६ महिनामा शतप्रतिशत पूँजीगत खर्च गरिसक्न मन्त्रालयहरुलाई अर्थमन्त्रीको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2022 | 02:26:04 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८/०७९ को बाँकी ६ महिनामा शतप्रतिशत पूँजीगत खर्च गरिसक्न मन्त्रालयहरुलाई आग्रह गरेका छन् । 

मंगलबार मन्त्रालयमा आर्थिक वर्ष २०७८/०७९ को हालसम्मको खर्चको समीक्षा बैठकमा उनले सचिवहरूलाई यस्तो आग्रह गरेका हुन् । उनले आवश्यक परे मध्यरातमा पनि आफू सहयोग गर्न तयार रहेको बताउँदै जसरी पनि खर्च गर्न आग्रह गरेका हुन् । 

‘आर्थिक वर्षको ६ महिना बितिसक्यो, बाँकी ६ महिनामा शतप्रतिशत बजेट खर्च गर्नुपर्छ’, उनले भने, ‘त्यसको लागि म रातको १२ बजे पनि तपाईँहरूलाई सहयोग गर्न तयार छु ।’

मन्त्री शर्माले बजेट खर्च गर्ने अन्य उपायहरू खोज्न अनुरोध गर्दै जसरी पनि खर्च बढाउन आग्रह गरेका छन् । ठूला योजनाहरूमा स्थानीय तह र स्थानीय जनतालाई समेत सहभागी गराएर अगाडि बढाउनुपर्नेमा जोड दिँदै मन्त्री शर्माले ठूला योजनाहरूमा अपनत्वका लागि उनीहरूलाई सहभागी गराएर मात्र छिटो काम गर्न सकिने बताए ।

अर्थमन्त्री शर्माले फाइल हरेक मन्त्रालयमा बोकेर हिँड्दा ढिला हुने भन्दै अब डिजिटल माध्यममा लैजानुपर्ने बताए ।

‘फाइल बोकेर विभाग, मन्त्रालय धाउँदा दुई÷चार दिन जान्छ । यहाँ पनि समय गइरहेको छ’, उनले भने, ‘यसलाई डिजिटल माध्यममा लैजानुप¥यो । डिजिटलमै अनुरोध गर्ने र स्वीकृति गर्ने हुनुप¥यो । टिप्पणी उठाएर राख्ने काम आफ्नो ठाउँमा गर्नुपर्छ ।’

पछिल्लो समय पुँजीगत खर्च बढाउन अर्थ मन्त्रालयले अन्य मन्त्रालयलाई ताकेता गर्दै आएको छ । यसैबीच सोमबारसम्मको तथ्याङ्कअनुसार पुँजीगत खर्च ९.३९, चालु खर्च ३८.९ र वित्तीय खर्च २५.४१ प्रतिशत खर्च भएको छ । समग्रमा हालसम्म २९.११ प्रतिशत बजेट खर्च भएको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved