दुवै सदनमा नियमावली मस्यौदा समिति गठन, सभामुख र अध्यक्षको निर्वाचन मिति तय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 06, 2018 | 02:26:25 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभाको आजको बैठकले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समिति’ गठन गरेको छ । 
समिति १३ सदस्यीय हुनेछ । समितिमा कृष्णभक्त पोखरेल, जुलीकुमारी महतो, दिलेन्द्रप्रसाद बडू, देवप्रसाद गुरुङ, प्रेम सुवाल, वृजेशकुमार गुप्ता, मीनबहादुर विक, डा मीनेन्द्र रिजाल, रवीन्द्र अधिकारी, रेखा शर्मा, लक्ष्मणलाल कर्ण, डा विन्दा पाण्डे र विमलप्रसाद श्रीवास्तव सदस्य छन्  । 

समितिलाई एक महिनाको कार्यावधि दिइएको छ । समितिले प्रतिनिधिसभा मातहत रहने समितिको नाम र सङ्ख्या तय गर्ने र प्रतिनिधिसभाको बैठक सञ्चालनको सम्पूर्ण कार्यविधि तय गर्नेछ । समितिले आवश्यकताका आधारमा विज्ञ तथा सहयोगीसमेत लिन पाउने व्यवस्था गरिएको छ । समितिले सदस्यभित्रैबाट सभापति चयन गर्नेछ । 

प्रतिनिधिसभा सदस्य भानुभक्त ढकालले प्रस्तुत गरेको ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरियोस्’ भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको थियो । उक्त प्रस्तावलाई डा रिजाल र कृष्णबहादुर महराले समर्थन गरेका थिए  ।

  बैठकले यही फागुन २६ गते सभामुख निर्वाचनको मिति तोकेको छ । निर्वाचनसम्बन्धी कार्यतालिका भने संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले प्रकाशन गर्ने गरी ज्येष्ठ सदस्य महन्थ ठाकुरले निर्देशन दिए   । प्रतिनिधिसभाको अर्काे बैठक फागुन २६ गते अपराह्न १ बजे बस्नेछ । 

त्यस्तै राष्ट्रियसभाको आजको बैठकले पनि ‘राष्ट्रियसभा नियमावली मस्यौदा समिति’ गठन गरेको छ । 
समिति बढीमा नौ सदस्यीय हुनेछ । समितिलाई एक महिनाको कार्यावधि दिइएको छ । समितिमा गणेशप्रसाद तिमिल्सिना, परशुराम मेघी गुरुङ, दिलकुमारी थापा, सुरेन्द्रराज पाण्डे, राधेश्याम अधिकारी, दीनानाथ शर्मा, जीवन बुढा, प्रमिला कुमारी र वृषेशचन्द्र लाल सदस्य छन् । 

यसअघि खिमलाल भट्टराईले राष्ट्रियसभा नियमावली मस्यौदा समिति’ गठन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्तावलाई सदस्य प्रकाश पन्थ र कालीबहादुर मल्लले समर्थन गरेका थिए  । 
 
बैठकले राष्ट्रियसभाको अध्यक्षको निर्वाचनको मिति यही फागुन ३० गतेका लागि तोकेको छ । राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टले निर्वाचनको कार्यतालिका प्रकाशन गर्न संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिए  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved