कार्डबाट गाडी भाडा तिर्ने ठेक्कामा चलखेल, ब्यापारीको प्रभावमा मन्त्रालयका कर्मचारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2022 | 08:30:51 PM मा प्रकाशित

laxmi  sunrise bank

बाग्मती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारी साधनमा नगदरहीत विद्युतीय प्रणाली 'प्रिपेड कार्ड' लागू गर्ने सम्बन्धमा आब्हान गरेको टेन्डरमा ठुलो चलखेल भएको पाइएको छ।  

आफु अनुकुल संस्थालाई नै उक्त टेण्डर पार्ने उदेश्यले मन्त्रालयले यस अगाडी जारी भएको ३० दिने सूचना बिना कुनै जानकारी रद्द गरि अहिले फेरि १५ दिने सूचना जारी गरेर चलखेल गरेको हो। मन्त्रालयले यसअघि २०७८ साल चैत ९ गते ३० दिनको अवधि राखेर टेण्डर आव्हान गरेको थियो। तर, टेण्डर आव्हान गरेको २२ दिनपछि अर्थात बैशाख २ गते नै कुनै ठोस जानकारी बिना एक्कासी टेण्डर रद्ध गरेको थियो। 

पहिलो पटक ३० दिने सूचना जारी गर्दा आफु अनुकुलको सँस्थाले नपाउने अवस्था आएपछि तयारीका लागि ३० दिने सूचना जारी गरेर २२ दिनमा उक्त सूचना रद्द गरिएको र अहिले मापदण्ड नै परिवर्तन गरि १५ दिने सूचना जारी गरिएको स्रोतको दाबि छ। 

स्रोत भन्छ, "हिजो टेण्डर आब्हान गर्दा चाउचाउ र तेल बेच्ने ब्यापारीले यो बारे पत्तो पाएनन, अहिले करोडौंको ब्यापार हुने देखेपछि त्यो बेला आब्हान भएको ३० दिने सूचना नै रद्द गरि १५ दिने सूचना जारी गरिएको हो।"

पछिल्लो पटक साउन १० गते जारी गरिएको १५ दिने सूचनाको अवधि भोलि साउन २५ गते सकिदैछ। यसमा इच्छुकहरुले  भोलि दिउँसो १२ बजेसम्म आबेदन दिन सक्नेछन्। बिजपाटीलाई प्राप्त जानकारीअनुसार यस टेण्डरमा केहि कम्पनीले आबेदन दिनेछन्। जसमा पुर्व सेटिंङअनुसार एक ब्यापारीको लगानी भएको कम्पनीले यो टेण्डर पाउने स्रोतको दाबि छ।  

आबेदन दिएको उक्त कम्पनीमा देखिने व्यक्ति एउटा भएपनि त्यसमा लगानी चल्तीका ब्यापारीको भएको स्रोतको दाबि छ। तिनै व्यापारीलाई टेण्डर दिलाउन मापदण्डमा नै चलखेल गरिएको र यस कार्यमा प्रदेश सरकारका केही मन्त्रीदेखि कर्मचारीसमेत लागेको स्रोतको भनाई छ। 

यद्दपि बाग्मती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयका प्रवक्ता हरिहर पोखरेलले प्राविधिक कारणले पहिलो पटक आव्हान गरेको टेण्डर बीचैमा रद्द गर्नुपर्नेको तर्क दिएका छन्।  'प्राविधिक कारणले गर्दा हामीले रद्द गरेका हौं'  उनले भने। तर के र कुन प्राविधिक कारणले टेण्डर रद्द गरिएको भन्नेबारे उनले बोल्न चाहेनन्।  

यसले पनि मन्त्रालयले पुर्वयोजनाअनुसार नै टेन्डर निकालेर रद्द गरि फेरि दोस्रो पटक टेण्डर आब्हान गरिएको पुष्टि हुन्छ। 

नेपाल  राष्ट्र बैकंले तोकिएको क्षेत्रमा काम गर्न पाउनेगरि भुक्तानी सेवा प्रदायक  (पेमेन्ट सर्भिस प्रोभाइडर) 'पीएसपी' को लाइसेन्स बाँडेको थियो।  जसमा २ सँस्थाले यात्रा कार्ड जारी गर्ने भनेर पीएसपी को लाइसेन्स लिएको थियो।  यद्दपि आब्हान गरिएको टेण्डरको मापदण्डअनुसार अन्य कम्पनीहरुले पनि यसमा आबेदन दिन पाउनेछन। 

सार्वजनिक खरिद ऐन विपरित काम 

सार्वजनिक खरिद ऐन २०७३ अनुसार सार्वजनिक सूचना प्रकाशन गर्दा राष्ट्रियस्तरको बोलपत्र वा पूर्व योग्यता निर्धारणको प्रस्ताव आह्वानको सूचनाको हकमा कम्तीमा तीस दिन र अन्तर्राष्ट्रियस्तरको बोलपत्र वा पूर्व योग्यता निर्धारणको प्रस्ताव आह्वान को सूचनाको हकमा कम्तीमा पैंतालीस दिनको अवधि दिनु पर्नेछ ।

उक्त ऐनमा अगाडी भनिएको छ, "बोलपत्र वा पूर्व योग्यता सम्बन्धी प्रस्ताव पेश गर्न दिइएको अवधिभित्र कुनै बोलपत्र वा पूर्व योग्यता सम्बन्धी प्रस्ताव नपरेमा वा परे पनि सारभूत रुपमा प्रभावग्राही नभई पुनःबोलपत्र वा पूर्व योग्यता सम्बन्धी प्रस्ताव आह्वान गर्नु परेमा सार्वजनिक निकायले आवश्यकता अनुसार राष्ट्रियस्तरको बोलपत्र वा पूर्व योग्यता सम्बन्धी प्रस्तावको हकमा कम्तीमा पन्ध्र दिन र  अन्तर्राष्ट्रिय स्तरको बोलपत्र वा पूर्व योग्यता सम्बन्धी प्रस्तावको हकमा कम्तीमा एक्काइस दिनको समयावधि दिई पुनः बोलपत्र वा पूर्व योग्यता निर्धारण प्रस्ताव आह्वान गर्न सक्नेछ ।" 

तर मन्त्रालयले भने पहिलो पटक ३० दिने सुचना जारी गरि बीना कुनै जानकारी २२ दिन पश्चात उक्त सूचना रद्द गरि अहिले फेरि १५ दिने सूचना जारि गरेको हो।  यसले मन्त्रालयले सार्वजनिक खरिद ऐन बिपरित काम गरेर आफुअनुकुलका ब्यापारीलाई मात्र हुने गरि सूचना निकालिएको स्रोतको दाबी पुष्टि हुन्छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved