पुनर्बीमा व्यबसायको
लाईसेन्स पाएको हिमालयन रि इन्स्योरेन्सले संचालन अनुमतिको लागि आवश्यक पर्ने
कार्य अगाडी बढाएको छ । सोहि अनुसार कम्पनीले लोगो तयार पारेको छ । कम्पनीले
सगरमाथा अंकित लोगो तयार पारेको हो । लोगोमा नेपालीमा हिमालयन रि र अंग्रेजीमा
हिमालयन रि लेखिएको छ ।
त्यस्तै बीमा समितिले
कम्पनीलाई संस्थापकले कबुल गरेको पुंजी जम्मा गर्न निर्देशन दिएको छ । बीमा
समितिका प्रवक्ता राजु रमण पौडेलका अनुसार कम्पनीलाई ४५ दिन भित्र संस्थापकले कबुल
गरेको पुंजी जुटाउन निर्देशन दिईएको बताए । सहमति पाए पछि पुरा गर्नु पर्ने
प्रक्रिया अनुसार नै पुंजी पुर्याउन निर्देशन दिईएको उनले बताए । बिमक दर्ता तथा संचालन
निर्देशिका अनुसार नै कम्पनीलाई पुंजी पुर्याउन, कर्मचारी ब्यबस्थापन गर्न, कार्यालय स्थापना गर्न, कम्पनीलाई आवश्यक पर्ने
विज्ञ नियुक्त गर्न निर्देशन दिईएको प्रवक्ता पौडेलले बताए । कम्पनीले यो सबै
कार्य गरेपछि बीमा समितिले कम्पनीले तयार पारेको पूर्वाधार र संरचनाहरुको निरीक्षण
गर्ने र समिति सन्तुष्ट भएमा पुनर्बीमा ब्यबसाय संचालन गर्न अनुमति प्रदान गरिने
प्रवक्ता पौडेलले बताए ।
कम्पनीको चुक्ता पुंजी १० अर्बको हुनेछ । जस मध्ये संस्थापकहरुको ७ अर्ब र सर्वसाधारणको ३ अर्ब रहने छ
अर्थात् कम्पनीले ३ अर्बको आईपिओ निष्काशन गर्ने छ ।
कम्पनीले जेठ २३ गते
आइतबार कम्पनी रजिष्ट्रार कार्यालयमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको
नामबाट कम्पनी दर्ता गराएको थियो । कम्पनीको अंग्रेजी नाम Himalayan
Reinsurance Limited रहने छ भने गैर सरकारी पब्लिक कम्पनीको रुपमा दर्ता गरिएको छ ।
कम्पनीको
ठेगाना काठमाण्डौं महानगरपालिका-,काठमाण्डौ,बागमती उल्लेख गरिएको छ। कम्पनीको दर्ता नम्बर 263618
रहेको
छ । कम्पनीले www.himalayanre.com नामको वेबसाइट पनि दर्ता
गरिसकेको छ ।
हिमालयन रि मा
प्रधानमन्त्री केपी शर्मा ओली निकट उद्योगी तथा व्यवसायीहरुको लगानी रहेको छ। हिमालयन रि मा
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, महासंघकाका पूर्व अध्यक्ष
पशुपति मुरारका, पूर्व
अध्यक्ष भवानी राणा, नेपाल
परिसंघका अध्यक्ष सतीशकुमार मोर, शंकर ग्रुपका साहिल अग्रवाल र सुलभ अग्रवाल, केएल दुगड ग्रुपका विकास
दुगड, एमभि
दुगड ग्रुपका विवेक दुगड, लक्की
ग्रुपका रोहित गुप्ता लगायतका व्यक्तिहरुको लगानी रहेको छ।
बीमा समितिले नयाँ पुनर्बीमा कम्पनीको लागि प्रस्ताव माग गर्दै अन्नपूर्ण रिइन्स्योरेन्स, काठमाडौं रिइन्स्योरेन्स, जेन्युन रिइन्स्योरेन्स, प्रुडेन्सियल रिइन्स्योरेन्स, र हिमालयन रिइन्स्योरेन्सले प्रस्ताव पेश गरेका थिए । त्यस मध्ये हिमालयनले बाजी मारेको हो ।