पुँजीबजारको अबको बाटो र धितोपत्र दलालको भूमिका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2023 | 04:15:02 PM मा प्रकाशित

laxmi  sunrise bank

धर्मराज सापकोटा

समृद्धिको मापन गर्ने तरिका फरकफरक हुन सक्छन् । अधिकांशले समृद्धि भन्नाले आर्थिकरूपमा सम्पन्न भन्ने बुझ्ने गर्छन् । तर आर्थिक रूपमा बलियो हुँदैमा समृद्धि नहुन पनि सक्छ । समृद्धिका लागि आर्थिक पाटो सबैभन्दा महत्वपूर्ण र अपरिहार्य नै हो । तर समृद्धि मापनमा सन्तुष्टिलाई बिर्सनुहुँदैन । समृद्धिलाई मापन गर्नका लागि सन्तुष्टि एक प्रमुख आधार अवश्य नै हो ।

सन्तुष्टि आम–नेपालीको स्वभाव नै हो । सन्तुष्टि हुनुपर्ने मानक पुरा नभएको अवस्थामा पनि नेपालीहरू सन्तुष्ट देखिन्छन् । सन्तुष्टि हुनु र खुसी हुनु नेपालीको ‘जिन’ मै छ । यो विश्वका विभिन्न देशहरू माझ गरिएका अध्ययनहरूले पनि देखाएका छन् । तर समृद्धिको सूचकहरू हेर्दा नेपाल समृद्धिको यात्रामा धेरै पछाडि नै छ । आर्थिकरूपमा सबल भएपछि समृद्धि आउँछ र त्यसले सन्तुष्टि ल्याउँछ भन्ने बुझाई पनि छ, तर आर्थिकरूपमा बलियो हुँदै समृद्धि र सन्तुष्टि हुन्छ भन्ने ग्यारेन्टी भने हुँदैन जस्तो लाग्छ ।

पुँजीबजार र समृद्धि

विश्वभर नै पूँजीबजारलाई अर्थतन्त्रको ऐनाको रूपमा लिइन्छ । विकसित देशहरूमा पूँजीबजारको सूचकले नै सो देशको अर्थतन्त्रको अवस्थाको झलक दिन्छ । तर अन्तर्राष्ट्रिय बजारसँग तुलना गर्ने हो भने नेपालको पूँजीबजार बामे पनि सरिरहेको छैन । हाम्रो पूँजीबजारले हाम्रो अर्थतन्त्रलाई प्रतिबिम्बित गर्न सकेको छैन । हाम्रो इतिहास धेरै लामो नभएता पनि व्यतित भएको अवधिमा पनि हाम्रो पूँजीबजारको वृद्धि अपेक्षा अनुरुप छैन । विसं १९९४ मा विराटनगर जुट मिल र नेपाल बैंकको प्राथमिक शेयर जारी गरेर हाम्रो प्राथमिक बजार सुरु भएको थियो । तर हाम्रो दोस्रो बजार सुरु हुन धेरै वर्ष लाग्यो । नेपाल धितोपत्र बोर्डको स्थापना २०५० सालमा भयो । बोर्डको स्थापना भएको ३० वर्ष भइसक्दा पनि हाम्रो पूँजीबजारमा नयाँ औजारहरू प्रयोगमा ल्याउन सकिएको छैन ।

अब ढिलो भएको कारणले हामीलाई एउटा फाइदा छ । हामीले विश्वका अन्य पूँजीबजारले प्रयोग तथा परीक्षण गरेर योग्य तथा उपयुक्त प्रमाणित गरेका औजारहरूलाई नेपालमा भित्र्याएर नेपालको माटो सुहाउदो बनाएर तुरुन्तै कार्यान्वयनमा लैजाने सुनौलो अवसर छ । अन्य देशहरूले धेरै वर्ष लगाएर अध्ययन, अनुसन्धान र विकास गरेका मोडलहरूलाई हामीले छोटो समयमा नै हाम्रो बजारमा भित्र्याउन सक्छौँ । तर ढिलो सुरु गर्दाको फाइदा हामीले उठाउन सकेका छैनौँ । प्राकृतिक रूपमा हुनुपर्ने विकास पनि भइरहेको छैन । नेपालको समृद्धिमा पूँजीबजारको योगदान महत्वपूर्ण हुन्छ तर अहिलेको अवस्थामा भने धेरै योगदान पुर्याउन सकिरहेको छैन ।

अबको बाटो र धितोपत्र दलालको भूमिका

अब नेपाल सरकार, संसद, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, ब्रोकर, मर्चेन्ट बैंकर्स, आम–लगानीकर्तालगायत सबै सरोकारवालाले पूँजीबजारको विकासमा आफ्नो पनि र देशको पनि भविष्य छ भन्ने ध्यानमा राखेर योगदान गर्नुपर्छ । ढिलो सुरुवात गरेको अवसर हामीले सदुपयोग गर्न सक्नुपर्छ । नेपाल धितोपत्र बोर्डको स्थापनापछि नेपालको पूँजीबजारको इतिहासमा धितोपत्र दलालले २०५० सालबाट धितोपत्र खरिद बिक्री र राफसाफको सेवा दिन थालेका हुन् ।

नियामकले तोकेको परिधिभित्र रहेर धितोपत्र खरिद–बिक्री र त्यसको राफसाफ मात्रै गर्दै आएका छन् । अहिलेसम्म दलाल व्यवसायीले यही काम मात्रै गर्दै आएका छन् । धितोपत्र दलाल व्यवसायीलाई दोस्रो बजारमा कारोबार गर्नका लागि सबैभन्दा अपरिहार्य ‘प्रोडक्ट’ हामीले अहिलेसम्म पाएका छैनौँ। दोस्रो बजार सञ्चालन सँगसँगै ‘सेटलमेन्ट ग्यारेन्टी फण्ड’ र ‘अक्सन मार्केट’ पनि आउनु पर्थ्यो । तर ३० वर्ष भयो, हामीले त्यो पाएका छैनौँ ।

यो नहुँदा पनि धितोपत्र दलाल व्यवसायीहरूले दैनिक २२ अर्बसम्मको शेयर कारोबार र त्यसको राफसाफ सफलतापूर्वक सम्पन्न गरेका छौँ । आजसम्म फण्ड व्यवस्थापन गर्न नसकेर राफसाफ रोकिएको भन्ने कहिँकतै छैन। राफसाफ कोष नभएको अवस्था, २५ प्रतिशत मात्र अग्रिम रकम लिएर उधारो काम गर्नुपर्ने बाध्यता र उधारो उठाउने नीतिगत व्यवस्थासमेत नभएको जोखिमपूर्ण अवस्थामा हामीले सफलतापूवक २२ अर्बसम्मको कारोबार र राफसाफ गरेर गर्विलो इतिहास हामीले रचेका छौँ। जबकी हाम्रो अहिलेको प्रणाली १ रुपैयाँ पनि कम हुँदा सम्पूर्ण राफसाफ प्रक्रिया रोकिने अवस्था छ ।

पूँजीबजारमा हुने ‘मार्जिन लेन्डिङ’ शेयर दलालमार्फत हुने विश्वव्यापी अभ्यास छ, तर हाम्रोमा त्यो काम बैंकले गरिरहेको छ । स्रोतको सुनिश्चितता गरेर ‘इक्विटी बेस्ड’मा नभइ ‘फण्ड बेस्ड’मा ‘मार्जिन लेन्डिङ’ हुने व्यवस्था गरिनुपर्छ । ‘मार्जिन ट्रेडिङ’ कार्यान्वयनमा आउनका लागि रिकभरीको मोडालिटी चाहिन्छ ।

बैंकले ऋण दिँदा धितो राखेको हुन्छ तर पनि रिकभरी हुन कठिन भइरहेको छ । शेयरको ‘मार्जिन लेन्डिङ’ गर्दा रिकभरी कसरी गर्ने भन्ने नीति चाहिन्छ । ‘मार्जिन ट्रेडिङ’ हुँदा लगानीकर्ताले अर्डर हाल्दा नै आफ्नो अर्डर ‘मार्जिन ट्रेडिङ’ वा ‘क्यास’मा आधारित कुन प्रकृतिको हो छुट्याउने व्यवस्था हुनुपर्छ । त्यस्तै ‘इक्विटी बेस्ड’मा हुने ‘लेन्डिङ’लाई ‘फण्ड बेस्ड’मा गर्नैपर्छ । ‘इक्विटी बेस्ड’को लेन्डिङ हुँदा २२ अर्बको कारोबार भएको थियो । ‘फण्ड बेस्ड’ लेन्डिङ हुँदा १ खर्बको कारोबार हुन सक्छ । हाम्रो नियामकले यी विषय नबुझेको जस्तो भान हुन्छ ।

अब नेपाली बजारमा ‘इन्ट्रा डे’, ‘सर्ट सेलिङ’, ‘अक्सन मार्केट’ जस्ता औजारहरू बजारमा तुरुन्त चाहिन्छ । ‘इन्ट्रा डे’ ट्रेडिङ र ‘सर्ट सेलिङ’ कार्यान्वयनमा आउने हो भने कारोबार रकम गुणात्मक रूपमा बढेर दैनिक २ खर्बसम्म कारोबार हुन सक्छ । ‘सेक्युरिटिज बरोइङ र लेन्डिङ’ नहुँदा लाखौँ लगानीकर्ताहरू ‘क्लोज आउट’ मा परेर जरिवाना तिरिरहेका छन्, त्यसको समाधानका लागि ‘सेक्युरिटिज बरोइङ र लेन्डिङ’को नीति अत्यावश्यक हो । यसो हुँदा ‘क्लोज आउट’को समस्या ०.००१ प्रतिशतमा झर्छ ।

विश्वव्यापी अभ्यास हेर्दा पूँजीबजारमा कारोबार दुई तरिकाबाट हुन्छ । एउटा ‘डेलिभरी’ अर्को ‘लेन्डिङ’ । तर ३० वर्षसम्म हामीले ‘डेलिभरी’ प्रकृतिको कारोबार मात्र गरिरहेका छौँ । राफसाफमा पनि धेरै अन्तर्राष्ट्रिय अभ्यासहरू छन् । तर हामी ‘क्यास टु क्यास’ कारोबार र ‘ट्रेड टु ट्रेड’ राफसाफ गरिरहेका छौँ । अब हामीले यसबाट माथि उठेर ‘लेन्डिङ’ कारोबार र शेयरको पनि ‘नेट सेटलमेन्ट’मा जानैपर्छ । यो कठिन विषय हुँदैहोइन । विश्वका धेरै बजारले गरिरहेका छन्, हामीले ल्याएर त्यसलाई हाम्रो बजार सुहाउँदो बनाएर ‘एडप्ट’ गर्ने मात्र हो ।

यस्ता नयाँ औजार आउने हो भने बजारमा दैनिक ५० अर्बको कारोबार हुनसक्छ । यसले नेपाल सरकारको राजस्व बढ्छ, नियामकको आम्दानी पनि बढ्छ, लगानीकर्तालाई पनि लाभ हुन्छ । यसरी नै हाम्रो पूँजीबजारको विकास हुन्छ ।

यति हुँदैगर्दा हामीले पूँजीबजार जोखिमको क्षेत्र हो भने सबै बुझ्नुपर्छ । पूँजीबजारको दोस्रो बजार व्यापार को भन्ने बुझ्नु र बुझाउनुपर्छ । दोस्रो बजारमा गरिने लगानी ‘इन्भेस्टिङ’ र ‘ट्रेडिङ’को लागि मात्र हो भन्ने बुझ्नुपर्छ । ‘इन्भेस्टिङ’ गरे पनि व्यापार नै हो र पुँजीबजारमा मात्र नभइ व्यापार गर्न जाने भनेको त्यो विषयमा बुझेको मान्छेले मात्र हो । बुझेको मान्छेले व्यापारमा नाफा कमाउन सक्छ, नबुझी अरुको देखासिकीमा व्यापारमा छिरेको मान्छेले घाटा बेहोर्छ नै । त्यही भएर हामीले पूँजीबजार बारे जनचेतना बढाउनुपर्छ । सबै कारोकारवालाले यसबारे जनमानसमा बुझाउनुपर्छ । हामीले लगानीकर्तामा सचेतना बढाउनुपर्छ ।

बजार जोखिमको क्षेत्र हो भने बुझाएर मात्र नयाँ प्रोडक्टहरू ल्याउनुपर्छ । तर नबुझेको व्यक्तिलाई देखाएर नयाँ प्रोडक्ट ल्याउनलाई अवरोध भयो भने हाम्रो पूँजीबजारले कहिल्यै पनि फड्को मार्न सक्दैन, कहिल्यै पनि विकास हुँदैन । सोही कारण हामीले लगानीकर्ता सचेतनासँगै दायरा बढाउन सक्नुपर्छ । हामीले प्रोडक्टहरू ल्याउँदा पहिला कार्यान्वयनमा ल्याउने र त्यसपछि समयसापेक्ष त्यसमा देखिएका समस्याहरू समाधान गर्दै जानुपर्छ । ‘पर्फेक्ट प्रोडक्ट’ ल्याउने बहानामा अहिले पनि कतिपय विषय अरु नियामकको दराजमा थन्किएर बसेका छन् ।

नयाँ दलाल व्यवसायी थपिदैँ गर्दा हाम्रा आवाजहरू थप बुलन्द भएर पूँजीबजारको विकास थप तिब्र गतिमा जान सकिन्छ भन्ने अपेक्षा रहेको छ । यसले दायरा विस्तारसँगै बजारको विकास हुन्छ । नेपालको पूँजीबजारमा धेरै नयाँ प्रोडक्ट आएर पूँजीबजारमा समृद्धिसँगै देश मै समृद्धि आउनेमा हामी आशावादी नै छौँ ।

सञ्चारमाध्यम र पूँजीबजार

नेपालको मात्र नभइ दक्षिण एसिया नै नकारात्मक कुरामा बढी चासो राख्ने गरेको पाइन्छ । नकारात्मक विषय हाम्रो समाजको कल्चर नै भइसकेको छ । त्यही प्रभाव सञ्चारमाध्यममा पनि देखिन्छ । सञ्चारमाध्यमहरूले पनि नकारात्मक विषयलाई प्राथमिकता दिएको पो हो कि जस्तो देखिन्छ त्यही प्रभाव सञ्चारमाध्यममा पनि देखिन्छ । सकारात्मक कामहरू समाजमा भए पनि ति समाचार बन्न लायक नठान्ने तर नकारात्मक समाचारलाई भने धेरै नै प्राथमिकता दिएको हो कि जस्तो पनि देखिन्छ ।

गलत भइरहेको विषय उठान हुन एकदम जरुरी हुन्छ, तर आम–सञ्चारमाध्यमहरूले सकारात्मक समाचारहरू पनि प्रकाशन, प्रसारण गर्नुपर्छ । साथै सञ्चारमाध्यममा काम गर्ने पत्रकारहरूले आफ्नो विषयमा गहन अध्ययन गर्न आवश्यक छ र विषयवस्तु बुझेर लेख्नुपर्छ ।

यसबाहेक सञ्चारमाध्यमहरूले अब घटना भएपछि मात्र समाचार लेख्ने नभइ अब नीति निर्माण तहमा सकारात्मक योगदान हुने गरी कलम चलाउनुपर्छ। अहिले त्यो क्रम विस्तारै सुरु भएको छ । अब सञ्चारमाध्यमहरूले नीति निर्माणमा सघाउ पुग्ने गरी बृहत छलफल गराउने क्रमलाई प्राथमिकता दिनुपर्छ । 

धर्मराज सापकोटा स्टक ब्रोकर एशोसियसन अफ नेपालका अध्यक्ष तथा स्वर्णलक्ष्मी सेक्युरिटिज प्रा.लि (ब्रोकर नं. ३७) का सञ्चालक हुन् ।   यो लेख बिजपाटी डटकमको ८ औ वार्षिकोत्सवको अवसरमा प्रकाशित 'समृद्धिको यात्रामा सञ्चारमाध्यम' स्मारिकाबाट साभार गरिएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved