भरतपुर महानगरमा रेणु दाहाल र बिजय सुवेदीको भीडन्त : यस्तो छ दुवैको राजनीतिक पृष्ठभूमि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2022 | 11:22:31 AM मा प्रकाशित

laxmi  sunrise bank

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी मनोनयनको दिन सकिएको छ । काठमाडौं, भरतपुर, पोखरालगायत सबै ६ महानगर र त्यहाँ उम्मेदवारी दिएका पात्रहरू यतिबेला चर्चामा छन् । 

भरतपुर महानगरमा मेयरका लागि सत्तारूढ गठबन्धनका तर्फबाट रेणु दाहालले उम्मेदवारी दिएकी छन् भने एमालेका तर्फबाट प्रदेश सभा सदस्यबाट राजीनामा दिएर बिजय सुवेदी मैदानमा उत्रिएका छन् । 

सुवेदीसँग चितवनमा लामो समय राजनीति गरेको अनुभव छ भने दाहालसँग दुई-दुई पटक प्रधानमन्त्री भएका पुष्पकमल दाहाल 'प्रचण्ड'को छोरी भएको व्यक्तित्व छ । साथै दाहाल भरतपुरकी निवर्तमान मेयरसमेत हुन् । 

मेयरबाट राजीनामा दिएर आसन्न निर्वाचनमा पुनः मेयरमै उम्मेदवारी दर्ता गराएकी छिन् दाहालले । दाहाल र सुवेदी  दुवै राजनीतिमा सक्रियताका साथ लागेका र मेयर बन्न योग्य पात्र हुन् ।

दुवै उम्मेदवारले आफूले सहज जित हासिल गर्ने दाबी गरिरहेका छन् । एमाले-राप्रपाबीच बनेको गठबन्धन र सत्तारूढ पाँचदलीय गठबन्धनबीच हुने चुनावी प्रतिस्पर्धा रोचक हुनेछ । 

दुवै उम्मेदवारको पृष्ठभूमिबारे विस्तृत चर्चा गर्नुभन्दा पहिला २०७४ सालको निर्वाचनका आधारमा भरतपुर महानगरपालिकाको मतविश्लेषण गरौँ । 

२०७४ सालका आधारमा भरतपुरको मतविश्लेषण 

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेस-माओवादी गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहाल विजयी भएकी थिइन् । २०७४ साल वैशाख ३१ गते सम्पन्न पहिलो चरणको निर्वाचनको मतगणनाका क्रममा जेठ १४ गते मतपत्र च्यातिएपछि शुक्रबार वडा नम्बर १९ मा पुनः भएको मतदान भएको थियो ।

१९ र २० वडाको मतगणना बाँकी हुँदा एमालेका मेयर उम्मेदवार देवी ज्ञवाली सात सय ८४ मतले अगाडि थिए । १९ र २० वडाको मतगणनाका क्रममा ज्ञवालीसँगको मतान्तर घटाउँदै अन्तिम समयमा दाहाल विजयी भएकी हुन् । उपमेयरमा समेत कांग्रेस–माओवादी गठबन्धनकै पार्वती शाह निर्वाचित भएकी थिइन् । 

दाहाल दुई सय ३ मत अन्तरले विजयी भएकी हुन् । दाहालले ४३ हजार १ सय २७ मत ल्याएकी थिइन् भने उनका निकटतम प्रतिद्वन्द्वी देवी ज्ञवालीले ४२ हजार ९ सय २४ मत प्राप्त गरेका थिए । 

भरतपुर महानगरपालिकामा सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो जसअनुसार माओवादी केन्द्रलाई प्रमुख र कांग्रेसलाई उपप्रमुख पद विभाजन गरिएको थियो । प्रमुख पदमा विजयी दाहाल माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी हुन् ।

राप्रपाका मेयर उम्मेदवार बद्री तिमल्सिनाले ६ हजार आठ सय ४२ मत प्राप्त गरेका थिए । उपमेयरमा कांग्रेसकी पार्वती साह ४७ हजार १ सय ९७ मत ल्याएर विजयी भएकी थिइन् । 

उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी उपमेयर उम्मेदवार दिव्या शर्मा आचार्यले ३९ हजार ५ सय २५ मत ल्याएकी थिइन् । राप्रपाकी उपमेयर उम्मेदवार रिना गुरुङले ७ हजार २ सय ५२ मत प्राप्त गरेकी थिइन् । 

जेठ १४ गते मतगणनाका क्रममा मतपत्र च्यातिएपछि १९ वडामा पुनः शुक्रबार मतदान भएको थियो । मेयरमा रेणु दाहालको जितका निम्ति वडा नम्बर १९ र २० नै निर्णायक बनेको थियो ।

२०७४ सालको मतका आधारमा हेर्ने हो भने भरतपुरमा एमालेलाई सहज जित हात पार्न कठीन हुने देखिन्छ । तर यो पाँच वर्षमा भरतपुर महानगरपालिकामा मात्रै पाँच वर्षमा ३५ हजार ४७८ मतदाता थपिएका छन् । थपिएका मतदाता निर्णायक हुने देखिन्छ । 

को हुन् रेणु दाहाल ?

विक्रम सम्वत् २०३३ साल असार २२ गते चितवन शिवनगरको भीमसेन नगरमा जन्मेकी रेणु दाहाल पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र सीता दाहालकी माहिली छोरी हुन् ।

विक्रम सम्वत् २०५१ सालमा पार्टी प्रवेश गरेकी दाहाल २०५२ सालको माओवादी सशस्त्र द्वन्द्वकालमा भूमिगत भएकी थिइन् । प्रवासमा अखिल महिला समाजकी केन्द्रीय समिति अध्यक्ष, सशस्त्र द्वन्द्वकालमा रोल्पामा सहइन्चार्ज, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी महासचिव रहेकी दाहाल काठमाण्डूकी जिल्ला सचिव हुँदै हाल पोलिटब्युरो सदस्य रहेकी छन् ।

प्रवेशिकासम्म अध्ययन गरेकी दाहाल पहिलो संविधानसभामा समानुपातिकबाट सभासद् भएकी थिइन् भने । दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसका नेता प्रकाशमान सिहसँग पराजित भएकी थिइन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा दाहाल भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित भएकी थिइन् । वैशाख ३१ गते सम्पन्न पहिलो चरणको निर्वाचनको मतगणनाका क्रममा जेठ १४ गते मतपत्र च्यातिएपछि वडा नम्बर १९ मा पुनः भएको मतदान भएको थियो ।

नेकपा एमालेका देवी ज्ञवालीलाई २ सय ३ मतान्तरले पराजित गरेकी दाहालको बिजय त्यतिबेला विवादित बनेको थियो । मतपत्र च्यात्न लगाएर निर्वाचन जितेको आरोप उनीमाथि छ । 

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दाहाल भरतपुरकै मेयरमा पुनः उठ्दैछन् । गठबन्धनका तर्फबाट भरतपुरको मेयरमा उनले गत सोमवार मनोनयन दर्ता गराएकी हुन् । 

को हुन् बिजय सुवेदी ?

बिक्रम संवत २०२० साल चैत ५ गते स्याङ्जाको क्याक्मीमा जन्मेका सुवेदीको परिवार पाल्पा हुँदै चितवन बसाईं सरेको थियो । उनले राजनीतिक यात्रा चितवनबाट शुरू गरेका हुन् । 

सुवेदीले २०३९ सालमा तत्कालीन नेकपा मालेको सदस्यता लिएका थिए । २०४० मा सुवेदी अनेरास्ववियू चितवनको सचिव भए । २०४१ देखि २०४५ सम्म लगातार तीन कार्यकाल उनले अखिल चितवनको अध्यक्ष बनेर विद्यार्थी राजनीतिक जीवनलाई अघि बढाएका थिए । 

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र इतिहासमा स्नातक गरेका सुवेदी नेकपा एमाले चितवनको सचिव बने । २०४६ सालको जनआन्दोलन ताका उनलाई आगजनीको मुद्दा लगाएर तत्कालीन सरकारले वीरगञ्ज जेल पठाएको थियो । २०६२/६३ सालको जनआन्दोलनमा पनि सुवेदीले महत्त्वपूर्ण भूमिका खेलेका थिए । 

२०६४ सालको संविधान सभा निर्वाचनमा उनी चितवनको क्षेत्र नम्बर ५ मा पराजित भएका थिए । २०६६ सालमा नवलपरासी र मकवानपुरका केही भागलाई समेत समेटेर वृहत चितवन निर्माण गर्ने गुरूयोजना र २०७१ सालमा चितवनको स्वास्थ्य रणनीति निर्माणको संयोजन गरेको अनुभव सुवेदीसँग छ । 

२०७४ सालमा भएको प्रदेश सभा निर्वाचनमा चितवन क्षेत्र नं. २ 'ख'बाट सुवेदी बिजयी भएका थिए । तत्कालीन वामगठबन्धनका तर्फबाट निर्वाचित सुवेदीले कांग्रेसका उम्मेदवारले भन्दा ८ हजार ९ सय २ मत ल्याएका थिए ।

सुवेदी २०७४ सालकै स्थानीय तहको निर्वाचनमा मेयर बन्न चाहेका थिए । पार्टीले उनी भन्दा सिनियर नेता देवी ज्ञवालीलाई उठाएपछि उनी ब्याक भए । यसपाली ज्ञवालीकै प्रस्तावमा उनी मेयरको उम्मेदवार भएका हुन् । 

भरतपुरमा ५ दलीय गठबन्धन भर्सेज एमाले-राप्रपा गठबन्धनबीच कडा टक्कर हुने देखिएको छ । दुवै पक्षले आफूले सानदार जीत हासिल गर्ने दाबी गर्दै आइरहेका छन् । 

यस अघि : काठमाडौं महानगरमा केशव स्थापित र सृजना सिंहको भीडन्त, यस्तो छ दुवैको राजनीतिक पृष्ठभूमि

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved