सतप्रतिशत क्यास मार्जिनको असरः चैत्र मसान्तमा बुझाउनुपर्ने कर तिर्नै नसक्ने अवस्थामा व्यवसायी

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 18, 2022 | 12:41:21 PM मा प्रकाशित

laxmi  sunrise bank

पौषको पहिलो हप्ता र माघ अन्तिम हप्तामा गरी २ पटक राष्ट्र बैंकले बस्तु आयातमा १०० प्रतिशत नगद मार्जिन राख्नुपर्ने बाध्यता बनाईदिएपछि व्यवसायी थिलथिलो हुने गरी प्रभावित भएका छन् । एकातिर गलत बाटोबाट सामान आउँदा सरकारले राजस्व गुमाईरहेको छ भने अर्कोतिर व्यवसायीको पूरानो उधारो बजारबाट उठ्न सकेको छैन ।

नयाँ बस्तु ल्याउन नसकिएको र पूरानो उधारोको पैसासमेत उठ्न नसकेको नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका उपाध्यक्ष दुर्गाराज श्रेष्ठ बताउँछन् । 

शत् प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेपछि व्यवसायीले पैसा राख्न नसक्दा अनाधिकृत च्यानलबाट कस्मेटिकसहित अन्य सामान आयात भईरहेको उनको भनाई छ । नेपाल वितरक संघका निवर्तमान अध्यक्षसमेत रहेका श्रेष्ठले स्याम्पो लगायतका कस्मेटिक सामानको आयातमा सय प्रतिशत क्यास मार्जिन राख्नुपर्ने भएपछि लिगल वेबाट काम गर्दै आएका व्यवसायीलाई नराम्रोसँग प्रहार भएको गुनासो गरेका छन् ।

‘पूरानो उधारो उठेन, चैत्र मसान्तमा आयकरको किस्ता तिर्न सक्दैनौँ’

उधारोमा सामान लिने खुद्रा व्यापारीबाट आयातकर्ताले पूरानो पैसा नै उठाउन मुस्किल परेकाले बजारको ‘चेन ब्रेक’ भएको श्रेष्ठको भनाई छ । 

‘सामान मगाउन पैसा छैन, पूरानो उधारो बजारबाट उठ्दैन’ उनले भने, ‘त्यसकारण चैत्र मसान्तमा बुझाउनुपर्ने आयकरको दोस्रो किस्ता तिर्न नसक्ने अवस्था आएको छ ।’

चैत्र मसान्तमा वार्षिक अनुमानित नाफाको ३० प्रतिशत बुझाउनुपर्ने व्यवस्था छ । तर, व्यवसायीहरुले तिर्न नसक्ने अवस्था सिर्जना भएको गुनासो गर्दै आएका छन् ।

यसअघिः
राष्ट्र बैंकको निर्देशनले बजारको ‘चेन’ बिग्रने डर, पूरानो उधारो नउठ्ने जोखिम

‘हामीले सामान ल्याएर दिएपछि झण्डै ६० दिनपछि मात्रै क्यास रिकभरी हुँदै आएको थियो, यहीँ चेन चलिरहेको थियो, तर अहिले हामीले नै सामान ल्याउन सकेनौँ, सामान नै नल्याएपछि बजारमा दिन सक्ने कुरा भएन’ श्रेष्ठले भने, ‘हामीबाट सामान नपाएपछि बजारमा सामान बेच्नेले त जुनसुकै च्यानलबाट आएको भएपनि सामान त खोज्छ नै, अनि हामीबाट पूरानो पैसा तिरेर फेरि उधारोमा नयाँ सामान लैजानेले पनि अब अर्कैसँग कारोबार गर्दा पहिल्यै नगद लगानी गर्नुपर्ने भयो । भन्नुको मतलब हामीलाई तिर्नुपर्ने पैसा उसले अन्तै लगानी गर्ने भयो । यसकारण हाम्रो पूरानो पैसा बजारमै फस्यो ।’

बैंकबाट तारन्तार फोन

बैंकहरुले किस्ता भूक्तनी र ब्याज बढेको जानकारी दिन व्यवसायीलाई निरन्तर फोन गरिरहेको श्रेष्ठको गुनासो छ । बजारमा फसेको पैसा उठ्न नसकिरहेको अवस्थामा नयाँ सामान किन्ने पैसा नभएर ‘तनाव’को अवस्था सिर्जना भईरहेको बेलामा बैंकहरुले ब्याज बढेको भन्दै फोन गर्न थालेपछि व्यवसायीहरु पलायन हुने खतरा बढेको उनको भनाई छ ।

‘ब्याज बढ्यो भनेर बैंकहरु फोन गरिरहेका छन्, सबै व्यवसायीको केही न केही लोन छ’ उनी भन्छन्, ‘व्यवसायीहरु पलायन हुने जोखिम बढ्यो ।’

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved