सम्झनामा स्वर्गीय धनिराम : पत्रकारदेखि मन्त्रीसम्म...

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2019 | 09:09:02 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता धनिराम पौडेलको हृदयघातका कारण मृत्यु भएको छ । पूर्व शिक्षामन्त्री समेत रहेका उनको राजनीतिक यात्रा निकै लामो छ । विद्यार्थी राजनीतिबाट उदाएका स्वर्गीय पौडेलले पार्टीको विभिन्न कमिटिमा बसेर कुशलतापूर्वक कार्यसम्पादन गरेका छन् ।

उनी २०३७ सालदेखि वामपन्थी विद्यार्थी आन्दोलन हुँदै कम्युनिष्ट पार्टीमा सक्रिय थिए । मोहनबिक्रम सिंह र निर्मल लामाहरुले नेतृत्व गरेको नेकपा (चौथो महाधिवेशन) को बिद्यार्थी संगठनको कार्यकर्ता हुँदै राजनीति सुरु गरेका उनी २०३९ मा विद्यार्थी संगठनको चितवन जिल्ला सदस्य, २०४१ मा केन्द्रीय सदस्य हुँदै २०५१ मा तात्कालिन नेकपा (एकताकेन्द्र) विभाजनपछि अनेरास्ववियु (क्रान्तिकारी)को केन्द्रीय संयोजक समेत चुनिएका थिए ।

२०४२ सालमा नेकपा (चौम) को सदस्यता लिएका उनी २०४४ सालमा पार्टीको चितवन जिल्ला सदस्य भए । २०४७ सालमा माडीको सितलपुरमा भएको एकता महाधिवेशनका प्रतिनिधि समेत रहेका उनी अखिल नेपाल जनवादी युवा लिगका संस्थापक केन्द्रीय सदस्य समेत हुन् । २०५१ को पार्टी विभाजन पछि निर्मल लामा र नारायणकाजी श्रेष्ठलाई साथ दिएका उनी, त्यस यता लगातार पार्टीको केन्द्रीय समितिमा रहेर काम गर्दै आएका थिए ।

उनले पार्टीको बैचारिक मुखपत्र जनएकता साप्ताहिकको सम्पादक समेत भएर पत्रकारितामा समेत योगदान दिएका छन् ।

स्वर्गीय पौडेल तत्कालिन नेकपा (एकताकेन्द्र मसाल) र तात्कालिन नेकपा (माओवादी)सँग एकीकरण भएपछि बनेको एकीकृत नेकपा (माओवादी)को केन्द्रीय सदस्य हुँदै पोलिट्व्युरो सदस्य भएर निरन्तर क्रियाशिल थिए । पार्टी संगठनमा पुर्व, मध्य र पश्चिम नेपालमा काम गरेको अनुभव संगाल्दै दोस्रो संविधानसभामा सभासद र शिक्षामन्त्रीको जिम्मेवारी उनले कुशलतापूर्वक पुरा गर्न सफल भएका थिए । जुनसुकै जिम्मेवार पनि कुशलतापूर्वक निर्वाह गर्न सक्ने एक कुशल नेता र कार्यकताका रुपमा उनलाई चिनिन्छ ।

त्रिभुवन विश्वविद्यालयवाट स्नातक, शहीद स्मृति क्याम्पस चितवनवाट आईए र माडी माविवाट एसएलसी उत्तीर्ण गरेका उनले हाल स्व. दिवाकर भुसालको स्मृति पुस्तकको सम्पादन गरिरहेका थिए । सादा र सरल जीवनशैलीका अनुयायी पौडेलको जन्म बुबा हरिप्रसाद पौडेल आमा हिमादेवी पौडेलको सन्ताका रुपमा २०२२ कार्तिक ४ मा दरौ गा.वि.स. कुन्चेवारी, स्याङ्जामा भएको थियो  ।

हाल चितवनको माडीमा बस्दै आएका थिए स्वर्गीय पौडेलका दुई छोरी छन् । उनी श्रीमति गंगा बेलबासे पनि नेकपाको केन्द्रीय सदस्य छिन् । 

उनी पत्रकारितालाई सम्मान गर्ने व्यक्ति हुन् । पत्रकारलाई समाज परिवर्तनको संवाहक मान्ने स्वर्गीय पौडेल विजपाटी डटकम अनलाईन मिडियाका सल्लाहकार पनि हुन् । नेपालका विभिन्न कालखण्डमा पत्रकार र पत्रकारिता जगतले दिएको योगदानको उनी सधैँ प्रंशसा गरिरहन्थे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved