नेपालमा ‘औद्योगिक बैंक’को आवश्यकता कति ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 24, 2023 | 09:11:00 AM मा प्रकाशित

laxmi  sunrise bank

उत्पादनमा जोड दिँदै निर्यात प्रतिस्थापन गर्नुपर्ने विषय सडकदेखि सदनसम्म उठ्ने गरेको भए पनि नेपालमा उद्योगमा मात्रै लगानी गर्ने र लगानी जुटाउने ‘औद्योगिक बैंक’ छैन ।

 सामाजिक अभियन्तादेखि सांसद र मन्त्रीहरु आफूहरु जहाँ–जहाँ पुग्छन्, त्यहाँ–त्यहाँ भाषणका क्रममा उत्पादनमुखी अर्थतन्त्रका कुरा गर्न भ्याउँछन् तर त्यसलाई व्यवस्थित गर्ने र व्यावसायिक बनाउने संयन्त्रबारे बेखबर छन् । त्यसैले मुलुकलाई औद्योगिकरणमा लैजान औद्योगिक बैंकको टड्कारो आवश्यकता देखिएको छ । उद्योगीहरु औद्योगिक बैंक ल्याउन ढिला भइसकेको बताउँछन् ।

नेपालको पायोनियर औद्योगिक घराना पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वल श्रेष्ठ उत्पादनमुखी देश बनाउनुपर्छ भन्ने गरिए पनि देशका ठूला बैंकहरु सबै ‘कमर्सियल बैंक’ मात्रै रहेकाले ‘इन्डष्ट्रियल बैंक’को आवश्यकता बढिरहेको बताउँछन् ।  

‘उत्पादनका कुरा हुने गर्छन्, तर उत्पादनमा मात्रै केन्द्रित रहेर लगानी गर्ने, लगानी जुटाउने बैंक छैन’ उनी भन्छन्, ‘अब नेपालमा औद्योगिक बैंक चाहिन्छ ।’

नेपाल उद्योग वाणिज्य महासङ्घका बरिष्ठ उपाध्यक्षका प्रत्यासी भनिएका उमेशलाल श्रेष्ठले पनि बिजपाटीसँगको कुराकानीमा औद्योगिक बैंकको आवश्यकता बढिरहेको र आफूले चुनाव जितेपछि औद्योगिक बैंकको अवधारणा राष्ट्र बैंक र अर्थ मन्त्रालयमा बुझाउने बताएका छन् ।

‘हाम्रो देशमा उद्योगका कुरा खुब हुन्छन्, तर औद्योगिक बैंक नै छैन । निफ्रा एउटा छ, त्यो पूर्वाधारमा केन्द्रित हो । औद्योगीकरणका लागि उद्योगमा मात्रै लगानी गर्ने औद्योगिक बैंक चाहिन्छ । यो कुरा हामी उठाउनेवाला छौँ’ उमेशलाल श्रेष्ठले अन्तरवार्ताका क्रममा बिजपाटीसँग भनेका छन् ।

सांसद महेश बर्तौलाले औद्योगिक बैंकको आवश्यकता औँल्याउँदै भन्छन्, ‘सरकार आफैँले नै सञ्चालन गर्ने गरी विषयगत वा क्षेत्रगत भनौँ, यसरी सम्बन्धित क्षेत्रमा मात्रै लगानी गर्ने गरी बैंक आउनु पर्छ’ ‘यसमा कसैको हिडन इन्स्ट्रेष्ट हुनु भएन, लाइसेन्स हत्याउने चलखेल हुनु भएन ।’

छिमेकी देशमा अभ्यास कस्तो छ ?

नेपालको वैदेशिक व्यापारको ८० प्रतिशतभन्दा बढी कारोबार हुने छिमेकी देश भारतमा धेरै वटा औद्योगिक बैंक सञ्चालनमा छ ।

इन्डष्ट्रियल डेभलपमेन्ट बैंक अफ इन्डिया (आइडीबीआइ), इन्डष्ट्रियल फाइनान्स को–अपरेशन (आइएफसी), इन्डष्ट्रियल क्रेडिट एण्ड इन्भेष्टमेन्ट को–अपरेशन (आइसीआइसीआइ’ लगायतका औद्योगिक बैंकहरु भारतमा सञ्चालनमा छन् ।

पाकिस्तानमा पनि इन्डष्ट्रियल डेभलपमेन्ट बैंक अफ पाकिस्तान (आइडीबीपी) छ । चीनमा विश्वकै ठूलो मध्येको ‘द इन्डष्ट्रियल एण्ड कमर्सियल बैंक अफ चाइना’ (आइसीबीसी)ले उद्योगमा लगानी गर्ने र लगानी जुटाउने काम गर्छ । 

राष्ट्र बैंक के भन्छ ?

नेपाल राष्ट्र बैंकले यसबारे अहिलेसम्म लिखित रुपमा सुझावहरु नआएको बताएको छ । राष्ट्र बैंकका सहायक प्रवक्ता तथा सूचना अधिकारी नारायणप्रसाद पोखरेलले औद्योगिक बैंक चाहिन्छ भनेर हालसम्म राष्ट्र बैंकलाई कसैले पनि सुझाव नदिएको बताए । 

उनले यस्तो बैंकको आवश्यकता महशुस भए मौद्रिक नीति आउने बेलामा राष्ट्र बैंकलाई लिखित सुझाव दिएपछि मात्रै राष्ट्र बैंकले आवश्यक रहे नरहेको अध्ययन गर्ने बताएका छन् ।

‘आवश्यक छ भन्ने लाग्छ भने राष्ट्र बैंकलाई पहिला किन चाहिन्छ भनेर कारणसहित सुझाव दिनुपर्यो, सुझाव आएपछि राष्ट्र बैंकले आफ्नो तर्फबाट अध्ययन गर्छ, अहिलेसम्म कतैबाट पनि यस्तो सुझाव आएको छैन, यो हाम्रा लागि नयाँ विषय भयो’ उनले भने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved