रोल्पाको विकासका लागि आएको अधिकांश रकम फिर्ता

महेश न्यौपाने

महेश न्यौपाने

Jul 30, 2020 | 10:28:53 AM मा प्रकाशित

laxmi  sunrise bank

रोल्पाको विकासका लागि आएको अधिकांश रकम फिर्ता  भएको  छ । जिल्लाको विकासका लागि संघ र प्रदेशबाट विनियोजित  भएको बजेट मध्ये ठूलो राशीको रकम खर्च हुन नसकेर फिर्ता गएको हो ।

संघ र प्रदेशबाट चालु र पुजीगत  शिर्षकमा बिनियोजित बजेटमध्ये १ अर्ब ४२ करोड १७ लाख ४० हजार भन्दा बढी रकम खर्च हुन नसकेर  फिर्ता गएको हो । जिल्लामा, संघ र प्रदेशबाट ६ अर्ब ५८  करोड ९५ हजार भन्दा बढी बजेट आएको थियो । यसरी प्राप्त बजेटमध्ये ५ अर्ब १५  करोड ८३  लाख ५४ हजार  रुपैयाँ मात्रै खर्च भएको  कोष तथा लेखानियन्त्रण कार्यालय रोल्पाले जनाएको छ ।

संघीय  सरकारबाट प्राप्त पुँजीगत बजेटमध्ये २७ प्रतिशत मात्र खर्च भएको देखिएको छ । पुँजीगत  शिर्षकमा संघबाट प्राप्त ९५ करोड ७२ लाख ७५ हजारमध्ये २५ करोड ९३ लाख ९९ हजार मात्रै खर्च  भएको देखिएको  छ । यसैगरि प्रदेशबाट पुँजीगत तर्फ ६८ करोड ६७ लाख ७८ हजार प्राप्त भएकोमा ३५ करोड ५९ लाख ७४ हजार मात्रै खर्च भएको छ ।

चालु तर्फ संघ र प्रदेशबाट आएको  बजेटमध्ये ठूलो राशी खर्च भएको देखिएको छ । चालु शिर्षकमा संघ अन्तरगतको बजेटको ९५ प्रतिशत प्रगती भएको छ । यसैगरि प्रदेश अन्तरगतका कार्यालयहरुले चालु  खर्चमा ७४ प्रतिशत खर्च गरेका छन् ।

संघबाट संचालित जिल्लाका २ ठूलो आयोजनाहरुको खर्च निकै कम देखिएको छ । सहिदमार्ग सडक आयोजना र ग्रामीण सडक संजाल  सुधार आयोजनाको खर्च निकै कम देखिएको हो । ३७ लाख ९९ लाख ९९ हजार वजेट रहेको सो आयोजनाले ८ करोड ६४ लाख ४४ हजार रुपैयाँ मात्र खर्च गरेको देखिएको छ । यसैगरि ३४ करोड ५७ लाख वजेट रहेको ग्रामीण सडक संजाल सुधार आयोजनाले १ करोड ७३ लाख १५ हजार रुपैयाँ मात्रै खर्च गरेको देखिएको छ ।

आर्थिक वर्ष २०७५।०७६ मा रोल्पाबाट ७३ करोड ८१ लाख  ८१  हजार रुपैयाँ फिर्ता गएकोमा यस वर्ष भने दोब्बर रकम फिर्ता जाँदा स्थानीयहरु असन्तुष्ट देखिएका छन् ।

कोरोनाका कारण भएको लकडाउनले विकास गतिविधि समेत अवरुद्ध हुदा यति ठूलोराशीको बजेट फिर्ता  गएको जिल्ला समन्वय  समिति  रोल्पाका प्रमुख राजबहादुर बुढाको भनाई छ । ‘अघिल्ला बर्ष पनि बजेट  फिर्ता गएपनि  यस वर्ष लकडाउनले विकास प्रभाबित भयो’ प्रमुख बुढाले भने । समयमा बजेट नआउनु, समयमै संझौता गरि काम नगर्नु लगायत कारणले बर्षेनी जिल्लाको विकासका लागि आएको ठूलो धनराशी फिर्ता गईरहेको बुढाले जानकारी गराए । ‘बजेट खर्च नहुनुमा  निर्माण  व्यवसायिहरु पनि उत्तिकै जिम्मेबार छन्’ बुढाले भने ।

जिल्लावासीलाई सहभागि नगराएर दलगत आधारमा विकास गतिविधि हुँदा विकासले गति र उत्साह  लिन नसकेको नेपाली कांग्रेस रोल्पाका सभापति अमरसिंह पुनको भनाई छ । ‘स्थानीय निर्वाचन अघि सबै काम सहकार्यमा  हुन्थे, निर्वाचन पछि  बनेका स्थानीय  सरकारहरुले दलिय  सहकार्यलाई महत्व नदिएका कारण यस्तो अवस्था सिर्जना  भएको हो’ पुनले भने । जिल्लाका अधिकांश योजनामा गुरुयोजना  बिना हचुवाका भरमा बजेट बिनियोजन भएका कारण खर्च कम देखिएकोे पुनको भनाई छ ।

 गैर  सरकारी  संस्था  महासंघ रोल्पाका अध्यक्ष घनश्याम  आचार्य  आषाढ मसान्तमा काम गर्ने पुरानो चलनमा  परिवर्तन गर्न नसक्नुको परिणाम भएको मान्छन् । ‘जनताको व्यापक सहभागिता बिना जनप्रतिनिधि र कर्मचारीले मात्रै विकास गतिविधि गर्न खोज्दाको परिणाम हो’ आचार्यले भने । उनी भन्छन् ‘कार्यक्रम र बजेटमा पारदर्सिता, विकासमा जनताको सहभागिता जस्ता पक्षको प्रवद्र्धनमा जिल्लामा नागरिक  संगठनहरुले काम गर्दै आए पनि त्यसको सन्तोषजनक परिणाम नदेखिनु दुखद पक्ष हो’ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved