वडाअध्यक्ष र जनप्रतिनिधिले डुबाए मञ्जुश्री सहकारी, अब आफ्नै भवन बेच्ने तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2022 | 02:35:42 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ उपत्यकाका सहकारी संस्थाहरु उपत्यका बाहिरका तुलनामा बलिया नै मानिन्छन् । तर, बलिया सहकारीहरु पनि सञ्चालकहरु बदमास भइदिँदा डुब्छन् । सञ्चालकहरुले बचतकर्ताले जम्मा गरेको रकम जथाभावी आफुखुशी लगानी गर्दा सहकारी संस्थाहरु डुबेका समाचार आइरहँदा उपत्यका भित्रकै एउटा सहकारी भने जनप्रतिनिधिबाटै पिडीत बनेको छ । 

गोकर्णेश्वर नगरपालिका वडा ५ जोरपाटीस्थित मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड सानो लगानीको सहकारी हो । तर, यो सहकारीलाई अहिले सकस परेको छ । जनप्रतिनिधिहरुले नै ऋण नतिरेपछि बचतकर्ताले आफूले जम्मा गरेको बचत पनि फिर्ता पाउन सकेका छैनन् । 

गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडाध्यक्ष नवराज लामा कुनै समय यो सहकारीको सचिव थिए । उनले त्यतिबेला अर्थात् २०६९ साल असोजमा श्रीमती राधा राईको नाममा १६ लाख ३० हजार २८६ रुपैयाँ ऋण लिएका थिए । उनले लिएको ऋणको अवधि २०७० असोज १५ मा सकियो । २०७२ सालसम्म उनले ऋण चूक्ता गरेनन् । २०७२ सालमा भूकम्प आइदियो । उनलाई बाहाना मिल्यो । 

२०७४ सालमा पनि चुनाव आइदियो । २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट उनी वडा सदस्यमा निर्वाचित भए । कर्जा नतिरी बसिरहेकै बेला कोरोना आइदियो । उनले यहीँ बाहानामा पुनः कर्जाको नवीकरण गराएको दाबी सहकारीको छ । 

त्यस्तै, नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेर गत स्थानीय निर्वाचनमा वडा नं ५ को वडा सदस्यमा निर्वाचित भएका श्रीबहादुर योगीले पनि २ लाख ५० हजार रुपैयाँ ऋण लिएका थिए । उनले ऋण चुक्ता गर्नुपर्ने मिति २०७६ पुस २८ गतेसम्म थियो । तर, उनले पनि कोरोनाका कारण कर्जा नवीकरण गराए ।

तर, योगीले आफ्नी श्रीमतीले पसल चलाउने र सोही पसलबाट हरेक दिनजसो कहिले १ हजार कहिले १५ सयका दरले कर्जा तिरिरहेको बताएका छन् । 

‘१४ हजार बचत पनि छ, एक लाख ४२ हजार जति तिर्न बाँकी छ भन्नु भएको छ’ योगीले भने, ‘यो रेगुलर तिर्दै जाने कर्जा हो, मैले पैसा लिन आउनु भनेर १० पटक फोन गरेर बोलाइसकेँ, तर आउनु हुन्न । अनि मिडिया तिर चाहिँ वडा सदस्यले पैसा तिरेर भनेर प्रचार गर्दै हिड्नु हुँदो रहेछ उहाँहरु । मैले कोभिडपछि नवीकरण गरेको हुँ, नवीकरण गर्दा ८/९ हजार शुल्क पनि तिरेको छु । खराब ऋणी भएर भागेको होइन, उहाँहरु रेगुलर आउनुहुन्न । रेगुलर आए डेढ महिनामै सबै चुक्ता हुन्छ ।’ 

त्यस्तै, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं ५ का अध्यक्ष राजु रायमाझीले पनि २०७२ भदौमा ३ लाख २० हजार ४९० ऋण लिएको पाइन्छ । उनी गत स्थानीय निर्वाचनमा कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

पूर्वव्यवस्थापक लेखनाथ लामाले पनि आफूले लिएको ३२ लाख ५३ हजार ऋण तिरिसकेका छैनन् । 

अध्यक्ष पद छोडिदिन्छुः इन्द्र लामा (अध्यक्ष)

सहकारीका अध्यक्ष इन्द्र लामाले आफू अब पौष ९ गतेबाट अध्यक्षको जिम्मेवारीबाट मुक्त हुने बताएका छन् । ठूलो सहकारी नभई ११÷१२ करोड निक्षेप भएको सहकारीमा पनि जनप्रतिनिधिले नै समस्या नबुझिदिँदा समस्या आएकाले पौष ९ गतेका लागि विशेष साधारणसभा बोलाएको र सोही विशेष साधारणसभाबाट आफू अध्यक्षबाट हट्न लागेको उनले जानकारी दिए ।

‘पैसा दिनै नसक्ने भएको चाहिँ होइन, तर जनप्रतिनिधि भएका ऋणीहरुले नै समस्या नबुझिदिँदा केही अफ्ट्यारो परेको छ, त्यतिबेला हामीले खराब ऋणी भनिदिएको भए उहाँहरु चुनाव लड्न पाउनु हुन्नथ्यो, हामीले ऋण तिरिहाल्नुहुन्छ भनेर यसो गरेनौँ’ अध्यक्ष लामाले भने, ‘५ करोड पर्ने त घर नै छ । अरु सम्पत्ति पनि छ । तर, मैले ऋण असुल गर्न ताकेता गर्न नसक्नु मेरो पनि कमजोरी भयो । अब राम्रो टिम ल्याएर संस्था चलाउनु पर्नेछ ।’ 

८ करोड जति ऋण लगानी उठ्न बाँकी रहेको उनको भनाई छ । कुल निक्षेप ११ देखि १२ करोड रहेकोमा ८ करोड बराबर रकम उठ्न बाँकी रहेको भएपनि आवश्यक परे सहकारीको घर बेचेर भएपनि बचतकर्ताको रकम फिर्ता गराउन आफूले पहल गर्ने दाबी उनले गरेका छन् । 

‘भवन बेचेर भएपनि पैसा फिर्ता गर्नुपर्छ भन्ने पक्षमा म छु’ उनले भने, ‘अध्यक्षबाट ब्याक भएपनि बचतकर्ताको पैसा फिर्ता गराउन मैले खेल्नुपर्ने भूमीका खेल्छु ।’ 

तर, भोली पौष ९ गतेको विशेष साधारणसभाबाट मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नेतृत्वमा को आउँदैछ भन्ने विषय भने उनले खुलाउन चाहेनन् ।

यसैबीच, मञ्जुश्री बचत तथा ऋण सहकारीले आफूहरुको बचत फिर्ता गर्न नसकेको भन्दै बचतकर्ताले जनप्रतिनिधि गुहारेका छन् । उनीहरुले यसबारे निवेदन दिएका छन् । गोकर्णेश्वर नगरपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर ५ का वडाध्यक्ष नारायणबहादुर सुवेदीले बचतकर्ताहरुले वडामा निवेदन दिएपछि आफूले सहकारीका अध्यक्षसँग छलफल गरेर कुनैपनि हालतमा निक्षेपकर्ताको रकम फिर्ता गर्न निर्देशन दिएको बताएका छन् । वडाध्यक्ष सँगको छलफलमा पनि सहकारीका अध्यक्ष लामाले सहकारीको नाममा रहेको भवन बेचेरै भएपनि निक्षेपकर्ताको रकम फिर्ता गराउने प्रतिवद्धता जनाएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved