६ वटा बिजुली बस ल्याउँदै ललितपुर महानगर, कुन कुन रुटमा चल्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2021 | 05:46:45 PM मा प्रकाशित

laxmi  sunrise bank

ललितपुर महानगरपालिकाले साझा यातायातसँग सहकाय गर्दै ६ वटा बिजुली बस सञ्चालनमा ल्याउने भएको छ । महानगरपालिका मेयर चिरिबाबु महर्जनका अनुसार ललितपुर महानगरका मुख्य पर्यटकीय स्थलमा आगामी चार महिनामा बस चलाउने गरी तयारी सुरू भइसकेको हो ।

योजनाको खाका बनीसकेको र आगामी एक हप्ताभित्रमा टेन्ड आह्वान गरी चार महिनाभित्रमा बिजुली बस सञ्चालनमा ल्याईने भएको हो । यी बसहरू ललितपुर महानगरका मुख्य पर्यटकीय स्थलमा चल्ने छन् । मेयर महर्जनका अनुसार पहिलो चरणमा तीन वटा रूट तय गरिएको छ ।

पुल्चोकबाट मंगलबजार, लगनखेल, जाउलाखेल हुँदै पुनः पुल्चोकसम्म एउटा रूट, पुल्चोकबाट मंगलबजार, पाटन, सुन्धारा, महाबौद्ध हुँदै पुनः पुल्चोकसम्म र तेस्रो, जावलाखेल, लगनखेल, एकान्तकुना, धोबीघाट, कुपन्डोल, सानेपासम्म जाने छ ।

विशेषगरी पर्यटक लक्षित यी बसहरू १४ देखि १६ सिट क्षमताका हुने छन् । पर्यटक, शारीरिक अशक्तता भएका व्यक्ति, वृद्धवृद्धा तथा बालबालिकालाई निःशुल्क सेवा दिइने छ । पाटन दरबार घुम्न आउने पर्यटकले पनि पर्यटक शुल्क बुझाउँदा नै बसको टिकट पाउँछन्। उक्त टिकटको मान्यता जारी मितिबाट तीन दिनसम्म रहने अर्थात पर्यटकले तीन दिनसम्म निःशुल्क बिजुली बसमा यात्रा गर्न पाउने महानगरले जनाएको छ । त्यसका लागि कति स्रोत लाग्छ भनेर अध्ययन गर्न बाँकी रहेको मेयर महर्जनले बताए ।

महानगरले साझा यातायातलाई साढे दुई करोड रूपैयाँ दिइसकेको र त्यसमा साझाले पनि केही रकम थप गर्ने महानगरले जनाएको छ । ’बस किन्न हामीले साढे दुई करोड रूपैयाँ साझालाई दिइसकेका छौं । अब यसमा साझाले केही रकम थप्छ । महानगर र साझाको सहकार्यमा ६ वटा बस किन्न सकिन्छ भन्ने अनुमान हामीले गरेका छौं,’ मेयर महर्जनले भने ।

बस चार्ज गर्ने चार्जिङ स्टेसन भने  छैनन् र  तत्काल बनाउने तयारी समेत छैन । अहिले साझाको यार्डमै चार्जको व्यवस्था गर्ने र बिजुली बस बिस्तार गर्दै लगेपछि चार्जिङ स्टेसनहरू पनि विस्तार गर्ने महानगरले जानकारी दिएको छ । बढ्दो वातावरण प्रदूषण न्यूनीकरणका लागि अन्य धेरै विकसित मुलुकले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन क्रमशः विस्थापित गर्न लागे सँगै ललितपुर महानगरपालिकाले पनि यो योजना अघि सारेको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved