एक वर्षमा भित्रिए २ लाख ५८ हजार मोटरसाइकल, कुन कम्पनीले कति ल्याए ?

निरोज कुमार थापा

निरोज कुमार थापा

May 12, 2021 | 11:36:05 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसको माहामारीका कारण अहिले मूलुक लकडाउनमा छ । गत वर्ष पनि यही बेला मूलुक लकडाउनमा थियो । निजी सवारी साधन नहुँदा मानिसहरु अत्यावश्यक काममा पनि निस्कन पाएनन् । जसका कारण निजी सवारीको आवश्यकता महशुस बढ्न पुग्यो ।

फलस्वरुप, मानिसहरु २ पांग्रे नै भएपनि आफ्नै साधन हुनुपर्छ भन्ने मनस्थितीमा पुगे । भदौ तिरबाट खुलेको लकडाउनपछि २ पांग्रे सवारी साधन किन्नेको संख्या बढ्यो । यसले बजारमा मोटरसाइकल तथा स्कुटर आयात गर्ने कम्पनीहरुबीच तीव्र प्रतिस्पर्धा गराईदियो । 

सन् २०२०/०२१ मा नेपाली बजारमा २ लाख ५८ हजार ८४९ यूनिट मोटरसाइकल तथा स्कुटर आयात भएको छ । यो तथ्यांक २०२० अप्रिल १ देखि २०२१ मार्च ३१ सम्मको हो ।

बजाज ‘नम्बर वान’

नेपालमा सबैभन्दा धेरै मोटरसाइकल बजाजको आयात भएका छन् । बजाज मोटरसाइकलको नेपालस्थित आधिकारीक वितरक हंशराज हुलास चन्द एण्ड कम्पनीले एक वर्षको अवधिमा ६९ हजार ४९५ यूनिट मोटरसाइकल आयात गरेको छ । 

मोटरसाइकल तथा स्कुटरको आयातमा यो सर्वाधिक हिस्सा अर्थात् २६.८५ प्रतिशत हो । यसले नेपाली बजारमा ‘पल्सर’ मोटरसाइकलको बिक्रि बढी हुने गरेको देखाउँछ । पल्सरका १५० सीसी, २२० सीसी र २०० सीसीको एनएस मोटरसाइकल बढी चर्चित छन् ।

बजाजले १६० सीसीको मोटरसाइकल पनि नेपाली बजारमा बिक्रि गरिरहेको भएपनि यो खासै चर्चामा भने छैन ।

दोस्रो बन्न टीभीएस र यामाहाको प्रतिस्पर्धा

बजाजले एक नम्बरमा रहँदै कुल बजार हिस्साको करिब २७ प्रतिशत ओगटेपनि दोस्रो नम्बरमा भने टीभीएस र यामाहाबीच प्रतिस्पर्धा देखिएको छ । सन् २०२०÷०२१ मा टीभीएस मोटरसाइकलको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ५० हजार ६ सय यूनिट मोटरसाइकल आयात गर्दा यामाहाको आधिकारीक वितरक एमएडब्लु इन्टरप्राइजेजले ५० हजार १६१ यूनिट बाइक भित्र्याएको छ ।

यी दुई कम्पनीबीच भएको तीव्र प्रतिस्पर्धाका बीच ४३९ यूनिट मोटरसाइकल बढी ल्याएको टीभीएस दोस्रो स्थानमा रह्यो । यामाहा तेस्रो स्थानमा कायम भयो । 

टीभीएसको बजार हिस्सा १९.५५ प्रतिशत र यामाहाको बजार हिस्सा १९.३८ प्रतिशत छ ।

होण्डा चौथो स्थानमा

वर्ष २०२०/०२१ मा होण्डाका ३७ हजार ६४७ यूनिट मोटरसाइकल आयात भएका छन् । होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङले ३७ हजार ६४७ यूनिट यामाहा मोटरसाइकल आयात गरी बजार हिस्सा १४.५४ प्रतिशत ओगटेको छ ।

कोरोनाका कारण आयात अत्याधिक घटेको स्याकार ट्रेडिङ प्रा.ली. बताउँछ ।

हिरोको हिस्सा ११.९४ प्रतिशत

पाँचौ स्थानमा रहेको हिरो मोटरसाइकल ३० हजार ९०५ यूनिट आयात भएको छ । आधिकारीक विक्रेता एनजीएम हिरोले आयात गरेको मोटरसाइकलको तथ्यांक अुनसार का अनुसार हिरोको बजार हिस्सा ११.९४ प्रतिशत छ । 

नाम चलेका ब्राण्डको हिस्सा ७.७४ प्रतिशत मात्रै

बजाज, टीभीएस, यामाहा, होण्डा र हिरोले नेपालको मोटरसाइकल बजारको ९२.२६ प्रतिशत हिस्सा ओगटेका छन् । बाँकी ७.७४ प्रतिशत बजार हिस्साका लागि रोयल इन्फिल्ड, सुजुकी, बेनेली, केटीएम, अप्रिलिया, भेष्पा, जावालगायत ब्राण्डका मोटरसाइकलबीच प्रतिस्पर्धा छ ।

तथ्यांक अनुसार रोयल इन्फिल्डले ५ हजार ७५९ मोटरसाइकल आयात गरी २.२२ प्रतिशत बजार हिस्सा ओगटेको छ । ४ हजार ८११ यूनिट आयात भएको अप्रिलियाले १.८६ प्रतिशत, २ हजार ८८० यूनिट बाइक आयात भएको सुजुकीले १.११ प्रतिशत हिस्सा ओगटेका छन् । 

१८ सय ३९ यूनिट आयात भएको भेष्पाको बजार हिस्सा ०.७१ प्रतिशत रहँदा १६ सय १४ यूनिट आयात भएको केटीएमले ०.६२ प्रतिशत हिस्सा ओगटेको छ । १ हजार १० यूनिट आयात भएको बनेली र ६८४ यूनिट आयात भएको जावाले क्रमशः ०.३९ र ०.२६ प्रतिशत हिस्सा कायम गरेका छन् ।

बाँकी ०.५५ प्रतिशत हिस्सा भने अरु ब्राण्डका मोटरसाइकलले ओगटेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved