३० वैशाखमा हुने
स्थानीय तहको निर्वाचनका लागि सबैभन्दा
बढी उम्मेदवारी दर्ता गराएको प्रमुख प्रतिपक्ष नेकपा एमालेले सबैभन्दा बढी
महिला उम्मेदवारलाई मैदानमा उतारेको छ ।
देशका ७ सय ५३
स्थानीय तहमध्ये ७ सय ३८ स्थानीय तहका प्रमुख र अध्यक्षमा उम्मेदवारी दर्ता गराएको
एमालेले नगरपालिका प्रमुखमा २७ र गाउँपालिका अध्यक्षमा २८ जनासहित ५५ जना महिलालाई
उम्मेदवार बनाएर पहिलो राजनीतिक दल भएको हो ।
निर्वाचनका लागि
एमालेले २ सय ६० जनालाई नगरपालिका उपप्रमुख तथा ४ सय १० जनालाई उपाध्यक्षको रुपमा
मैदानमा उतारेको निर्वाचन आयोगले जारी गरेको तथ्यांकमा उल्लेख छ ।
आयोगका अनुसार
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी केन्द्रले १८ जना महिलालाई नगर
प्रमुख र २९ जनालाई गाउँपालिका अध्यक्षसहित ४७ जनालाई उम्मेदवार बनाएको छ ।
माओवादी केन्द्र्रले नगर प्रमुख र गाउँपालिका अध्यक्षमा ४ सय १७ स्थानीय
तहमा मात्रै उम्मेदवारी दिएको छ ।
त्यस्तै, राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले २ सय
२७ स्थानीय तहमा मेयरका लागि उम्मेदवारी खडा गर्दा २७ जना महिलालाई मेयरको
उम्मेदवारी दर्ता गराएको छ भने गाउँपालिका अध्यक्षका लागि १५ सहित ४२ महिलालाई
स्थान दिएको छ । महिला उम्मेदवारी दर्ता गराउनेमा राप्रपा तेस्रो ठूलो राजनीतिक
शक्ति भएको छ ।
उता, माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस)ले १ सय
२८ जना मेयरमा उम्ेमदवारी दिँदा २३ जना महिला उम्मेदवार उठाएको छ भने १ सय ७५
गाउँपालिकामा अध्यक्षको उम्मेदवारी दिँदा १२ जना महिला उम्मेदवार उठाएर चुनावी
मैदानमा उत्रेको छ ।
नेकपा (एस)ले
नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्षमा मात्रै ३५ जनालाई उम्मेदवारी दिलाएको हो
।
सरकारको
नेतृत्वकर्ता राजनीतिक दल नेपाली कांग्रेसले १९ जनालाई मात्रै नगरपालिकाको मेयर
तथा गाउँपालिका अध्यक्षका लागि टिकट वितरण गरेको छ, जुन एमालेको भन्दा ३६ जना कम हो ।
कांग्रेसले ७ सय
५३ स्थानीय तहमध्ये ६ सय १५ स्थानमा मात्रै नगर प्रमुख र गाउँपालिका अध्यक्षका
लागि उम्मेदवारी दर्ता गराएको छ ।
मधेस केन्द्रित
दल महिलाप्रति अनुदार
उपेन्द्र यादव र
महन्थ ठाकुर नेतृत्वको क्रमशः जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी
पार्टी महिला उम्मेदवारलाई प्राथमिकता दिन अनुदार देखिएका छन् ।
माओवादी केन्द्र
झैँ निरन्तर समावेशी र समानुपातिक प्रतिनिधित्वको माग राख्दै आन्दोलनरत जसपा नेपाल
र लोसपा नेपाल पनि महिला उम्मेदवार छनौटमा अनुदार देखिएको तथ्यांकले देखाएको छ ।
जसपा नेपालले १
सय ४६ नगरपालिकामा पुरुषलाई मेयरमा उम्मेदवारी दर्ता गराउँदा महिला भने जम्मा १५
जना मात्रै छनौटमा परेका छन भने १ सय ८० जनालाई गाउँपालिका अध्यक्ष चयन गराउँदा
महिला भने १० जना मात्रै उम्मेदवारी छनौट परेका छन ।
ठाकुर नेतृत्वको
लोसपा नेपालले ८९ जना मेयरका लागि पुरुष उम्मेदवार उठाउँदा ५ जना महिलाले मात्र
मेयरका लागि उम्मेदवारी दर्ता गराउन सफल भएका छन । त्यस्तै, ९४ जना गाउँपालिकाका अध्यक्षमा पुरुषले
प्रतिस्पर्धा गरिरहँदा सो पार्टीबाट ३ जना महिला मात्रै अध्यक्षका लागि
प्रतिस्पर्धामा उत्रिन सफल भएका छन ।