गत चैतमा नेपाल राष्ट्र बैंकबाट अनिवार्य अवकाशपछि बाहिरिएका रमण नेपालले नागरिक लगानी कोषको बागडोर सम्हाल्ने जिम्मेवारी पाएका छन। तत्कालिन नेतृत्त्वले लक्ष्य अनुरुप काम गर्न नसकेको भन्दै सरकारले नेपाललाई पाँच बर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।
बिगत लामो समयदेखि 'हिसाब मिलान' गर्न नसकेको, कर्मचारीहरुको उचित व्यवस्थापनमा समस्या देखिएको, शाखा बिस्तार गरि सेवा फैलाउन नसकेको, सेयरबजारमा प्रभाबकारी भूमिका निर्वाह गर्न नसकेको लगायतका दर्जनौं कारण देखाएर तत्कालिन नेतृत्त्व (प्रमुख कार्यकारी र अध्यक्ष) लाई बर्खास्त गरि सरकारले लगानी कोषमा नयाँ नेतृत्त्व ल्याएको हो।
राष्ट्र बैंक जस्तो गरिमा बोकेको संस्थामा निर्देशन दिएर काम गर्ने आदत भएका व्यक्ति लगानी कोष जस्तो संस्थामा काम गर्नु नेपालका लागि चुनौतीपूर्ण छदैछ, त्यसमा पनि हालै मात्र सरकारले ऐन नै संसोधन गरि लगानी कोषलाई थप जिम्मेवारी दिएको छ। त्यसमा पनि बर्षौदेखि लगानी कोषलाई सेयरबजारमा मार्केट मेकरको रुपमा ल्याउनुपर्ने आवाज उठिरहेको छ, जुन अहिलेसम्म सम्भव हुन सकेको छैन। यस्तो अवस्थामा नागरिक लगानी कोष अब कसरि अघि बढ्छ, अहिलेका चुनौती के हुन, सेयरबजारमा मार्केट मेकरको रुपमा काम कसरि गर्छ जस्ता बिषयबारे बिजपाटी डटकमका लागि मोहम्मद अज्मत अलिले नागरिक लगानी कोषका प्रमुख कार्यकारी निर्देशक रमण नेपालसंग कुराकानी गरेका छन। प्रस्तुत छ कुराकानीको सम्पादित अंश:
कोषको नेतृत्त्व सम्हालेको पनि झन्डै दुई महिना पुग्न लाग्यो, यो बीचमा के के काम गर्न भ्याउनु भयो ?
यो दुई महिनाको अवधिमा केहि काम भएका छन। कोषलाई चाहिने सफ्टवेयरको सम्झौता कार्य सम्पन्न भई निर्माणको काम अघि बढेको छ। भर्खरै मात्र साधारणसभा सम्पन्न गरेका छौँ। र अर्को काम भनेको बानेश्वर स्थित जग्गामा सहरी बिकास तथा भवन निर्माण बिभागसंगको सहकार्यमा लगानी कोषको भवन बनाउने कार्यपनि अघि बढेकोछ।
अरु नियमित काम त भईनै रहेका छन। तर भन्न मिल्ने गरि ठुलो काम नभएपनि यहाँको काम र व्यवस्थापनको पाटोलाई बिस्तारै सुधार गर्दै लैजाने क्रममा छु। आन्तरिक लेखा परिक्षणलाई प्राथमिकतामा राखेर काम भईरहेको छ, पुराना अडिट भएका फाइलहरुको पनि व्यवस्थापन कार्य हुँदैछ। त्यस्तै नीतिगत बिषयहरुमा समेत छलफल तिब्र नै छ।
३ अर्ब पुग्नेगरि ऐन संसोधन भएर आयो भने त्यसपछि मात्रै ३ अर्ब कसरि पुर्याउने भन्ने मोडल तयार हुन्छ
तपाई कोषमा आइसकेपछी सरकारले कोषको चुक्तापुंजी बढाएर ३ अर्ब पुर्याउने निर्णय गरेको छ, यो कहिलेसम्म कसरि पुर्याउने हो ?
यो हामीले पनि सुनेका छौँ। म आउनुअघि नै संसोधन भएको ऐन अनुसार अहिले यो निर्णय आएको हो। ३ अर्ब पुग्नेगरि ऐन संसोधन भएर आयो भने त्यसपछि मात्रै ३ अर्ब कसरि पुर्याउने भन्ने मोडल तयार हुन्छ। भर्खरै मात्रै निर्णय आएकाले के कसरि कहिलेसम्म चुक्तापुंजी ३ अर्ब पुर्याउने हो भन्नेबारे अहिले नै भन्न सकिने अवस्था छैन।
सेयरबजारमा मार्केट मेकरको रुपमा काम गर्नेगरि लगानी कोषको स्थापना भएको हो, तर स्थापनाको ३ दशक पुग्दा समेत केहि काम अगाडी बढ्न सकेको छैन, अहिले स्टक डिलरको चर्चा छ, यो बिषय कहाँसम्म पुग्यो ?
स्टक डिलरको रुपमा काम गर्ने त भनियो तर अहिलेसम्म हुन नसकेको सत्य हो। तर काम गर्ने भन्ने बित्तिकै काम गरि हाल्न पनि सजिलो छैन। बिभिन्न ट्रष्टिहरुको लगानी भएको संस्था हो नागरिक लगानी कोष। स्टक डिलरको रुपमा काम गर्ने भन्ने बित्तिकै जोखिम त पक्कै हुन्छ। ठुलो रकम त्यता लगानी हुँदा जोखिम पनि बढेर जान्छ।
त्यसैले नागरिक लगानी कोषको शतप्रतिशत स्वामित्वमा अर्को सहायक कम्पनी खोल्छौं। र त्यहाँ सबै संस्थाहरुको लगानी जोडेर एउटा बास्केट फन्ड खडा गरेर त्यो पैसा सेयरबजारमा लगानी गर्छौं। नागरिक लगानी कोषको व्यवस्थापन र सहायक कम्पनीको व्यवस्थापन अलग अलग हुने गरि काम गर्छौं। यसो गर्दा उताको जोखिम यता आउदैन र काममा पनि राम्रो प्रतिफल आउँछ।
नसमेटिएका क्षेत्रहरुमा हाम्रो लगानी बढी हुन्छ। स्पेकुलेशन गरेर कमाउने र हाम्रो कमाउने तरिकामा फरक हुन्छ।
बजारमा स्टक डिलरले घटेको बेला सेयर किन्दिन्छ अनि बढेको बेला पनि धेरै मुनाफा बुक गर्दैन त्यसले नेप्सेलाई हर्लक्कै बढाउछ भन्ने बुझाई पनि छ, बजारमा संचालनमा रहेका म्युचुअल फण्ड र लगानी कोषले कल्पना गरेको स्टक डिलरको काममा के भिन्नता हुन्छ ?
मर्चेन्ट बैंकहरुले संचालन गरिरहेका म्युचुअल फण्डहरुको उदेश्य नै मुनाफा केन्द्रित छ। बजारको दिशा कता जान्छ भन्ने भन्दा पनि माउ कम्पनी र म्युचुअल फण्डका इकाईधनीलाई कसरि बढी प्रतिफल दिने भन्नेमा म्युचुअल फण्डहरु केन्द्रित भएको देखिन्छ। तर हाम्रो चाहिं मुनाफामा मात्र केन्द्रित हुँदैन, सेयरबजारलाई स्थिर राख्नेगरि काम गर्छ। पुंजीपरिचालन हुन नसकेका अन्य क्षेत्र पहिल्याई त्यता समेत स्टक डिलरले लगानी गर्छ। नसमेटिएका क्षेत्रहरुमा हाम्रो लगानी बढी हुन्छ। स्पेकुलेशन गरेर कमाउने र हाम्रो कमाउने तरिकामा फरक हुन्छ।
फेरी कोषकै कुरा गरौँ, स्थापनाको ३ दशक पुग्दापनि कोषको शाखा पोखरा बिराटनगर भन्दा अन्यत्र फैलिन सकेको छैन, जहाँ छ त्यहाँपनि सेवा सुविधा पूर्ण छैन, तपाईको कार्यकाल पनि यसै बित्छ कि कोषको कार्यक्षेत्र केहि फैलिन्छ ?
मैले आफ्नो कार्य योजनामा कोषलाई प्रत्येक प्रदेशमा पुर्याउने भन्ने उल्लेख गरेको छु। शाखा बिस्तार गर्ने बिषय प्राथमिकता छ। अहिले हामीले कोषमा चाहिने सफ्टवेयरको निर्माण कार्यलाई अघि बढाएका छौँ। सफ्टवेयर त्यस्तै किसिमको भयो भने सेवा सुविधा बढाउन शाखा नै खोल्नुपर्छ भन्ने छैन तथापि अध्ययन अनुसन्धान गरि सफ्टवेयरको क्षमताले भ्याएसम्म शाखा विस्तार गरि सेवा सुविधा बढाउछौँ।
शाखा बिस्तार मात्रै होइन, सेवा सुविधामा पनि प्रतिस्पर्धी भन्दा कम्जोर देखिएको छ नागरिक लगानी कोष, संचयकर्ताले धितो पुगेपनि ४० लाख भन्दा बढी ऋण नपाउने लगायतका बिभिन्न सुविधा नपाउने जस्ता असुविधा यथावत छ, यसलाई कसरि सुधार्नुहुन्छ ?
हामीसंग भएको कोषलाई व्यवसायिक रुपमा लगानी गर्ने र बढी प्रतिफल दिने सोचका साथ योजना बनाइरहेका छौँ। स्थापनाको ३० बर्ष पुग्न लाग्दा पनि आजपनि चल्ने तौर तरिका पुरानै छन, त्यसलाई व्यवस्थापन गर्दै पोर्टफोलियोलाई थप बिस्तार गरि लगानी बढाउने योजनामा छौँ।
अबको योजनामा ४० लाखको धितो बढाउने, थप सुविधा दिने, पोर्टफोलियो बिस्तार कसरि गर्ने भन्ने बिषयमा छलफल बाँकी नै छ। आएको भर्खर २ महिना भएको छ। संस्थाको संरचना बुझ्न पनि केहि समय लाग्छ, यी सबै बिषय कार्ययोजनामा प्रस्तुत गरेको बिषय हुन। विस्तारै सबै बिषयलाई सुधार गर्दै लैजान्छौं।
निर्देशन दिए पुग्ने निकायबाट निर्देशनको पालना गर्नुपर्ने र व्यवस्थापन समेत कार्यन्वयन गर्नुपर्ने संस्थामा जिम्मेवारी निभाउदै हुनुहुन्छ, झन्डै २५ बर्षदेखि काम गरिरहेका सिनियर कर्मचारी यहीं छन, केहि त फरक पर्ला नि हैन ?
पक्कै पनि, हिजो निर्देशन दिने निकायमा काम गरेको व्यक्ति आज कार्यन्वयन गर्नुपर्ने ठाउँमा आएको छु। लगानी कोषको संस्थागत संरचना बुझ्नका लागि पनि केहि समय त लाग्छ नै, त्यैपनि केहि कामहरु भईसकेका छन। संस्थाको हितलाई ध्यानमा राखेर काम गर्दा कर्मचारी लगायत सबैको साथ सहयोग हुन्छ नै। संस्था राम्रो बनाउने र यहाँबाट सबै सरोकारवालालाई राम्रो प्रतिफल दिने र कोषसंग जोडिएका सरकारका उदेश्यलाई साथ दिने काम गर्ने हो भने सबैबाट साथ सहयोग मिल्छ।
अर्को कुरा, केहि प्रक्रियागत कमीकमजोरले यहाँ माथिल्लो तहको कर्मचारी कम छन, एक प्रकारको भ्याकुम छ। कतिपय संस्थागत निर्णय लिनलाई उच्च तहका कर्मचारीहरुको सल्लाह सुझाब र छलफल महत्त्वपूर्ण हुन्छ तर अहिले कोषमा उच्च तहका कर्मचारीको अभाब छ। सक्सेसरको विकास नहुँदा केहि अप्ठ्यारो महसुस हुन्छ नै तर त्यो पनि बिस्तारै सहज हुँदै जान्छ।
साथ सहयोग पाएको छु भन्नु भयो, त्यहि पनि जान मन लागेको एउटा कुरा, राष्ट्र बैंक जस्तो सकृय संस्थाबाट आएको प्रमुख कार्यकारी निर्देशक र त्रिभुवन बिश्वबिध्यालय जस्तो हाजिर गरेर तलब पकाउने ठाउँबाट आएको अध्यक्षबीच कामको तालमेल मिलेको छ त ?
त्रिभुवन बिश्वबिद्यालय कसरि संचालन हुन्छ त्यसबारे धेरै थाहा छैन। तर अध्यक्ष ज्यु विद्वान हुनुहुन्छ, सकृय हुनुहुन्न्छ। हरेक बिषय अध्ययन गर्ने र कुरो ठ्याक्क बुझ्ने हुनुहुन्छ। अहिलेसम्म साथ सहयोग नै पाएको छु, त्यस्तो अन्य ठाउँमा सुनेजस्तो अध्यक्षले हस्तक्षेप गर्ने कुरो यहाँ अहिले २ महिनासम्मको कार्यअवधिमा केहि पाएको छैन।
नियमित उडान भर्न पायो र रार्मोसंग व्यवसाय गर्न पायो भने हाम्रो लगानीबाट हामीलाई राम्रै प्रतिफल मिल्छ।
केहि फरक तर समसामयिक प्रसंग ,वाईडबडी जहाजमा लगानी गरेर नागरिक लगानी कोषले गल्ति मात्र गरेर लगानी पनि जोखिममा पार्यो भन्ने आशयको प्रतिबेदन सार्वजनिक लेखा समितिमा पेश भएको छ, के गल्ति नै भएको हो ?
हुन त नेपाल एयरलायन्सको दुई वटा वाइडबडी जहाजमा लगानी गर्ने निर्णय म आउनु भन्दा पहिले नै भएको निर्णय हो। त्यैपनि त्यो लगानी गर्ने निर्णय गलत थिएन। एनएसी हवाई सेवा दिने व्यवसायिक संस्था हो। सरकार ग्यारेन्टी बसेर त्यहाँ लगानी गरिएको हो। व्यवसाय गरिरहेको ठाउँबाट राम्रै आम्दानी गरिरहेको छ। हामीले गरेको लगानीले सरकारको एउटा संस्थाले राम्रो व्यवसाय गर्न सक्छ भने त्यसमा लगानी कसरि गलत हुन्छ र ? खरिद प्रकृयामा गल्ति भएको भए सम्बन्धित निकायले कारबाही गर्ला तर नियमित उडान भर्न पायो र रार्मोसंग व्यवसाय गर्न पायो भने हाम्रो लगानीबाट हामीलाई राम्रै प्रतिफल मिल्छ।
भविष्यमा लगानी कोषले वाइडबडी जस्तै ठुलो संस्थामा वा कुनै हाइड्रोनै निर्माण गर्नेगरि लगानी गर्ने योजना केहि छ ?
अहिलेनै त्यस्तो योजना केहि छैन। तर कुनै संस्थाले त्यसप्रकारको प्रस्ताब ल्यायो भने पक्कै पनि प्रकृयाले मिलेसम्म लगानी गर्छौं नै। अहिले आफ्नै लगानीमा कुनै हाइड्रो निर्माण गर्ने योजना छैन, त्यसका लागि हामीसंग पर्याप्त म्यानपावर पनि छैन। तर त्यस्तो प्रस्ताब आयो भने लगानी गर्न सकिने ठाउँ प्रशस्त छ।
अन्त्यमा
नागरिक लगानी कोष एउटा धेरै सम्भावना बोकेको संस्था हो। अबका दिनमा कोषले सेवाग्राहीलाई, संचयकर्तालाई राम्रो सेवा दिनुपर्ने चुनौती छ। अहिलेसम्म नागरिक लगानी कोषमा आबद्द नभएका र सेवा लिन नआएकाहरुलाई समेत यहीं आउने वातावरण बनाउने चुनौती छ। स्वरोजगारहरुलाई पनि नागरिक लगानी कोष कट्टा गरेर नियमित सुविधा पाउन सक्ने सुविधा समेत कोषमा छ तर यो बारे धेरै कमलाई थाहा भएर हो या आम्दानी भन्दा उपभोग बढेर हो यो सुविधा त्यति प्रभाबकारी भएको छैन।
हामि हाम्रा संचयकर्ता तथा सेवाग्राहीलाई बढी भन्दा बढी प्रतिफल कसरि दिने र नागरिक लगानी कोषमै बचत गर्दा बढी प्रतिफल पाइन्छ भन्ने माहोल बनाउने तर्फ हाम्रो ध्यानकेन्द्रित छ। त्यसैले सबैलाई कोषमा आबद्द हुन आग्रह गर्छु।