सहकारीहरुलाई सहकारी महासंघले भन्यो 'अनुत्पादक क्षेत्रमा लगानी नगर्नु, व्याजको लोभमा नपर्नु'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2022 | 02:54:33 PM मा प्रकाशित

laxmi  sunrise bank

सहकारीका संचालक निक्षेपकर्ताको निक्षेप लिएर फरार भएको समाचार बाहिर आउँन थालेपछि राष्ट्रिय सहकारी महासंघले ९ बुँदे अपिल जारी गरेको छ। लगानीयोग्य रकमको अभावले समस्या देखिएको भन्दै महासंघले सम्पूर्ण सहकारी संघ/संस्था तथा सदस्यहरुमा धैर्यताका साथ सतर्कता अपनाई थप संयमित रुपमा कदम चाल्न अनुरोध गरेको हो।

 कोभिड १९ को महामारी, रुस-युक्रेन युद्धसँगै वस्तु तथा सेवाहरुको मुल्यबृद्धि र मुद्रास्फीतिको असर पर्न गई नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकमको अभाव भएको र यसको असरले कतिपय सहकारी संस्थामा समेत तरलताको चाप पर्न गई सदस्यहरूलाई वचत फिर्ता गर्न कठिनाई भईरहेको महासंघले जनाएको छ। 

महासंघले जारी गरेको अपिलमा परिस्थिति सहज नहुदा सम्म घरजग्गालगायत अनुत्पादक क्षेत्र एवं ठूलो लगानी नगर्न,  सामान्य अवस्थामा भन्दा बढि तरलता कायम राख्न, अस्वाभाविक व्याजको लोभमा नपरी संस्थागत क्षमता भएका र सुशासनमा सञ्चालित संस्थाहरूसंग मात्र कारोवार गर्न आग्रह गरिएको छ ।

यस्तो छ महासंघको अपिल  

१. करिब एक बर्षदेखि देखिएको तरलता संकटको असर सहकारी क्षेत्रमा समेत देखिन थालेको अवस्थालाई मध्यनजर गर्दै आफ्नो वित्तीय जोखिम विश्लेषण गरी सामान्य अवस्थामा भन्दा बढि तरलता कायम राख्न हुन,

२. सदस्य एवंम् सरोकारवाला निकायहरुसँग संस्थाको वर्तमान अवस्थाको बारेमा निरन्तर समन्वय र सम्वाद जारी राख्न हुन,

३. सहकारीका मूल्य, मान्यता र सिद्धान्त बमोजिम आन्तरिक नियन्त्रण प्रणालीलाई चुस्त राख्दै संस्थागत सुशासन कायम गर्न हुन,

४. परिस्थिति सहज नहुदा सम्म घरजग्गालगायत अनुत्पादक क्षेत्र एवं ठूलो लगानी नगर्न हुन,

५. जोखिम विश्लेषण कार्यविधि तयार गरी जोखिम न्यूनीकरणका लागि योजनावद्ध तथा प्रभावकारी रूपमा असुलीमा केन्द्रित रहन हुन,

६. महासंघ, संघ एवं सहकारी बैंकले सञ्चालन गरेका स्तरीकरण कार्यक्रम एवं तालिमहरूमा सहभागी भई संस्थागत क्षमता मजवुद वनाउन हुन,

७. सहकारी अभियानको ऐक्यवद्धतालाई कायम राख्न माथिल्लो संघहरूसंग नियमित सम्पर्कमा रहदै यथासम्भव अभियानभित्रै कारोवार गर्न हुन,

८. राष्ट्रिय सहकारी बैंक, केन्द्रिय, प्रदेश तथा जिल्लास्तरीय संघहरूले आफ्ना सदस्य संस्थाहरूसंग नियमित सम्पर्क र समन्वय गरी संस्था संचालनमा आवश्यक सहजीकरण गर्न,

९. सदस्यहरूले समेत अस्वाभाविक व्याजको लोभमा नपरी संस्थागत क्षमता भएका र सुशासनमा सञ्चालित संस्थाहरूसंग मात्र कारोवार गर्न हुन।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved