सेयरबजारका यी 'खलनायक' लाई कारबाही गर्न नसके अर्थमन्त्री शर्माले राजिनामा दिए हुन्छ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 01, 2021 | 09:46:18 AM मा प्रकाशित

laxmi  sunrise bank

बुक बिल्डिङ मार्फत नेपालको सेयरबजारको इतिहासमै पहिलोपटक प्रिमियम मुल्यमा आइपीओ जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टमा नियामकहरुको एकाघरका सदस्यको नाममा सेयर ट्रान्सफर गरिएको बिषयले नियामकहरुले कसरी अनुचित लाभ उठाईरहेका छन् भन्ने कुरा सतहमा आएको छ।

सेयरबजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगानाको छोरीको नाममा ११ हजार ९ सय १२ कित्ता ट्रान्सफर भएको छ भने सेयरबजारको फ्रन्ट लाइन नियामक नेप्सेका प्रमुख चन्द्र सिंह साउदको श्रीमती शुसीला कुमारी बोहराको नाममा ११ हजार ९ सय १२ कित्ता सेयर ट्रान्सफर भएको छ।

यो पनि: बोर्ड अध्यक्ष ढुंगाना र एफएनसीसीआई वरिष्ठ उपाध्यक्ष ढकालले भित्रि कारोबार गरेको प्रमाणित

त्यस्तै गलत नजिरलाई टेकेर धितोपत्र बोर्डको संचालक सदस्यको रुपमा प्रतिनिधित्व गरेका नेपाल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालका भाई हेमराज ढकालको नाममा २ लाख कित्ता सेयर ट्रान्सफर भएको छ। 

आइपीओ बिक्रि गर्नु अगावै आफ्ना परिवारको नाममा सेयर ट्रान्सफर भएको बिषयलाई धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगाना, नेप्सेका प्रमुख चन्द्र सिंह साउदले स्वीकार गरेका छन्। र उनीहरुले आफुले पैसा हालेर किनेको र गोल्डेन सेयर नलिएको दाबी गर्दै आएका छन्। 

नियामकको कुर्चीमा बसेर आइपीओको मुखैमा रहेको कम्पनीको सेयर आफ्ना परिवारका सदस्यको नाममा ल्याउनुका पछाडी ठुलो खेल भएको अर्थमन्त्रालयको बुझाई रहेको छ। यहि बिषयलाई लिएर अर्थमन्त्रालयले धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना र नेप्सेका प्रमुख साउदलाई तीन दिने स्पष्टिकरण समेत सोधेको छ। 

यस अघि : कानुन मान्ने भए चन्द्र ढकालले धितोपत्र बोर्ड वा ग्लोबल आईएमई बैंक मध्ये एक छोड्नु पर्ने

सेयर गोल्डेन हो वा पैसा तिरेर लिएको भन्ने भन्दा पनि नियामकको कुर्चीमा बसेर आइपीओ मुखैमा रहेको कम्पनीको सेयर किन यिनीहरुको परिवारको नाममा आयो भन्ने महत्त्वपूर्ण हो र छानबिनको बिषय पनि हो।

यस अगाडी पनि थुप्रै कम्पनीहरु पब्लिक कम्पनी बनेर पछि सर्वसाधारणको लागि आइपीओ जारि गरिसकेका छन्। तर नियामकको कुर्चीमा बस्नेहरुले यसरी खुलेआम आफ्ना परिवारको सदस्यको नाममा सेयर लिएको सायदै यो पहिलो घटना हो।  

यस घटनाले 'गोल्डेन' सेयर नदिई कुनै काम हुदैन भन्ने नियामकमाथि हिजोका दिनमा लागेका आरोप पुष्टि हुन्छ भने यस प्रकारका घटनाले भोलिका दिनमा गलत नजिर स्थापित गर्ने देखिन्छ। 

सामान्यतया लगानी जुटाउने उदेश्यका साथसाथै जतिसुकै राम्रो कम्पनी भएपनि आफ्नो कम्पनीको ब्राण्ड भ्यालु बढाउँन र सर्वसाधारणमा आफ्नो कम्पनीप्रतिको बिश्वास जगाउन लगायतका कारणले कुनै पनि कम्पनी सेयरबजारमा सुचिकृत हुने गर्दछ। यस अगाडी शिवम सिमेन्टको आइपीओ प्रिमियममा ल्याउदा प्रति कित्ता ३०० महँगो भयो भन्ने धितोपत्र बोर्डले अहिले सहजै प्रति कित्ता ७५० रुपैयाँमा स्वीकार गर्नुले पनि सर्वोत्तम सिमेन्टमा के पाकी रहेको छ भन्ने स्पष्ट हुन्छ।

यस घटनाले कम्पनीका मुख्य संचालक बिष्णु न्यौपानेको नियत माथि पनि प्रश्न उठेको छ। उनले नियामकका परिवारलाई सेयर दिनुले पनि उनको नियतमाथि प्रश्न उब्जिन्छ। यत्तिका दिनसम्म आफैले संचालन गरिरहेको कम्पनीले सेयरबजारबाट लगानी जुटाउदै गर्दा सेयरबजारका नियामकका परिवार रोजेर उनीहरुलाई सेयर किन दिए भन्ने कुरा आफैंमा छानबिनको बिषय हो। 

यस घटनाले केहि हजार कित्ता सेयर दिँदा भोलिका दिनमा एक सय पर्ने सेयरलाई प्रति कित्ता ७५० रुपैयाँमा बिक्रि गर्न पाइन्छ भने उनीहरुलाई 'बक्सिस' किन नदिने भन्ने कुराले बिष्णु न्यौपानेलाई प्रोत्साहित गरेको देखिन्छ। 

प्रति कित्ता १०० को सेयर बुक बिल्डिङ मार्फत ७५० रुपैयाँमा बिक्रि गरेर मोटो रकम जुटाउने लोभले उनले नियामक तथा निर्णयकर्ताका परिवारलाई यसरी सहजै सेयर दिनुले पनि भोलिका दिनमा पब्लिक कम्पनीमा आउन चाहने र सेयरबजारबाट लगानी जुटाउन चाहने पवित्र नियत भएकाहरुलाई समेत अप्ठ्यारोमा पारेको छ। 

प्रति कित्ता १०० को सेयर बुक बिल्डिङ मार्फत ७५० रुपैयाँमा बिक्रि गरेर मोटो रकम जुटाउने लोभले कम्पनीका साहु कसरी प्रभावित हुन्छन् र यस्ता कम्पनीका संचालकहरुले नियामकलाई र निर्णय गर्ने अधिकार भएकालाई कसरी प्रभावित गर्छन भन्ने कुराको समेत नजिर बनेको छ।

सर्वोत्तम सिमेन्टको सेयर नियामकका परिवार र नियामकका आसेपासेहरुको नाममा यसरी ट्रान्सफर हुनुले नेपालको सेयरबजारमा सर्वसाधारणको लगानी ठुलो जोखिममा रहेको छ भन्ने संदेश दिएको छ। त्यसमा पनि धितोपत्र बोर्डको अध्यक्ष हुनेवित्तीकै बुक बिल्डिङ बिधि देखाएर १०० को सेयर ७५० रुपैयाँमा सर्वसाधारणलाई भिडाउन चाहने ढुंगानाको चाहना पछाडीका कारणहरु यस घटनाले छर्लंग भएको छ। 

यस घटनाले प्रिमियममा आइपीओ ल्याउन चाहाने कम्पनीहरुको लागि 'बुढी मरी हैन कि काल पल्क्यो' भन्ने चिन्ता थपिएको छ। भोलिका दिनमा यस्तै नजिरमा टेकेर सर्वसाधारणलाई लुट्ने खेल रोक्नका लागि पनि जनताको रोजाईमा परेका नव नियुक्त अर्थमन्त्री जनार्दन शर्माले यस घटनामा प्रत्यक्ष रुपमा संलग्न नियामकहरु तथा सर्वोत्तम सिमेन्टका संचालकलाई कारबाही गर्नबाट पछाडी हट्नु हुदैन। 

हेर्नेलाई भन्दा देख्नेलाई पनि लाज लाग्ने गरि यस्तो घिनलाग्दो काम गर्ने नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगाना, नेप्सेका प्रमुख चन्द्र सिंह साउद, नेपाल उद्योग बाणिज्य संघ जस्तो निजि क्षेत्रको गरिमा बोकेको संस्थाका वरिष्ट उपाध्यक्ष चन्द्र ढकाल लगायतलाई अहिलेको घटनामा कारबाही गर्न नसके अर्थमन्त्री शर्माले राजिनामा दिए हुन्छ।    

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved