अर्थमन्त्रीले व्यवसायीलाई भने, ‘देशमै गाडी उत्पादन गर्नोस्, जग्गा र बिजुली दिने ग्यारेन्टी मेरो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2021 | 03:39:05 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्माले गाडीको आयात घटाउँदै नेपालमै एसेम्बलका लागि अग्रसर हुन व्यवसायीलाई आग्रह गरेका छन् । उनले आयातलाई पूर्ण रुपमा प्रतिबन्ध लगाउन असम्भव रहेको भन्दै नेपालमै एसेम्बल गर्नेतर्फ अगाडी बढ्न अर्थमन्त्रीले आग्रह गरेका हुन् । 

उनले अटोमोबाइल्स क्षेत्रबाट भन्सार तथा राजश्व संकलनमा योगदान पुगिरहेको भएपनि अब भन्सारमा आधारित मात्रै नभई उत्पादनमा आधारित अर्थतन्त्र निर्माणमा लाग्नुपर्ने बताए ।

‘अटोमोबाइल्स क्षेत्रबाट भन्सारमा २५ प्रतिशत योगदान पुगेको छ, तर म यो योगदान घटोस् भन्ने चाहन्छु’ अर्थमन्त्री शर्माले भने, ‘भन्सारबाट हुने २५ प्रतिशत योगदानलाई घटाएर अर्कोतिरबाट ५० प्रतिशत योगदान हुने व्यवस्थाका लागि लाग्न म आग्रह गर्दछु । नेपालमै गाडी उत्पादनका लागि जग्गा र बिजुली दिने ग्यारेन्टी सरकारले गर्छ, क्रमशः आयात हटाउँदै लैजानुपर्ने छ । यो मेरो प्रस्ताव मात्रै हो, निर्णय भईहाल्ने भन्ने होइन, निर्णय नै भएछ कि भनेर अर्थ मन्त्रालय घेर्न आईहाल्नु पर्दैन ।’ 

उनले नीतिगत अस्थिरता हुन्छ कि भनेर त्रसित नहुने पनि आग्रह गरे । अर्थमन्त्री फेरिनासाथ आर्थिक नीतिहरु फेरिन्छन् भन्ने कुरामा आफू सहमत नरहेको पनि अर्थमन्त्री शर्माले दाबी गरे । 

‘आजभन्दा पहिलाका अर्थमन्त्रीबाट कुनै पनि राम्रा नीतिहरु फेरिएका छैनन् भन्ने मेरो दाबी छ’ उनले थपे, ‘मैले पनि यसअघिका राम्रा नीतिहरु फेर्ने कुरा रहँदैन, त्यसकारण नीतिगत अस्थिरता हुन्छ कि भनेर त्रसित हुनु पर्दैन ।’



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved