सामुहिक लगानीको सेतीखोला जलविद्युत् आयोजनाको ठेक्का सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2019 | 08:48:16 AM मा प्रकाशित

laxmi  sunrise bank

एक हजार बढी लगानीकर्ताको सामूहिक लगानीमा निर्माण हुन लागेको २५ मेगावाट क्षमताको सेती खोला जलविद्युत् आयोजनाको आज सिभिल निर्माणतर्फको ठेक्का सम्झौता भएको छ ।  भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड र निर्माण व्यवसायी रसुवा–लुना जेभीबीच ठेक्का सम्झौतामा हस्ताक्षर भएको हो । भिजन लुम्बिनीका तर्फबाट कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेल र निर्माण व्यवसायीका तर्फबाट कार्यकारी निर्देशक माधव आचार्यले हस्तक्षर गरेका हुन् ।

कार्यक्रममा दिइएको जानकारीअनुसार रसुवा–लुना जेभीले सिभिल निर्माणतर्फको ठेक्का रु एक अर्ब २० करोडमा लिएको छ । निर्माण व्यवसायीले दुई वर्षभित्र आयोजनाको सिभिल संरचना निर्माण गरिसक्ने प्रतिबद्धता जनाएको छ । प्रवद्र्धक भिजन लुम्बिनीले २७ महिनाको समय सीमा दिएको भए पनि दुई महिनाभित्रै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।

करीब रु पाँच अर्ब लागतको सो आयोजनामा धेरैभन्दा धेरैको सहभागिता गराउने लक्ष्य राखिएको छ । नेपाल विद्युत् प्राधिकरण र प्रवद्र्धक कम्पनीबीच २०७५ मङ्सिर ६ गते विद्युत् खरीदसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौताअनुसार उक्त आयोजनाबाट उत्पादित विद्युत् वर्षायाममा प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसामा प्राधिकरणले खरीद गर्नेछ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको भराभुरी भन्ने स्थानमा आयोजना निर्माण हुनेछ । आयोजनामा स्थानीयवासीलाई समेत शेयर दिइने प्रवद्र्धक कम्पनीले जनाएको छ । बुटवललाई केन्द्र बनाएर आर्थिक तथा सामाजिक क्रियाकलापमा संलग्न लुम्बिनी भिजनले सो आयोजनाका लागि भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड स्थापना गरेको हो ।

प्रवद्र्धक संस्थाका अध्यक्ष पोखरेलले एकाध व्यक्ति मात्रै जलविद्युत् आयोजनाको मुनाफा पाउने अवस्थाको अन्त्यका लागि आफूहरुले बढीभन्दा बढी नागरिकलाई लगानीकर्ताको रुपमा सहभागी गराएको जानकारी दिए । उनका अनुसार आयोजनाको ३० प्रतिशत स्वपूँजी रहने र ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाका तर्फबाट ऋण लिइनेछ । स्वपूँजीमा बुटवल र कास्कीका लगानीकर्तालाई समेत सहभागी गराइनेछ ।

आयोजनाबाट उत्पादित विद्युत् कूल छ किलोमिटर लामो प्रसारण लाइनमार्फत कास्कीको लाहाचोकमा रहेको प्राधिकरणको सवस्टेशनमा जोडिनेछ । अध्यक्ष पोखरेलले आयोजना तोकिएको समयभन्दा अगाडि नै सम्पन्न गरेर उदाहरणीय बन्ने विश्वास व्यक्त गरे । उनले आयोजनामा धेरैभन्दा धेरै लगानीकर्ताको सहभागिता रहेकाले पनि धेरैको चासो रहेकाले समयभन्दा अगावै सम्पन्न गरिसक्नुपर्ने अवस्थामा रहेको बताए ।

यस्तै रसुवा–लुना जेभीका कार्यकारी निर्देशक आचार्यले आफूहरुले तोकिएको समयमा आयोजना सम्पन्न गरेर नेपालको ऊर्जा क्षेत्रमा केही योगदान पु¥याउने विश्वास दिलाउनुभयो । आयोजनाको इञ्जिनीयरिङको काम हाइड्रो कन्सल्टले गरिरहेको छ । सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोहरलाल श्रेष्ठले प्राविधिक तयारीमा कुनै कन्जुस्याइँ नगरिएको जानकारी दिँदै आयोजना आकर्षक रहेको बताए ।

स्थानीयवासीसमेत रहेका प्रवद्र्धक बमबहादुर गुरुङले स्थानीयवासीलाई विश्वासमा लिएर काम गराउन आफू प्रतिबद्ध रहेको बताए । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका सल्लाहकार गणेशकुमार श्रेष्ठले नदी प्रवाही आयोजना भए पनि आकर्षक र ऊर्जा उत्पादनका हिसाबले पनि महत्वपूर्ण रहेको बताए । निकट भविस्यमा नै हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल तर्फको निर्माण व्यवसायी समेत छनोट गरिने आयोजनाले जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved