पुँजीबजार र अर्थतन्त्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2023 | 07:33:47 PM मा प्रकाशित

laxmi  sunrise bank

मुराहरि पराजुली

मूलतः आधारभूत आवश्यकता पूर्ति हुँदैमा समृद्धि भइहाल्छ भन्ने हुँदैन, समाज पनि मिलनसार हुनुपर्छ । समाजमा द्वन्दको कारण अभाव, विभेद र असमानता नै हो । केहीसँग पर्याप्त सम्पत्ति हुने र केहीसँग अभावमात्र रह्यो भने समाजमा द्वन्द सिर्जना हुन्छ । त्यसैले यो अवस्था नहुनुलाई पनि समृद्धि भन्न सकिन्छ ।

ट्राभलिङ लाइफस्टाइल डटकमकी चिफ राइटर मारिया भ्यालेन्सियाको एक अध्ययनमा स्विडेन, डेनमार्क, क्यानडा, स्वीटजर ल्याण्डजस्ता देशहरू बस्नका लागि उत्कृष्ट देश भएको उल्लेख छ । स्वास्थ्य, सार्वजनिक शिक्षा, सुरक्षाजस्ता कारणले गर्दा यी देशहरू सन् २०२३ मा बस्नलाई उत्कृष्ट देशमा परेको उल्लेख छ ।

यसले जहाँ आर्थिक असमानता कम छ, त्यहाँ द्वन्द कम हुन्छ भन्ने कुरा देखाउँछ । किनकि यस्ता देशहरूमा हुनेसँग पर्याप्त धन भएपनि नहुनेलाई जीवन जीउन अभाव पनि हुँदैन । सक्दा आफै गर्ने र नसक्दाको अवस्थामा राज्यको उपस्थिति हुने हुँदा यस्ता विकसित देशहरूमा अभाव र असमानता महसुस गर्नुपर्दैन । जसकारण त्यहाँको समाज मिलनसार समाजमा पर्छ । यसले के बुझन् सकिन्छ भने समृद्धि हुनलाई आम्दानी राम्रो हुनुप¥यो । गुणस्तरीय शिक्षा, स्वास्थ्य हुनुप¥यो र समाज मिलनसार हुनुप¥यो ।

अहिले म नेपाल स्टक एक्सचेन्जमा आबद्ध भएकै कारणले मात्र नभई सर्वसाधारणको रूपमा भन्नुपर्दा पनि आधुनिक अर्थतन्त्रमा पुँजी बजार समृद्ध नेपालको एउटा अभिन्न अङ्ग हो । पुँजी बजारबिना विकसित र आधुनिक अर्थतन्त्रको कल्पना पनि गर्न सकिँदैन ।

हामीले नेपाललाई कृषिप्रधान देश भनिरहँदा विश्व समाज यो युगमात्र नभई औद्योगिक युगबाट पनि धेरै अगाडि पुगिसकेको छ । अहिले हामी फाइनान्स र आइटीको युगमा छौँ । आधारभूत रूपमा बुझ्ने हो भने पुँजी बजारले पुँजी अधिक भएको क्षेत्रबाट पुँजी अभाव भएको क्षेत्रमा पुँजी परिचालन गर्छ ।

अझ सामान्य भाषामा भन्नुपर्दा छरिएर रहेको पैसालाई एक ठाउँमा जम्मा गरेर लगानीका रूपमा परिचालन गर्ने, गराउने क्षेत्र हो पुँजी बजार । समाज त्यतिबेला समृद्ध हुन्छ, जतिबेला मानवीय न्यूनतम आवश्यकता वस्तु तथा सेवा पर्याप्त हुन्छ । वस्तु तथा सेवाको पर्याप्तता हुनलाई समाजमा प्रशस्तरूपमा उद्योग, व्यवसाय हुनुपर्छ । जहाँबाट व्यक्तिलाई रोजगारीको अवसर प्रशस्त हुन्छ र राज्यलाई पनि राजश्वको स्रोत जुट्छ । यी सबै कुरा पूरा हुनलाई पर्याप्त पुँजीको आवश्यकता हुन्छ । र, पुँजी पर्याप्त तब हुन्छ, जब सही अर्थमा पुँजी बजार चलायमान हुन्छ ।

पुँजी बजार विकासका चारवटा चरण हुने गर्दछन् । पहिलो यो पनि लगानीको क्षेत्र हो भनेर पुँजी बजारलाई लगानीको क्षेत्रको रूपमा पहिचान गरिन्छ । हामी अहिले त्यो चरण पार गरिसकेका छौँ ।

स्टक एक्सचेञ्जको स्थापना भएको मितिलाई आधार मान्ने हो भने २०३३ सालमा हामीले पुँजी बजार लगानीको क्षेत्र हो भनेर स्वीकारेको मान्न सकिन्छ । संसारकै पुरानो मुलुकको रूपमा चिनिने नेपालमा पुँजी बजार पहिचान गरेको अस्तिमात्र हो । जबकि हाम्रा छिमेकी देशमा पुँजी बजारको अवधारणा आएको ४०० वर्ष भइसक्यो । विश्व बजारमा त झन् यसको इतिहास निकै पुरानो भइसकेको छ । इष्ट इन्डिया कम्पनीले पुँजी सङ्कलनका लागि सर्वसाधारणलाई सन् १६११ मा सेयर बिक्री गरेको घटनालाई नै शेयर बजार स्थापनाको मितिका रूपमा याद गरिन्छ ।

हामी अहिले दोस्रो चरणमा छौँ । जहाँ लगानीको क्षेत्र पहिचान गरेर यसको स्वीकार्यता हुन्छ, तब हामी त्यसलाई दोस्रो चरणमा गएको भन्न सक्छौँ । नेपाली समाजले पुँजी बजार चाहिने रहेछ भनेर अहिले स्वीकार गरेको अवस्था हो । त्यसैले हामी नेपालको पुँजी बजारलाई दोस्रो चरणमा आइपुगेको भनेर भन्नसक्छौँ ।

पुँजी बजार समग्र अर्थतन्त्रसँग सँगसँगै अगाडि बढ्न सकेको अर्थात् अर्थतन्त्र र पुँजी बजार एकाकार हुनसकेको अवस्थालाई तेस्रो चरण मान्न सकिन्छ । तर, दुखको कुरा, हाम्रो पुँजी बजारको अवस्था यस्तो छैन । नेपालको शेयरबजारमा सूचीकृत कम्पनीहरूले पनि नेपालको अर्थतन्त्रलाई प्रतिबिम्बित गर्न नसकेको पाइन्छ । नेपालको अर्थतन्त्र कृषि र पर्यटनमा निर्भर छ भनिएपनि पुँजी बजारमा कृषि र पर्यटन क्षेत्रसँग सम्बन्धित कम्पनीको उपस्थिति शुन्य अवस्थामा रहेको छ । संख्यात्मक हिसाबले अहिले पनि ६० प्रतिशत सूचीकृत कम्पनी बैंक तथा वित्तीय संस्थामात्रै रहेका छन् ।

जीडीपीमा २५ प्रतिशत योगदान पु¥याउने कृषि क्षेत्रको नेपालको पुँज बजारमा उपस्थिति शुन्य छ भने जीडीपीमा जम्मा ६ प्रतिशतको हिस्सा ओगट्ने नेपालको बैंक, वित्तसँग सम्बन्धित कम्पनीको हिस्सा पुँजी बजारमा ८० प्रतिशत बढी छ । यसले पनि नेपालको पुँजी बजार नेपाली अर्थतन्त्रको ऐना बन्न नसकेको तथ्य प्रस्तुत गर्छ । चौथो चरण भनेको पुँजी बजारको अन्तर्राष्ट्रियकरण हो । हाम्रो बजार पनि हङकङ, सिङ्गापुर, न्युयोर्कजस्तै अवस्थामा पुग्नु भनेको पुँजी बजार चौथो चरणमा पुग्नु हो । तर, हामी अहिले बल्ल दोस्रो चरणमा छौँ ।

विश्वकै पुरानो मुलुक भएर पनि हामी यो दुरावस्थामा हुनुको कारण हाम्रो नीति निर्माण तहमा दूरदृष्टि नहुनु हो । विश्वका देशहरूले ६०० वर्षअघि पुँजी बजारको विकास गर्दा हामीले २०३३ साल अर्थात् ४८ वर्ष अघिमात्र यो सोचको विकास ग¥यौँ ।

समयभन्दा ढिला हुनुमात्र हाम्रो दुरावस्थाको कारण होइन । ढिलोगरी बनाएका नीति, नियमको प्रभावकारी कार्यन्वयन गराउन खडा गरिएका नियामकहरूले इमान्दारितापूर्वक काम नगर्नु पनि हो । अन्यथा अर्थ लाग्ला, नियम अनुसार संस्था चले, नचलेको अनुगमन गरेर संस्थाको व्यवहार अनुसारको कारबाही गर्नका लागि नियामक जन्माईए पनि त्यसलाई चलाउने योग्य मान्छेको अभाव छ । जसले गर्दा नियमनमा स्थिरता तथा एकरुपता देखिँदैन । स्थिरता भएन भने सूचीकृत कम्पनीहरू पनि अस्थिर हुन्छन् र पुँजी बजारमा आउन हिच्किचाउँछन् ।

कुनैपनि क्षेत्रको विकास र परिचालनका लागि चाहिने औजारका बारेमा अध्ययन र अनुसन्धानको कमी हुनु हाम्रो दोस्रो समस्या हो । रहरको भरमा हामीले संस्था निर्माण गर्ने तर यसलाई परिचालन गर्नलाई आवश्यक औजार नबनाउने हाम्रो दुःखद यथार्थ हो । २०३३ सालमा स्टक एक्सचेञ्जको स्थापना भएपनि यो ४८ वर्षमा हामीसँग सूचीकृत कम्पनीको शेयर, म्युचुअल फण्डका इकाई र केही ऋणपत्रको कारोबारमात्रै उपलब्ध छन् । यी तीनवटै शेयर कारोबार हो । अर्थात् हामीसँग अहिले पनि शेयर खरिद र बिक्री गर्नेबाहेक अरु कुनै औजार नै उपलब्ध छैनन् । जबकि छिमेकी देशको पुँजी बजारमा हातको औँलामा गन्न नसक्ने औजारहरू उपलब्ध छन् ।

उपभोक्तामा परिपक्वता र चेतनाको अभाव हाम्रो पुँजी बजारको अर्को समस्या हो । केही समय अघिसम्म हाम्रो पुँजी बजार काठमाडौँको रिङररोडमा मात्रै सिमित थिए । अनलाईन प्रणाली भित्र्याएपछि बल्ल यसको दायरा फराकिलो भएको हो, जुन अहिले पनि पर्याप्त छैन । पुँजी बजारको दिगो विकासका लागि दायराको बिस्तारसँगै सहभागिताको संख््यामा पनि बढोत्तरी हुनुपर्छ ।

प्रविधिधिको प्रयोगमा उदासीनता हाम्रो पुँजी बजारका लागि अर्को गम्भीर समस्या हो । अन्तर्राष्ट्रिय पुँजी बजारमा अनलाईन प्रविधिको प्रयोग सन् १९८० मै भएको पाइन्छ । तर, हाम्रोमा अहिले पनि प्रविधिको प्रयोग सुरुवाती चरणमै छ । नेपालको पुँजी बजारमा अनलाईन प्रविधिको प्रयोग २०७५ सालमा मात्रै भएको हो । हाम्रो अवस्था यतिसम्म छ कि अझै पनि रियल टाइममा भुक्तानी र प्राप्ति हुनसकेको छैन भने अन्य कैयौँ अवसरहरूबाट धेरै पछाडि छौँ ।

यी सबै कुरालाई एक ठाउँमा राखेर हेर्दा परिपक्व पुँजी बजार हुनलाई स्थिर नीति, नियम, प्रभावकारी नियमन गर्नसक्ने नियामक, कारोबारका लागि प्रशस्त औजार, सचेत र प्रविधिमैत्री शेयर लगानीकर्ताको आवश्यकता पर्दछ । यही आवश्यकता पूर्ति गर्ने ठाउँमा हुने व्यक्ति र संस्थाहरू नै यसका जिम्मेवार हुन् ।

सुरुमा धितोपत्र सम्बन्धी ऐन, नियमावली र विनियमावलीबाट धेरै वर्ष पुँजी बजार चलाएका थियौँ । अहिले आएर हामीले धेरै ऐन, नियमावली र विनियमावली बनाएका छौँ । भइरहेका नियम, कानुन पनि परिमार्जन भएका छन् । यसले पुँजी बजारको समय सान्दर्भिक विकासको लागि पनि ऐन, कानुन अति आवश्यक हुनेरहेछन् भन्ने देखायो ।

संस्थागतरूपमा पनि सुरुमा सेक्युरिटी खरिद बिक्री केन्द्र थियो, जुन नेपाल स्टक एक्सचेञ्जको पूर्वरुप पनि हो । अहिले विषयवस्तुसँग सम्बन्धित विशिष्टीकृतरूपमा नेपाल धितोपत्र बोर्ड, सिडीएससी, मर्चेन्ट बैंक, ब्रोकर, स्टक डिलर, रेटिङ एजेन्सी, इन्भेष्टमेन्ट कम्पनीजस्ता कैयौँ संस्थाहरूको जन्म भयो । यसले पुँजी बजार बिस्तारै बलियो र परिपक्व हुँदैछ भन्ने देखाउँछ ।

सूचनाबाट हस्तक्षेप हुने क्षेत्र पुँजी बजार 

सार्वजनिक जीवनमा सूचनाबाट सबैभन्दा बढी हस्तक्षेप हुनेक्षेत्र पुँजी बजार हो भन्ने लाग्छ । पुँजी बजारलाई कुन दिशामा लैजाने भन्ने कुरा सूचनाले नै निर्धारण गर्नेमा कुनै दुईमत छैन । सूचना दिने धेरै माध्यम छन् हामीसँग । कसैले केहीँ बोलेको, लेखेको कुराहरू अरु माध्यम अर्थात् उसकै एकाउन्टबाट आउँदा जस्ताको त्यस्तै आउँछ । तर, त्यही कुरालाई सञ्चारमाध्यमले पस्किँदा अर्थको अनर्थ वा अर्को अर्थ लाग्ने गरी आउन पनि सक्छ । यस्ता सूचनाले शेयर बजारमा प्रत्यक्ष प्रभाव पार्छ । यसको ज्वलन्त उदाहरण भनेको कुनै बेला प्रधानमन्त्रीसमेत भइसकेका व्यक्तिले पुँजी बजारलाई जुवाघर भने भनेर समाचार आएपछि त्यसको प्रभावले बजार इतिहासकै कमजोर अवस्थामा आइपुग्यो र लाखौँ लगानीकर्ताले करोडौँ रुपैयाँ गुमाउन बाध्य भए । एउटा राजनीतिक दलको जिम्मेवार व्यक्तिलाई देखाएर लेखिएको समाचारले कति अर्थ राख्छ भनेर बुझ्न योभन्दा उत्कृष्ट उदाहरण अर्को कुनै हुनैसक्दैन ।

भूकम्पका बेलापनि हाम्रा सञ्चारमाध्यममा भूकम्पले नेपालका लिस्टेड कम्पनी तहसनहस भए भनेर लेखे । त्यसले बजारलाई प्रत्यक्ष प्रभाव पा¥यो । एउटा सानो सूचनाले शेयर बजारमा कति ठूलो असर गर्छ भन्ने यो अर्को उदाहरण हो । त्यसैले पुँजी बजारका लागि सञ्चारमाध्यमक भूमिका धेरै संवेदनशील हुन्छ भन्ने मलाई लाग्छ ।

नेपालका सञ्चारमाध्यमले दिने समाचारको स्तर हेर्दा पहिलेभन्दा अहिले धेरै सुधारिएको अवस्था हो । त्यसमाथि पनि सञ्चारमाध्यम विधागत रूपमा आउन थालेपछि पुँजी बजारले धेरै स्थान पाएको अवस्था हो । तर, पछिल्लो समयको पत्रकारितालाई हेर्दा अब सञ्चारमाध्यमले दिने समाचारले सूचनाको स्तरमात्रै नभई स्वयम् सञ्चारमाध्यमको पनि स्तरको मापन गर्दछ र गरिरहेको छ ।

जुन सञ्चारमाध्यमले तथ्यपरक र सत्य सूचना दिन्छ, उक्त मिडियाको पनि विश्वसनीयता बढ्दै जान्छ । त्यसैले सञ्चारमाध्यमले आफूले कस्तो सूचना दिएको छु भन्ने कुराको हेक्का राख्नु अति आवश्यक छ । आफ्नै विश्वसनीयताका लागिपनि मिडिया हाउसले सचेत भएर सूचना दिनुपर्ने अवस्था आएको छ । मिडियाबीचमा पनि प्रतिस्पर्धा हुन्छ । उद्देश्य नै अल्पकालीन लाभका लागि हो भने त्यही अनुसारको सूचना आउने गर्दछ तर जुन मिडियाले आफूलाई लामो रेसको घोडा सोचेको छ उसले तथ्यपरक सत्य सूचना दिन मेहनत गरिरहेको छ ।

बिजपाटीले सत्य समाचार दिनलाई सम्बन्धमा सम्झौता गर्दैन

आर्थिक पत्रकारिता पनि पुँजी बजार र नेपाली समाजसँगै अगाडि बढिरहेको देखिन्छ । पहिले, राजनीतिक मुद्दामा समाज केन्द्रित हुँदा मिडियाहरू त्यतै बढी झुकाव राख्थे र आर्थिक समाचारका लागि थोरै ठाउँ दिन्थे । अहिले राजनीतिकभन्दा आर्थिक मुद्दामा समाज केन्द्रित भएकाले नेपालको पत्रकारिता पनि आर्थिक क्षेत्रमा केन्द्रित देखिन्छन् । पछिल्लो समय आर्थिक पत्रकारिताको विकास पनि यसकै नतिजा हो । आर्थिक पत्रकारिताको पाठक पनि बजारमा भएकाले अब आर्थिक पत्रकारिताको विकास भएको छ । तर, अब आर्थिक पत्रकारिता र आर्थिक मिडियाहरूबीच पनि प्रतिस्पर्धा रहेकाले सही र तथ्यपरक समाचारका लागि प्रतिस्पर्धा भएको देखिन्छ । समग्रमा आर्थिक पत्रकारिताको विकास भनेकै पुँजी बजारको विकास हो ।

नेपालका सञ्चारमाध्यमले र पत्रकारले पत्रकारिताको धर्ममात्रै पूरा गरिदिए भनेपनि आर्थिक पत्रकारिताको विकास हुन्छ । म नेप्सेमा रहेर काम गरिरहँदा विशेषगरी आर्थिक मिडियाहरूलाई चासोका साथ हेर्ने गरेको छु ।

तुलना नै गरेर भन्नुपर्दा बिजपाटी डटकमले दिने सूचना तथ्यपरक र सन्तुलित पाएको छु । बिजपाटी मिडियाले अहिलेसम्म कालोलाई कालो र सेतोलाई सेतो लेख्दै आएको छ । नेप्से संस्था र यहाँका व्यक्तिहरूसँग व्यक्तिगत रूपमा घनिष्ट सम्बन्ध हुँदाहुँदै पनि नेप्सेको बारेमा पनि तथ्यमा रहेर आलोचनात्मक समाचार लेखेको पाउँछु । यसले सम्बन्ध र समाचारको सन्तुलनलाई बिजपाटीले कसरी मिलाएर अघि बढेको छ र सत्य समाचार दिनलाई सम्बन्धमा सम्झौता गर्दैन भन्ने देखाउँछ । अहिलेको यो प्रवृतिलाई पछ्याएर आफ्नो पत्रकारिताको कर्मलाई यसरी नै निरन्तरता दिओस भन्ने शुभकामना छ ।

मुराहरी पराजुली नेपाल स्टक एक्सचेन्जका सहायक प्रबन्धक हुन् । उनीसँग पत्रकारिताको लामो अनुभव छ । पत्रकारिता पेशाबाट नेप्सेको कर्ममा पुगेका पराजुली पुँजी बजारको क्षेत्रका जानकार व्यक्ति पनि हुन् । यस क्षेत्रसँग सम्बन्धित नीति, निर्माणमा उनको प्रत्यक्ष योगदान रहँदै आएको छ । यो लेख बिजपाटी डटकमको ८ औ वार्षिकोत्सवको अवसरमा प्रकाशित 'समृद्धिको यात्रामा सञ्चारमाध्यम' स्मारिकाबाट साभार गरिएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved