राष्ट्रिय सभा निर्वाचनको तयारी पुरा, शान्तिपूर्ण उम्मेदवारी दर्ताका लागि आह्वान

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 23, 2018 | 03:28:41 PM मा प्रकाशित

laxmi  sunrise bank

माननीय प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले माघ २४ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि भोलि माघ १० गते शान्तिपूर्ण र उत्साहजनकरूपमा उम्मेदवारी मनोनयन दर्ताका लागि दलहरूलाई आह्वान गरेका छन्  । राष्ट्रिय सभा सदस्य निर्वाचनमा निर्वाचन चिह्न प्राप्त गरेका २१ राजनीतिक दलका लागि आयोगले आज यहाँ आयोजना गरेको ‘मतदान तथा मतगणनासम्बन्धी अभिमुखीकरण कार्यक्रम’ को उद्घाटन सत्रलाई सम्बोधन गर्नु हुँदै प्रमुख आयुक्त डा. यादवले यस्तो धारणा राखेका हुन् । उनले राष्ट्रिय सभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयनपत्र दर्ताको सबै तयारी पूरा भएकाले कार्यक्रममा उपस्थित राजनीतिक दलका प्रतिनिधिहरू र मिडियामार्फत भोलि सातवटै प्रदेशमा उत्साहजनकरूपमा उम्मेदवारी दर्ताका लागि आग्रह पनि गरे  । 

प्रमुख आयुक्त डा. यादवले भने , ‘‘निर्वाचन आयोगले स्वच्छ, निष्पक्ष र स्वतन्त्ररूपमा निर्वाचन गराउँदै आएको छ, विगतमा जस्तै यस निर्वाचनमा पनि राजनीतिक दलहरूबाट शान्तिपूर्णरूपमा उम्मेदवारी मनोनयन पत्र दर्ता गर्न हार्दिक आग्रह गर्दछु ।’’

सहभागीलाई राम्रोसँग सिकेर जान र आफ्ना उम्मेदवार तथा  मतदातालाई पनि सही तरिकाले मत सङ्केत गर्न सिकाउनुहोस् भदै उनले हामीले ठूला नदी पार गरेका छौं तर अब अन्तिम चरणमा लड्ने कार्य राम्रो हुँदैन, तसर्थ उच्चस्तरको तयारी हामी सबैबाट हुनुपर्छ भने । प्रमुख आयुक्त डा. यादवले मतदातालाई स्वतन्त्ररूपमा मतदान गर्ने वातावरण बनाउन अनुरोध गर्नुहुँदै भने , ‘‘मतदातालाई स्वतन्त्ररूपमा मतदान गर्ने वातावरण बनोस्, कसैको दबाब, डर, त्रास वा धम्कीमा मतदान गर्नुपर्ने अवस्था नरहोस् ।’’ आयोगका सहसचिव नवराज ढकालले सहभागीहरूको स्वागत गर्नुहुँदै सातवटै प्रदेशमा मतदान र मतगणना हुन्छ, यसलाई मर्यादित र शान्तिपूर्ण बनाउन दलहरूबाट पूरा सहयोग तथा समर्थन हुने विश्वास आयोगले लिएको छ भने  । प्रशिक्षणमा माननीय निर्वाचन आयुक्तहरू नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह तथा आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याल सहभागी थिए। 

भोलि माघ १० गते सातवटै प्रदेशको उच्च अदालत रहेका मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटी जिल्लाको सदरमुकाममा रहेका निर्वाचन अधिकृतका कार्यालयमा बिहान १० देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ता गराउने सबै तयारी आयोगले मिलाएको छ । उम्मेदवारले मनोनयनपत्र दर्ता गराउन जाँदा उम्मेदवारको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको मतदाता नामावलीको उतार, १० हजार रुपियाँ धरौटी जम्मा गरेको नगदी रसीद वा बैङ्क भौचर, दलको उम्मेदवारको हकमा मनोनयनको औपचारिक पत्र, दलित समूहबाट निर्वाचित हुने सदस्य पदका लागि उम्मेदवारी दिने व्यक्तिले सम्बन्धित गाउँपालिका÷ नगरपालिका वा अधिकारप्राप्त निकायले दिएको दलित समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा पेश गर्नुपर्ने छ । यसैगरी, अपाङ्गता भएको वा अल्पसङ्ख्यक समूहबाट निर्वाचित हुने पदका लागि उम्मेदवारी दिने अपाङ्गता भएको व्यक्तिले नेपाल सरकारको अधिकारप्राप्त निकायले दिएको अपाङ्गताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र अल्पसङ्ख्यक समुदायको व्यक्तिले सम्बन्धित गाउँपालिका÷नगरपालिका तथा नेपाल सरकारको अधिकारप्राप्त निकायले दिएको अल्पसङ्ख्यक समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा पेश गर्नुपर्ने छ । उम्मेदवार हुनका लागि स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाता रहेको हुनुपर्ने र ३५ वर्ष पूरा भएको हुनुपर्ने छ । त्यसरी मतदाता नामावलीमा नाम रहेको उम्मेदवारले सात प्रदेशमध्ये जुनसुकै प्रदेशमा पनि उम्मेदवारी दर्ता गराउन सक्ने छ तर त्यसका लागि समर्थक र प्रस्तावक भने जुन प्रदेशमा उम्मेदवारी दर्ता गराउने हो, त्यही प्रदेशको हुनुपर्ने व्यवस्था रहेको छ । राष्ट्रियसभा सदस्यको निर्वाचनको मतदान यही माघ २४ गते बुधबारको दिन बिहान १०ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म हुँदैछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved