पेट्रोलमा २० र डिजेलमा प्रतिलिटर २९ रुपैयाँ मूल्य घटाइयो, कहिलेदेखि हुन्छ लागू ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2022 | 01:26:27 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कर कटौती गरि पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिएका हुन् ।

मन्त्री बडूकाअनुसार सरकारले डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरेको छ। कर कटौती भएसँगै अब डिजेल प्रतिलिटर १६३ र पेट्रोल १७९ रुपैयाँ पर्नेछ । सरकारको घोषणासँगै नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गर्दैछ ।

सुरुमा मन्त्री बडूले डिजेलमा २८ रुपैयाँ घटाइएपछि नयाँ मूल्य १६३ हुन आउने बताएका थिए । तर अहिलेको मूल्य १९२ रुपैयाँमा २८ घटाउँदा १६४ हुन आउँछ । बारम्बार मन्त्री बडूले २८ रुपैयाँ घटाएपछि १६३ भएको बताइरहेपछि नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले २८ घटाउँदा १६४ हुन्छ भनेका थिए । त्यसपछि मन्त्री बडूले डिजेलको नयाँ मूल्य १६३ नै भएको र त्यसका लागि जति घटाउनुपर्ने हो घटाउन निर्देशक थानीलाई निर्देशन दिए । मन्त्री बडूले भने, '१६३ नै हो । कति घटाउँदा हुन्छ त्यति घटाउनुस् ।'

यसअघि शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सरकारलाई सुझाव दिएको थियो।

निगमले पछिल्लो डिजेल र मट्टितेलमा २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ भाउ बढाएको थियो। त्यसयता पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजल/मट्टितेल प्रतिलिटर १९२ रुपैयाँमा कारोबार हुँदै आएको छ। 

पेट्रोलियम पदार्थको मुल्य ह्वात्तै बढाएपछि सरकारमाथि चौतर्फी दबाब आएको थियो । कर कटौती गरेर भए पनि नागरिकलाई राहत दिन सदनदेखि सडकबाट सरकारलाई दबाब दिने काम भइरहेको छ ।

इन्डियन आयल कर्पोरेसन (आईसोसी) बाट १३१.९१ रुपैयाँमा खरिद गरिएको पेट्रोल सर्वसाधारणले १९९ मा खरिद गर्छन् । त्यस्तै, १४६.५२ रुपैयाँमा खरिद गरिएको डिजेल उपभोक्ताले १९२ रुपैयाँमा किन्नुपर्छ । हाल पूर्वाधार करबापत पेट्रोल/डिजेलमा प्रतिलिटर १० रुपैयाँ कर लाग्दै आएको छ । सुरुमा बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका नाममा उठाउन थालिएको करलाई पछिल्लो समय पूर्वाधार निर्माण नामकरण गरिएको छ । उक्त शीर्षकबाट भन्सार बिन्दुमै सरकारले प्रतिलिटर १० रुपैयाँ असुल्छ । 

निगमका अनुसार प्रतिलिटर पेट्रोलमा ६५.६१ रुपैयाँ सरकारी राजस्व लाग्छ । त्यसमा ढुवानी भाडा, व्यवसायीको मुनाफा, निगमको खर्चसहित खुद्रा मूल्य १९९ रुपैयाँ पुर्‍याइएको छ ।

त्यस्तै, डिजेलमा प्रतिलिटर ४९.५३ रुपैयाँ सरकारी राजस्व लाग्छ । ढुवानी भाडा, व्यवसायीको मुनाफा, निगमको खर्चसहित जोडेर प्रतिलिटर १९२ रुपैयाँ मूल्य तोकिएको छ । खरिदको तुलनामा बिक्री मूल्य उच्च भए पनि निगमले भने घाटामै रहेको बताउँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved