निरोज कुमार थापा     Feb 15, 2020 | 02:37:33 PM


tansen

कर्णाली भन्ने वित्तिक्कै दुर्गम, गरिबी, भोकमरी, अविकसित लगायतका सोच दिमागमा आउँछन् । उत्पादनका हिसाबले कर्णाली कमजोर छैन । वर्षेनी जुम्लाको स्याउले बजार नपाएको खबर आईरहन्छ । कर्णालीका मासलगायतका गेडागुडी र मार्सी चामलले बजार नपाएको समाचार सुनिएकै छ, लेखिएकै छ । जडिबुटी त्यस्तै, रैथाने खसी बाख्राहरु प्रशस्तै । 

कर्णाली घर, काठमाडौँमै पश्चिमको बजार 

‘यत्तिका धेरै कृषि उपज उत्पादन हुने क्षेत्र कसरी गरिब हुन सक्छ ? कर्णाली गरिब होला तर सधैँ गरिब रहन सक्दैन र गरिब भएरै रहनु हुँदैन । हाम्रो उत्पादन बजारसम्म लैजान्छौँ, बेच्छौँ र सिङ्गो कर्णालीलाई गरिबी मुक्त क्षेत्र बनाउँछौँ’ भनेर लागेका २ युवा, जसले आजभन्दा ११ वर्ष अगाडी ‘कर्णाली घर’को सुरुवात गरे ।

जुम्लाका मनोज भारती भर्खर अध्ययन गर्दैछन् । तर ‘कर्णाली घर’को संस्थापक र प्रमुख कार्यकारी अधिकृत छन् । अर्का एक जना सिन्धुपाल्चोकका राजन धिताल प्रवन्ध निर्देशक । यी दुई युवाले जुम्लाको अर्गानिक स्याउ, स्याउको चाना (ड्राइ एप्पल), जिम्मु, जुम्लाको सिमी, सिमीको दाल, काबुनो र मार्सी चामल काठमाडौँसम्म ल्याएर बिक्रि गरिरहेका छन् । 

सुरुमा चन्दननाथ इन्टरप्राइजेजमार्फत काम सुरु गरेपनि पछि नाम परिवर्तन गरेर कर्णाली घर बन्यो । जहा कर्णालीमा उत्पादन हुने कृषि उपजहरु पाइन्छ । सुरुमा स्याउ मात्रै बिक्रि हुन्थ्यो । ‘काठमाडौँमा कर्णालीदेखि स्याउ ल्याएर चिनाउने काम सुरुमा हामीले नै गरेका हौँ’ राजन भन्छन् । 

४ वर्ष घाटाको व्यापार 

चूनौतिपूर्ण बजार, मान्छेलाई विश्वास दिलाउन गाह्रो, चिनियाँ र भारतीय स्याउको दबदबा उनीहरुले थेग्न निकै संघर्ष गरे । ‘पहिलो वर्ष स्याउ मात्रै बेचियो, एक रुपैयाँ पनि फाइदा भएन’ राजनले विगत सम्झिँदै भने, ‘दोस्रो, तेस्रो र चौथो वर्ष पनि स्याउ नै बेच्यौँ, तर ४ वर्षसम्म पनि नाफा कमाउन सकिएन ।’ 

भारतबाट ३ महिना स्याउ नेपाल आउँछ, चीनबाट करिब ८ महिनासम्म आइरहन्छ । तर नेपाली उत्पादनको अर्गानिक महत्व बुझाउन नसक्दा घाटाको व्यापार गरिरहे उनीहरु । पाँचौ वर्षबाट उनीहरुले अब काम नै नगर्ने भनेर छोडे, तर कर्णालीको त्यो कहालिलाग्दो अवस्था, खेर गईरहेका उत्पादन आँखै अगाडी आईरहे । एक वर्ष छोडेर फेरि छैठौँ वर्षबाट कामलाई निरन्तरता दिए ।

हाल काठमाडौँको कलंकिमा गोदाम छ । बनस्थली बोहोराटारमा सानो गोदाम र कार्यालय छ । बजारका हिसाबले बोहोराटार भित्र हो । तर उनीहरुले बालाजु औद्योगिक क्षेत्रको कोल्ड स्टोरमा स्याउ राख्ने गरेका छन् । त्यसैको सजिलोका लागि उनीहरुले कार्यालय त्यहाँ राखेका हुन् । 

टनका टन मार्सी बिक्री

उनीहरु हाल सडक मार्गबाटै कर्णालीबाट उत्पादन काठमाडौँसम्म ढुवानी गर्छन् । कर्णालीमा उनीहरुले ४ जनाको समूह राखेका छन् । बोटमै गएर वैज्ञानिक रुपमा स्याउ टिप्ने, मार्सी, गेडागुडी, लोकल अण्डा जम्मा गर्ने लगायतका कामका लागि उनीहरुले गाउँका ४ जनालाई खटाएका छन् । काठमाडौँमा सामान आएपछि प्याकिङ गर्न, बजारसम्म लैजान ४ जना छन् । यसरी ८ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् कर्णालीका उत्पादनले बजार पाएका छन् । 

उनीहरुले यसवर्ष २७ टन कर्णालीको अर्गानीक स्याउ ल्याएका थिए । २४ टन बिक्रि भइसक्यो । बाँकी भएको स्याउ बालाजु औद्योगिक क्षेत्रमा रहेको कोल्ड स्टोरमा छ । स्याउको कुरा गर्दा मनोज भन्छन्, ‘अर्गानिक (स्वदेशी) स्याउ कुन हो, विदेशबाट आएको कुन हो भनेर छुट्याउन नजान्दा नेपालीहरु इन्डिया र चीनबाट आएको स्याउ खाईरहनु भएको छ । यसमा सिम्पल लजिक के हो भने, अर्गानिक स्याउ घाममा राख्नु हुँदैन, चिसो ठाउँमा राख्नु पर्छ । बिदेशबाट आएको स्याउ घाममा राखेपनि केही हुँदैन, किनकी त्यसमा त्यस्तै खालको औषधी लगाईएको हुन्छ ।’ उनी यत्तिमै रोक्किएनन्, ‘पसलमा राखेर बेच्ने, साइकलमा लिएर बेच्न हिड्नेहरुले त घाममै बेचिरहेका हुन्छन्, अर्गानिक हो भने त घाम परेको एकैदिनमा बिग्रिन्छ । चिन्न सजिलो छ, बजारमा घाममा, तातो ठाउँमा राखेर बेच्न सकिने स्याउ अर्गानिक हुनै सक्दैन ।’

मार्सी चामल पनि उनीहरुले कर्णालीबाट ८ टनको हाराहारीमा ल्याएका थिए । अब केही मात्रै बाँकी छ । ‘सुरु सुरुमा त हाउजिङ कम्पनीहरुमा मात्रै बिक्रि हुन्थ्यो, अहिले परिवारको लागि किन्ने ग्राहक पनि बढेका छन्’ मनोजले भने, ‘अहिले निरन्तर खान भन्दा पनि चाख्नको लागि किन्नेहरु बढी छन् ।’  

‘मार्सीले स्वाथ्यका लागि गर्ने फाइदा, अर्गानिक स्याउको फाइदा बुझ्नेहरु कम हुनुहुन्छ । मार्सी चामल त अहिले मात्रै होईन, राणा कालमा नै दरबारमा आउने चामल हो’ मनोजले भने । यसैमा राजन थप्छन्, ‘संसारकै उच्च भू–भागमा फल्ने चामल हो यो ।’ 

डिजिटल मार्केटिङ

केही समय अघिसम्म हाउजिङमा मात्रै सामान लैजाँदै आएका उनीहरुले अहिले फेसबुक पेज बनाएका छन् । ‘डिजिटल मार्केटिङको अवधारणा अनुसार उनीहरुले यसो गर्न लागेका हुन् । फेसबुकमार्फत विज्ञापन गर्न थालेपछि उनीहरुका केही ग्राहक बढेका पनि छन् । 

राजन भन्छन्, ‘हामीले केही दिन अघि मात्रै पूर्व उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेको घरमा नै १० किलो स्याउ लगिदियौँ, उहाँले आफैँ फोन गरेर अर्डर गर्नु भएको थियो ।’ यसअघि पनि राजनीतिक नेताहरुले कर्णाली घरमार्फत सामान खरिद गरेका थिए । 

निशुल्क डेलिभरी

उनीहरुले अर्डरमार्फत सामान पुर्याउँदा कुनै शुल्क लिँदैनन् । काठमाडौं उपत्यकाभरि निःशुल्क डेलिभरीसहित सस्तोमा कर्णालीका सामान बेचिरहेका उनीहरु ‘नेपाली भएकोमा गर्व गरौ, स्वदेशी उत्पादनलाई प्राथमिकता दिऊँ’ भन्छन् । 

१० केजी स्याउ खरिद गर्दा उनीहरुले थप १ किजी निःशुल्क समेत दिँदै आएका छन् । सिमी, जुम्लाको जैविक स्याउ, जिम्मु लगायतका कर्णालीका उत्पादन उनीहरुले घरमै ल्याईदिन्छन् । 

भविष्यको योजना 

स्याउ बेच्न सुरु भएको कर्णाली घर अहिले दर्जन बढी उत्पादन बिक्रि गरिरहेको छ । त्यति मात्र होइन जडिबुटीलाई समेत उनीहरुले बजारीकरण थालेका छन् । 

जिम्मु टिमुर, चोतो, यार्सागुम्बा, सिलाजि लगायतका कर्णालीका उत्पादन समेत उनीहरुले बिक्रिको योजना बनाएका छन् । सुनापति, धूपी, गोब्रेसल्लोको बजार पनि उनीहरु खोज्दैछन् । कर्णालीमा उत्पादन हुने यति मात्रै होईन । घरपालुवा जनावरको बजार माग हेरेर उनीहरु अर्गानिक मासु खान हुने र पाल्न हुने जनावर समेत बेच्दैछन् । 

‘नेपालमा पाईने घोडाहरुको एउटा मात्रै लोकल जात भनेको जुम्ली घोडा हो, पहिला यो घोडा भारत र तीब्बतमा निर्यात पनि हुन्थ्यो’ मनोजले भने, ‘अब यसलाई पनि बजारमा ल्याउन खोजिरहेका छौँ ।’ घोडा मात्रै होईन आजभोली शहरमा धनी घरमा अनिवार्य जस्तै बनेको कुकर पनि उनीहरुले ल्याउन खोजिरहेका छन् । ‘हामी भोटे कुकुरलाई बजारसम्म ल्याउने तयारीमा छौँ, केही समयमा नै काम सुरु गर्छौँ’ मनोज भन्छन् ।

देख्दा सानो लाग्ने तर गहिरिएर अध्ययन गर्दा निकै महत्व बोकेको कर्णाली घरले साँच्चै समृद्ध कर्णाली र समृद्ध नेपालको सपना देखेको छ । 

Share your thoughts!

निरोज कुमार थापा

Reporter