प्रसारण लाइन नहुँदा ६ आयोजनको विद्युत खेर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2020 | 10:21:57 AM मा प्रकाशित

laxmi  sunrise bank

कोशी करिडोर प्रसारण लाइन निर्माण सम्पन्न हुन नसक्दा आफूहरुले उत्पादन गरेको विद्युत् खेर गएको भन्दै ऊर्जा उद्यमीले सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, सचिव दिनेशकुमार घिमिरे र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सिंहदरबारमा भेट गरी ध्यानाकर्षण गराएका हुन् ।

कोशी करिडोर निर्माणको चरणमा रहेको भए पनि प्रभावकारी रुपमा काम हुन नसक्दा उत्पादित विद्युत् खेर जाने तर तोकिएको ऊर्जा नपुगेको भन्दै प्राधिकरणले जरिवानासमेत तिराउने गरेकाले दोहोरो मार परेको उनीहरुको गुनासो छ । वैकल्पिक व्यवस्था गरेर ३३ केभी क्षमताको प्रसारण लाइनमार्फत उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको भए पनि पुरानो प्रणालीको प्रसारण लाइन भएकाले १५ मेगावाट मात्रै विद्युत् सहजरुपमा प्रवाह हुन सकेको छ ।

पछिल्लो प्रविधिको प्रसारण लाइन भएको खण्डमा सोही क्षमताको प्रसारण लाइनले ३० मेगावाट विद्युत् प्रवाह गर्नसक्ने अवस्था रहन्थ्यो । त्यसैमा डबल सर्किट हुँदा समस्या नहुने भए पनि पुरानो प्रणालीको प्रसारण लाइनका कारण जटिलता उत्पन्न भएको भन्दै समस्या समाधानका लागि उनीहरुले मन्त्री, सचिव र कार्यकारी निर्देशकलाई एकै स्थानमा राखेर समस्याको जानकारी गराएको तेह्रथुम पावर कम्पनीका प्रबन्ध निर्देशक मोहन डाँगीले जानकारी दिए ।

उनका अनुसार उत्पादित विद्युत् प्रसारण लाइनको अभावमा खेर गएको तर तोकिए बराबरको ऊर्जा नपाएको भन्दै प्राधिकरणले जरिवानासमेत गरेपछि आफूहरु मारमा परेको भन्दै समस्या समाधान गरिदिन आफूहरुले सामूहिक रुपमा आग्रह गरिएको हो । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाई नेतृत्वको सो टोलीमा विभिन्न छ जलविद्युत् कम्पनीका प्रवद्र्धक सहभागी थिए ।

प्रवद्र्धकहरुको गुनासो सुनेपछि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले ऊर्जा उद्यमीको माग जायज रहेको भन्दै वैकल्पिक व्यवस्था गरेर भए पनि समस्या समाधान गरिने प्रतिबद्धता जनाए । उनले निर्माणाधीन कोशी करिडोर प्रसारण लाइन सम्पन्न भएको खण्डमा कुनै समस्या नहुने तर सो लाइन निर्माण हुन केही समय थप लागेको खण्डमा वैकल्पिक व्यवस्था गरेर वा विद्यमान प्रसारण लाइनको क्षमता विस्तार गरेर भए पनि उत्पादित विद्युत् खेर जान नदिने बताए ।

उनले प्रसारण लाइनको अभावमा विद्युत् खेर जाने तर तोकिएको ऊर्जा नपाएको खण्डमा लाग्ने जरिवानालगायतका विषयमा समेत आवश्यक व्यवस्था गरिने र सम्बद्ध विभागलाई आजै निर्देशन दिने उल्लेख गरे । ऊर्जा उद्यमीको गुनासो पछि ऊर्जा सचिव घिमिरेले कोशी करिडोर निर्माणका लागि आवश्यक पहल गरिने र जायज माग सम्बोधन गर्न हरतरहले प्रयास गरिने बताए ।

ऊर्जामन्त्री पुनले सरकारले निजी क्षेत्रको सबै खाले समस्या समाधान गर्ने विश्वास दिलाए । उनले प्राविधिक विषयमा प्राधिकरणले आवश्यक व्यवस्था मिलाउने र अन्य समस्या समाधानका लागि मन्त्रालयका तहबाट विशेष पहल हुने स्पष्ट पारे । उनले विभिन्न कारणले गर्दा तोकिएको समयमा प्रसारण लाइन निर्माण हुन नसकेको र पछिल्लो समयमा कोरोनाका कारणसमेत जटिलता देखिएको भन्दै समस्या समाधान गरिने स्पष्ट पारे ।

प्रसारण लाइनको अभावमा खोरुङ खोला, इर्खुवा खोला, तल्लो पिलवा, सवा खोलालगायतको आयोजनाबाट उत्पादित विद्युत् खेर गइरहेको छ । निर्माणाधीन कोशी करिडोर प्रसारण लाइनको काम विविध समस्याका कारण तोकिएको समयमा सम्पन्न हुन सकेको छैन । यद्यपि, प्राधिकरणले आवश्यक प्रयास गरिरहेको जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved