माथिल्लो तामाकोशीद्वारा आजदेखि पूर्ण रूपमा व्यावसायिक उत्पादन शुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2021 | 08:23:33 PM मा प्रकाशित

laxmi  sunrise bank

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आजदेखि पूर्ण रूपमा व्यावसायिक विद्युत् उत्पादन शुरु गरेको छ । कूल ४५६ मेगावाट क्षमताको आयोजना पूर्ण क्षमताका साथ सञ्चालनमा आएको हो ।

स्वदेशी लगानीमा निर्माण भएको हालसम्मकै ठूलो आयोजनाले सफलताका साथ व्यावसायिक उत्पादन थालेको माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए । दोलखाको बिगु गाँउपालिका–१ मा रहेको आयोजनाको व्यावसायिक उत्पादन शुरु गरिएको दिन बौद्ध परम्पराअनुसार स्थानीय लामामार्फत शान्ति स्वस्ती गर्दै आयोजनाको सफलताको कामना गरिएको छ। आयोजनाको पूर्ण सफलताको कामना गर्दै लामा गुरुले आयोजनाले देशकै लागि उज्यालो छर्ने काम गरोस् भन्ने कामना गरेका हुन् ।

सो आयोजनाको गत असार २१ गते उद्घाटन गरिएको थियो । आयोजनावटा उत्पादित बिजुली ४७ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइन हुँदै रामेछापको मन्थली नगरपालिका १३ स्थित साँखेमा नवनिर्मित २२०/१३२ केभी क्षमताको न्यून खिम्ती सवस्टेशनमा जोडिएको छ । सो सवस्टेशन हुँदै बिजुली ढलकेवरस्थित नेपाल विद्युत् प्राधिकरणको ४०० केभी क्षमताको सवस्टेशनमा जोडिएको छ ।

आयोजनाको शुरुआती लागत निर्माण अवधिको ब्याज बाहेक रु ३५ अर्ब २९ करोड रहेको भए पनि डिजाइनमा गरिएको परिवर्तन, निर्माण अवधि लम्बिदा प्रशासनिक र परामर्शदातको खर्चमा भएको बढोत्तरी, बजार मूल्यमा भएको वृद्धिका कारण निर्माण सामग्रीमा परेको प्रभावका कारण लागत बढ्न गयो । आयोजनाका अनुसार विविध कारणले गर्दा लागत रु ५२ अर्ब पुगेको छ ।

शुरुआती चरणमा निर्माण अवधिको व्याज रु १४ अर्ब लाग्ने अनुमान गरिएको भए पनि निर्माण अवधि बढ्दै जाँदा ब्याज मात्रै रु ३२ अर्ब पुगेको छ । यस आधारमा आयोजनाको कूल लागत रु ८४ अर्ब पुगेको छ । आयोजनाले वार्षिक रूपमा दुई हजार २८१ गिगावाट घण्टा ऊर्जा उतपादन गर्छ । त्यो भनेको कूल दुई अर्ब २८ करोड यूनिट बिजुली हो । आयोजना अर्धजलाशयुक्त प्रकृतिको भएकाले पनि बढी बिजुली माग हुने साँझको समयमा औसतमा चार घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved