दोस्रो चरणको 'महासंग्राम' सुरु, प्रत्यक्षतर्फ ४ हजार बढी उम्मेदवार प्रतिस्पर्धामा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 07, 2017 | 07:18:33 AM मा प्रकाशित

laxmi  sunrise bank

४५ जिल्लामा दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान कार्य मङ्सिर २१ गते बिहान ७ बाटै सुचारु भएको छ। निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९९३ मतदाता सहभागी हुने निर्वाचन आयोगले जनाएको छ। 

आयोगका अनुसार प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्रमा र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका ७ हजार ७५२ मतदान स्थलका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान हुँदैछ।    

अपरान्ह ५ बजेसम्म आफ्नो मतदाता नामावलीमा नाम रहेको मतदान केन्द्रमा प्रवेश गर्ने मतदाताले मात्रै मतदान गर्न पाउने व्यवस्था रहेको छ । मतदाताले मतदान केन्द्रमा जाँदा मोबाइल, लाइटर तथा अन्य सामानहरू मतदान केन्द्रभित्र लैजान नपाइने व्यवस्था समेत रहेको छ ।

दोस्रो चरण अन्तर्गत निर्वाचन मतदान हुँदै गरेको क्षेत्र  

प्रदेश नम्बर १: मा इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरीमा 

प्रदेश २ मा : सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटमा

प्रदेश ३ मा: सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर र भक्तपुर

प्रदेश ४ मा: नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तनँहु, कास्की, स्याङ्जा र पर्वत

प्रदेश नम्बर ५ मा: नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, कपिलवस्तु, दाङ, प्यूठान बाँके, बर्दिया 

प्रदेश नं ६ मा: सल्यान, सुर्खेत र दैलेख तथा 

प्रदेश नं ७ मा:  कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम र डोटीमा मतदान सुरू भएको छ। 

ढुक्क भएर मतदानमा सहभागी हुन अपिल

सुरक्षाको पूर्ण प्रवन्ध मिलाइएकाले ढुक्क भएर मतदानमा सहभागी हुन निर्वाचन आयोगले अपिल गरेको छ । मतदानको लागि बिहान सात बजेदेखि साँझ पाँच बजेसम्मको समय निर्धारण गरिएको छ । 

मतदान गर्न जाँदा मतदाता परिचयपत्र अनिवार्य गरिएको छ । परिचयपत्र नभएकाले पनि मतदान गर्न पाउने गरि निर्वाचन आयोगले परिचय खुल्ने सरकारी कागजात देखाएर पनि मतदानमा भाग लिन पाउने व्यवस्था गरेको छ।

मतदाताले तीनवटा मतपत्रमा चार ठाउँमा मत संकेत गर्नुपर्ने छ । प्रतिनिधिसभाको हरियो र प्रदेश सभाको कालो मतपत्रमा एक ठाउँमा मत संकेत गर्नुपर्दछ । त्यसैगरी समानुपातिकतर्फको रातो मतपत्र एउटा मात्र हुनेछ । जसमा माथिको खण्डमा प्रतिनिधिसभाको लागि र तलको खण्डमा प्रदेशसभाको लागि मत संकेत स्वस्तिक छाप लगाउनुपर्ने छ ।

४ हजार ४८२ उम्मेदवार प्रतिस्पर्धामा

४५ जिल्लामा प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका लागि एक हजार ६६३ र प्रदेशसभाका लागि २ हजार ८१९ गरी कुल ४ हजार ४८२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।त्यसैगरी समानुपातिकतर्फ प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० पदमा पाँच हजार ८३८ उम्मेदवार छन् ।

साँझ ५ बजेबाट नै मतगणना

मङ्सिर १० गते पहिलो चरणमा निर्वाचन भएका जिल्लामा साँझ पाँच बजेबाटै मतगणना गर्ने तयारी गरिएको छ । कतिपय जिल्लामा सर्वदलीय बैठकले बुधबार नै गणनाको तयारी गरिसकेको छ भने केही जिल्लामा बिहीबार पाँच बजेअघि नै सर्वदलीय बैठक सक्ने तयारी छ। गणनास्थलमा तारजाली र सिसी क्यामरा राखिएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved