनामा कमजोर नेपाली रूपया हो । नेपाली मुद्रामा सुनको यहि मूल्यवृद्धिले अमेरिकी डलर लगायतका विदेशी मुद्राको विनिमय दरमा आउने उतार चढाबलाई हेज गर्दछ ।

यी तिन अवस्थाले पैदा गर्ने जोखिमलाई व्यवस्थापन गर्न सुन सबैभन्दा उपयुक्त साधन हो । यस अलावा बहुमूल्य धातु भएकाले सुनलाई तुलनात्मक रूपमा लगानीको सुरक्षित साधन पनि मानिन्छ । तर यसको अर्थ सुनमा गरिने लगानी जोखिम रहित हुन्छ भन्ने होइन । सुनमा लगा नी गर्नु पुर्ब यो के हो, के होइन, यसले के गर्छ, के गर्दैन, के दिन्छ, के दिंदैन, कस्तो प्रकारको सम्पत्ति हो भन्ने बारे प्रस्ट हुन् जरुरी छ । किनभने सुनको आफ्नै कुनै आम्दानी हुँदैन, यसले कुनै लाभांस दिंदैन र यसले केहि वितरण गर्दैन । मूल्यमा आउने उतार चढाब नै यसको प्रतिफल हो । यस अर्थमा सुन सट्टेबाजीको साधन हो । यसको बाबजुद यो विविधिकरणको एक महŒवपूर्ण साधन हो । वित्तीय संकटको बेला धेरैले सुनलाई नै सुरक्षित लगानीको रूपमा खोज्ने गर्छन् । यसले गर्दा सुनको महत्व झनै बढेर गएको छ ।

कसरी गर्ने सुनमा लगानी ?

बिकसित मार्केटमा सुनमा लगानी गर्ने धेरै तरिका छन् । गर–गहना, सिक्का वा गोल्डबारको खरिद गरेर भौतिक रूपमा सुनमा लगानी गर्ने तरिका विश्वब्यापी नै हो, जुन नेपालमा पनि हुँदै आएको छ । तर यो लगानीको उत्कृष्ट तरिका भने होइन । बिकसित मार्केटमा सुनमा आधारित विभिन्न वित्तीय साधनहरु बनाएर सुनको लगानी र व्यवस्थापन गर्ने गरिन्छ । जस्तैः सुन उत्पादन गर्ने कम्पनिको स्टक, गोल्ड अप्सनस्, गोल्ड फ्युचर्स, गोल्ड म्युचुयल फन्ड, गोल्ड ईटिएफ आदि ।

सुन उत्पादन गर्ने कम्पनिहरुको स्टकमा लगानी भने नेपालमा सम्भब छैन । नेपालमा त्यस्ता कम्पनिहरु नभएको, त्यस्ता विदेशी कम्पनिहरु नेपालमा लिस्टिंग हुन् नसक्ने र विदेशमा कारोबार हुने त्यस्ता कम्पनिमा नेपाली लगानीकर्ताले लगानी गर्न नसक्ने हुँदा सुन उत्पादन गर्ने कम्पनिहरुमा लगानी हुनसक्ने अवस्था छैन । नेपालमा डेरीभेटिभ मार्केट नभएकाले गोल्ड अप्सनस् र फ्युचर्समा पनि लगानी हुनसक्ने अवस्था छैन । गोल्ड म्युचुयल फन्ड र गोल्ड ईटिएफ जस्ता वित्तीय साधन (फन्ड) हरु पनि नेपालमा उपलब्ध छैनन् । तर यी वित्तीय साधन सजिलै सुरु गर्न सकिन्छ । सामान्य रूपमा हेर्दा उस्तै लागेपनि लागत, व्यवस्थापन, लिस्टिंग, कारोबार, तरलता, प्रभावकरिताका हिसाबले यी दुई साधनहरु बीच आधारभूत भिन्नता छ । यी विविध पक्षहरुको समग्र प्रभाव सुनमा हुने लगानीको प्रतिफलमा प्रतिबिम्बित हुने हुँदा लगानीकर्ताको लागि गोल्ड म्युचुयल फन्ड भन्दा गोल्ड ईटिएफ बढी उपयुक्त र फाइदाजनक हुन्छ ।

सुनमा आधारित म्युचुयल फन्ड पनि अभ्यासमा छ तर त्यति लोकप्रिय हुन् सकेको छैन । लोकप्रियताका हिसाबले सुनमा लगानी गर्ने माध्यमको रूपमा गोल्ड ईटिएफ नै बढी प्रचलित छ । पहिलो गोल्ड ईटिएफ “स्पाईडर गोल्ड ट्रस्ट” २००४ मा सुरु भएको थियो । यो नै दुनियाँको सबैभन्दा ठूलो गोल्ड फन्ड हो, जसको बजार पुँजीकारण ६२ बिलियन अमेरिकी डलर छ । अमेरिकामा मात्रै ३ दर्जन बढी गोल्ड ईटिएफ सञ्चालनमा छन् ।

यस आलेखमा ईटिएफ र अझ खासगरि गोल्ड ईटिएफ के हो, सुनलाई कसरी बहु–उपयोगि वित्तीय साधनको रूपमा विकास गर्ने र यसबाट नेपाली पुँजी बजार र लगानीकर्तालाई कसरी बढी लाभ पु¥याउनुे भन्ने बारे व्याख्या र विश्लेषण हुनेछ ।

के हो ईटिएफ ?

ईटिएफको पुरा अर्थ एक्सचेन्ज ट्रेडेड फन्ड (Exchange Traded Fund) हो । ईटिएफ फन्ड व्यवस्थापनका धेरै तरिका मध्येको एक लोकप्रिय तरिका हो । म्युचुअल फन्ड, एक्सचेन्ज ट्रेडेड फन्ड (ईटिएफ), इन्डेक्स  फन्ड, हेज फन्ड, फन्डस् अफ फन्डस्, भेन्चर क्यापिटल, प्राइभेट इक्विटी आदि फन्ड व्यवस्थापनका विविध तरिका हुन् । यीमध्ये म्युचुअल फन्ड सबैभन्दा पुरानो र धेरै प्रचलित तरिका हो । इटिएफ तुलानात्मक रूपमा नयाँ वित्तीय अवधारणा हो ।

इटिफको अवधारणा म्युचुयल फन्डको विकल्पको रूपमा आएको हो । त्यसकारण यसलाई म्युचुयल फन्डसंग दाँजेर हेर्दा यो के हो भन्ने बढी प्रस्ट हुन्छ । आधारभुत रूपमा यी दुई बीच धेरै समानता र केहि तात्विक भिन्नता छ । तिनै भिन्नताले इटिफलाई म्युचुयल फन्डसंग फरक देखाउछ । इटिफ र म्युचुअल फन्डको प्रमुख भिन्नता फन्ड व्यवस्थापनको विधि हो ।

सामान्यता म्युचुअल फण्डले लगानीको सक्रिय व्यवस्थापन विधि अंगालेको हुन्छ भने इटिएफले निस्क्रिय व्यवस्थापन विधिलाइ । सक्रिय लगानीमा मूल्य कम भएका र भोलि मूल्य बढ्न सक्ने कम्पनिहरुको गहिरो अध्ययन, अनुसन्धान र खोज गरेर लगानी गरिन्छ । यसमा खोज्ने, किन्ने, बेच्ने प्रक्रिया निरन्तर चलिरहन्छ । त्यसो गर्दा अनुसन्धान खर्च, ब्रोकर शुल्क, व्यवस्थापन खर्च र अन्य खर्चहरुको लागत धेरै हुन्छ । निस्क्रिय लगानी विधिमा बजारमा रहेका राम्रा र स्थापित कम्पनिहरुमा लगानी गरिन्छ र तिनलाई लामो समयसम्म राखिन्छ । तुलनात्मक रूपमा यसमा माथिका धेरै शुल्कहरु आकर्षित हुँदैनन् र धेरै कम व्यवस्थापन खर्च लाग्छ । प्रक्रिया फरक भएपनि दुवैको उद्देश्य एकै हो लगानीकर्तालाई अधिकतम प्रतिफल दिनु । स्टक र म्युचुयल फन्डका राम्रा पक्षलाई समेटेर इटिफ बनाईन्छ । त्यसैले इटिफलाइ स्टक एक्सचेन्जमा लिस्टिंग गरेर सेयर झैँ कारोबार योग्य गराईन्छ भने म्युचुअल फन्डको कारोबार सो फन्डको व्यवस्थापन कम्पनिमा मात्र हुन्छ ।

इटिफ बन्द प्रकृतिको हुन्छ भने म्युचुअल फन्ड बन्द र खुला दुवै प्रकृतिको हुनसक्छ । इटिफ तुलनात्मक रूपमा व्यवस्थापन गर्न सरल र सजिलो हुन्छ । यिनै कारण ईटिएफले तुलनात्मक रूपमा धेरै प्रतिफल दिन सक्दछ । यसको लोकप्रियता बढ्दै जानुको कारण पनि यहि हा े । अमेरिका युरोपमा हरेक स्टक मार्केट इन्डेक्स, स्टक सेक्टर, बन्ड, कमोडिटी (वस्तु) मा इटिएफ बनेका छन् । दुनियाभरमा लगभग ७ हजार इटिएफ उपलब्ध छन् । स्ट्यान्डर्ड एण्ड पुअर्स ५०० मार्केट इन्डेक्समा आधारित स्पाइडर (वास्तविक नाम एसपिडिआर भएपनि उच्चारण स्पाइडर भनेर गरिन्छ) नामको इटिएफ विश्वमै सबैभन्दा धेरै पुँजीकरण भएको इटिएफ हो, जसको पुँजीकरण रकम करिब २५४ बिलियन अमेरिकी डलर छ ।

इटिएफ खासगरी कुनै वस्तु वा मार्केट वा इन्डस्ट्रीलाई मापन गर्न बनाउने गरिन्छ । नेपालमा पनि सुन, चाँदी, नेप्से इन्डेक्स, बैङ्किङ्ग सेक्टर, फाइनान्सिएल सेक्टर, इन्सुरेन्स सेक्टर, कर्पोरेट बन्ड, सरकारी बन्ड जस्ता सेक्टरको मूल्य घटबढलाइ मापन गर्ने गरि इटिएफ बनाउन सकिन्छ ।  

नेपालमा ईटिएफः के नेपालमा इटिएफ प्रयोगमा छन् ?

धेरैलाई आस्चर्य लाग्नसक्छ कि नेपालमा थुप्रै इटिएफहरु सञ्चालनमा छन । बास्तबमा नेपालको पहिलो म्युचुयल फण्ड नै इटिएफ थियो । सुरुमा खुलामुखी म्युचुयल फण्डको रूपमा आएको “एनआईडिसी फर्स्ट म्युचुयल फण्ड” तरलता अभावको कारणले सञ्चालन हुन् नसक्दा नेपाल स्टक एक्सचेन्जमा लिस्टिंग गरेर कारोबार हुने बनाईएको थियो ।

जब कुनै फन्डको कारोबार फन्ड व्यवस्थापककोमा नभएर स्टक एक्सचेन्जमा हुन्छ तब त्यो इटिएफ (एक्सचेन्ज ट्रेडेड फन्ड) हुनजान्छ । अर्थात कुनै म्युचुयल फण्डलाइ स्टक एक्सचेन्जमा लिस्टिंग गरेर कारोबार योग्य गराइन्छ भने त्यो फन्ड इटिएफ हुन्छ । नेपालमा हाल सञ्चालनमा रहेका बन्दमुखी प्रकृतिका म्युचुयल फण्डहरु मात्र स्टक एक्सचेन्जमा लिस्टिंग भै इटिएफ हुन् सक्छन् । खुलामुखी प्रकृतिका म्युचुयल फण्डहरु स्टक एक्सचेन्जमा लिस्टिंग हुन सक्दैनन र म्युचुयल फण्ड नै रहिरहन्छन । तर हाम्रो कानुनी (र व्यवहारिक) परिभाषा म्युचुयल फण्ड बाहिर निस्कन सकेको छैन र यी फरकहरुलाई मिहिन तवरले विश्लेषण नगरी सबै किसिमका फन्डलाइ म्युचुयल फण्ड भन्ने गरिएको छ । त्यसो त बन्दमुखी र खुलामुखी प्रकृतिका म्युचुयल फण्ड कै परिभाषा पनि अन्तर्राराष्ट्रिय अभ्यास र मान्यता भन्दा फरक छ ।

नेपालका इटिएफले म्युचुयल फन्डका नराम्रा पक्षहरुलाई छाड्न सकेका छैनन् । यिनको व्यवस्थापन खर्च म्युचुयल फन्डको जस्तै उच्च छ । जब फन्डलाइ स्टक एक्सचेन्जमा लिस्टिंग गरेर कारोबार योग्य गराईन्छ, तब सो फन्डको व्यवस्थापन खर्च त्यति महँगो हुन् सक्दैन । हाल यी फन्डहरुको व्यवस्थापन लागत २.५५ भन्दा  माथि छ । जबकी अन्तर्राराष्ट्रिय अभ्यासमा यस्ता इटिएफको व्यवस्थापन खर्च ०.५५ को हाराहारीमा हुने गर्छ । नेपालको लागि इटिएफ नौलो विषय होइन । जानेर होस् वा नजानेर बिगत २५ वर्षदेखि नेपालमा यसको प्रयोग हुँदै आएको छ । तर इटिएफलाई सहि अर्थमा परिभाषित गर्ने काम भएको छैन । हालसम्म इटिएफलाई म्युचुयल फन्ड नै भनेर परिभाषित गरिंदै आएको छ ।

कसरी बनाउने गोल्ड ईटिएफ ?

गोल्ड इटिएफ बनाउदाको धेरै प्रक्रिया म्युचुअल फन्ड बनाउदा जस्तै नै हो । तर यसमा केहि थप प्रक्रिया वा बिधी अपनाउन जरुरी हुन्छ । यसमा खासगरी दुई कार्यलाई ख्याल गर्नुपर्छस् पहिलो सुनमा कति पुँजी लगानी गर्ने र अर्को गोल्ड इटिएफको कुल पुँजीलाई कसरी स–साना इकाई (सेयर÷स्टक) मा विभाजन गर्ने । यस अलावा अलावा ट्रस्टी र कस्टोडियनको व्यवस्था पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

लगानी नीतिः सुनमा आधारित फन्ड भएकाले यसको लगानी नीति सजिलो हुन्छ । म्युचुअल फण्डको जस्तो बारम्बार किनबेच नहुने हुँदा यसमा कुनै जटिल लगानी नीतिको आबश्यकता पर्दैन तर केहि बिचार भने पक्कै पु¥याउनु पर्दछ । त्यो भनेको यसको सम्पूर्ण पुँजी सुन खरिदमा लगाउने कि केहि भाग रकम निक्षेप वा अल्पकालीन बिक्रीयोग्य धितोपत्रमा पनि राख्ने भन्ने हो । यसो गर्नुको कारण यो इटिएफको वार्षिक व्यवस्थापन खर्चको लागि रकमको व्यवस्था कसरी गर्ने भन्ने हो । दुवै तरिका अपनाउन सकिन्छ । सबै पुँजी सुनमा लगानी गर्दा वार्षिक व्यवस्थापन खर्चको लागि हरेक वर्ष लगानी गरिएको सुनको केहि भाग बिक्री गर्नुपर्ने हुन्छ । केहि प्रतिशत रकम छुट्टयाएर निक्षेप वा अल्पकालीन बिक्रीयोग्य धितोपत्रमा लगानी गर्दा सो को आम्दानीले व्यवस्थापन खर्च थेग्ने हुन्छ ।

इकाई विभाजनः गोल्ड इटिएफको प्रमुख उद्देश्य नेपालमा सुनको मूल्यलाई मापन (ट्रयाक) गर्नु भएकोले जुन हिसाब (वा मात्रा)मा नेपालमा सुनको कारोबार हुन्छ त्यसै अनुसार इकाइहरु बनाउनु प्रभावकारी हुन्छ ।नेपालमा सुन प्रति तोलाको मूल्यमा कारोबार हुने हुँदा सोहि अनुसार नै यो गोल्ड इटिएफको इकाईहरुको निर्माणरविभाजन गर्नुपर्छ ताकि यसको प्रत्येक इकाइले १ तोला सुनको मूल्य मापन गर्न मद्दत गरोस । जस्तै मानौं यो गोल्ड इटिएफको कुल पुँजी रु. १ अर्ब ६० करोड छ । आज सुनको मूल्य रु. ८० हजार प्रति तोला छ भने यसका प्रत्येक इकाइलाइ रु. ८० हजार वा रु. ८ हजार वा रु. ८ सय वा रु. ८० हुने गरेर विभाजन गर्न सकिन्छ । यदि प्रति इकाइ चुक्ता मूल्य रु. ८ सय हुने गरेर इकाई विभाजन गर्ने हो भने २० लाख इकाई सेयर÷स्टक जारी गर्नुपर्ने हुन्छ । बजारको आबश्यकता अनुसार इकाईको मूल्य धेरै वा थोरै गर्न सकिन्छ तर त्यसले बजारमा कायम सुनको मूल्यलाई प्रतिबिम्बित भने गरेकै हुनुपर्दछ ।

त्यस बाहेक अर्को महŒवपूर्ण कार्य भनेको ट्रस्टी र कस्टोडियनको व्यवस्था हो । गोल्ड इटिएफको लागि हाल ट्रस्टी र कस्टोडियनको व्यवस्था नपुग हुन्छ । यसको लागि ट्रस्टी र कस्टोडियनको कार्य र जिम्मेवारीलाई बिस्तृत रूपमा थप व्याख्या र विश्लेषण गर्न जरुरी छ ।

गोल्ड इटिएफको उपयोगितास् गोल्ड इटिएफको सबैभन्दा महत्वपूर्ण उपयोगिता भनेको लगानीमा  विविधिकरण हो । सुनको इक्विटी मार्केटसंगको सहसम्बन्ध नकारात्मक हुने हुँदा यसले इक्विटी लगानी (इन्भेस्टमेन्ट) लाइ हेज गर्छ । अझ स्टक मार्केटमा ठूलो गिरावट आएको बेलामा त सुनलाई सुरक्षित लगानी  (सेफ हेभेन) नै मानिन्छ । वैदेशिक मुद्रा र मूल्यस्फृतिसंग सकारात्मक सहसम्बन्ध हुने हुँदा यसले वैदेशिक मुद्राको जोखिम र मूल्यस्फृतिलाइ पनि हेज गर्दछ ।यसले होल्डरहरुलाई निरन्तर र तुरुन्त तरलता दिन्छ, जुन सुनको भौतिक खरिदमा हुँदैन । भौतिक रूपमा भन्दा गोल्ड इटिएफ खरिद गर्दा सुनको बढी सुरक्षा हुन्छ । यसमा सुन हराउने, नासिने, चोरिने, तस्करी हुने डर हुँदैन । यस्तो लगानीमा भण्डारणको जरुरत पर्दैन र स्टोरेज लागतको बचत हुन्छ ।ससानो मात्रामा छरिएर रहंदा भन्दा एकमुष्ट रूपमा रहँदा सुनको महŒव र उपयोगिता बढेर जान्छ । इटिएफको माध्यमबाट स–सानो रकममा पनि सुनमा लगानी सम्भब हुन्छ । इटिएफमा मार्जिन लोन पनि लिन सकिन्छ । इटिएफले सुनको गैरकानुनी कारोबार नियन्त्रण गर्न र अनाबश्यक आयातमा अंकुश लगाउन पनि मद्दत गर्दछ ।

गोल्ड इटिएफको कारोबारमा सरकारलाई लाभकार प्राप्त हुन्छ । ब्रोकर र स्टक एक्सचेन्जलाई आम्दानीको अवसर उपलब्ध हुन्छ । केहि रोजगारीको अवसर पनि पैदा हुन्छ । गोल्ड इटिएफको प्रयोगले पुँजीको परिचालनमा वृद्धि ल्याएर पुँजी बजारको विकास र विस्तारलाई सहयोग पु¥याएछ । यसले पु“जी बजारमा अरु नयाँ वित्तीय साधनको प्रवेशलाई प्रेरित गर्छ,जसले अरु वित्तीय साधनको प्रवेशलाई मार्ग प्रदान गर्छ । यसले थप इटिएफ, इन्डेक्स फन्ड, डेरीभेटिभस्, स्ट्रक्चर्ड प्रडक्टस् जस्ता वित्तीय साधनको बजार प्रवेशलाइ अरु सजिलो र सरल गराऊछ ।

सुन लगानीमा जोखिम

गोल्ड इटिफ वा भौतिक रूपमा जसरी लगानी गरेपनि सुन फाइदामुलक मात्र होइन, जोखिमयुक्त पनि हुन्छ । सुनको मूल्यमा आउने उतार–चढाब प्रत्यक्ष रूपमा प्रतिबिम्बित हुने गरेर इटिएफ बनाइन्छ । त्यसैले इटिएफको मूल्य प्रत्यक्ष रूपमा सुनको मूल्यसंग सम्बन्धित हुन्छ । बिगतमा सुनको मूल्य धेरै तलमाथि भएको छ । विभिन्न कारक तत्वहरुले सुनको मूल्यलाई प्रभाव पार्ने र जोखिम पैदा गर्ने गर्छन् । यी केहि त्यस्ता कारक तत्व हुन्ः (१) सुनको अन्तर्राष्ट्रिय माग र आपूर्ति, (२) अस्वाभाविक रूपमा घट्ने अन्तर्राष्ट्रिय वा क्षेत्रिय राजनैतिक, आर्थिक र वित्तीय घटना, गतिविधि र परिस्थितिहरु, (३) मुद्रास्फृतिको दरबारे लगानीकर्ताको अपेक्षा, (४) विदेशी मुद्राको विनिमय दरमा हुने परिबर्तनहरु, (५) ब्याजदरमा आउने परिबर्तन, (६) हेजफन्ड र कमोडिटी फन्डको लगानी र कारोबार गतिविधि, (७) सर्वसाधारणको आयवृद्धि, देशको आर्थिक उत्पादन, केन्द्रिय बैंकको मौद्रिक नीति जस्ता अन्य आर्थिक गतिविधिहरु ।

यी कारक तत्वहरुले सुनको मूल्यमा नकारात्मक प्रभाव पार्दा सुनको लगानीमा जोखिम पैदा हुन्छ । त्यस्तो जोखिमको सफल व्यवस्थापन गर्न यी अवस्थालाइ नजिकबाट नियालीरहनु बान्छनिय हुन्छ ।

निष्कर्ष

हालसम्म नेपालमा सुनमा आधारित कुनै वित्तीय साधन उपलब्ध छैन । यसो हुनुमा एक कारण सुनको बहुउपयोगिता बारेको जानकारीमा कमि हो भने अर्को कारण सुनमा आधारित वित्तीय साधन बनाएर समस्या समाधान गर्ने रचनात्मक शैलीको कमि हो । सुनलाई विभिन्न लगानीयोग्य वित्तीय उपकरण बनाई बहु–उपयोगी बनाउन सकिन्छ । तिमध्ये सबैभन्दा लोकप्रिय वित्तीय साधन गोल्ड ईटिएफ हो । सुन व्यवस्थापनको सबैभन्दा चुस्त र प्रभावकारी माध्यम पनि गोल्ड ईटिएफ नै हो ।  उपयोगिताको हिसाबले गोल्ड ईटिएफ पुँजी बजारको विकासको लागि धेरै प्रभावकारी हुनसक्छ । गोल्ड इटिएफले पुँजीको परिचालनमा वृद्धि ल्याउछ । यसले पुंजिबजारमा अरु नयाँ वित्तीय साधनको प्रवेशलाई प्रेरित गर्छ । गोल्ड इटिएफको बजार प्रवेशले चाँदी, तामा जस्ता अन्य धातु र विभिन्न सेक्टरमा पनि यस्ता ईटिएफ ल्याउन बाटो खोल्नसक्छ । यो त पुँजी बजारको लागि गेमचेन्जर नै हुनसक्छ ।

२०७६।७७ को बजेट र राष्ट्रबैंकको मौद्रिक नीतिमा उल्लेख गरिएको सुन व्यवस्थापनका उद्देश्य पुरा गर्नका लागि पनि गोल्ड ईटिएफ अत्यन्तै उपयोगी हुने देखिन्छ । नेपालमा सुनमा आधारित गोल्ड इटिएफ बनाउन कुनै समस्या छैन । यसकै लागि भनेर नयाँ कानुन वा व्यवस्थाको जरुरत पर्दैन । जसरी म्युचुयल फण्डको व्यवस्थापन भैरहेको छ, त्यसरी नै गोल्ड इटिएफलाइ व्यवस्थापन र सञ्चालन गर्न सकिन्छ । कमि छ भने रचनात्मक बिचार र समस्या समाधानमा सकारात्मक सोंचको कमि छ ।

पुँजी बजारको द्रुत विकास र विस्तार गर्ने हो भने कुनैपनि वस्तु वा सेवालाई कसरी वित्तीय साधन बनाउने र लगानीको अवसर पैदा गर्ने भन्ने सोंचको विकास गर्न जरुरी छ । कोही रचनात्मक सोंचका साथ नयाँ वित्तीय समाधान लिएर आउंछ भने त्यसलाई प्रोत्साहन र प्रबर्धन गर्न जरुरी हुन्छ । नयाँ वित्तीय साधनहरु बनाउने र बजारमा ल्याउने काम निजीक्षेत्रले गर्छ भने त्यस्ता साधन आउने बाताबरण नियमन निकायले बनाईदिनु पर्छ । त्यसो गर्नसके गोल्ड इटिएफ मात्र होइन, अरु सयौं नयाँ वित्तीय साधन बजारमा प्रवेश गर्न सक्छन् । तब मात्र वास्तविक अर्थमा पुँजी बजारको द्रुत विकास र विस्तार हुनेछ । 

लेखक धितोपत्र बजार विश्लेषक हुन् र प्रस्तुत लेख नेपाल धितोपत्र बोर्डको २८ औं वार्षिकोत्सव लेख विशेषाड्ढबाट साभार गरिएको हो । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7