बाह्रबिसे सबस्टेसनको काम सुधार्न ठेकेदारलाई कुलमानको ४ महिने अल्टिमेटम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2021 | 01:26:40 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसनको ठेकेदारलाई कार्यसम्पादन सुधार गर्न अल्टिमेटम दिएको छ ।

सबस्टेसन निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीहरु ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको काम सन्तोषजक नभएपछि प्राधिकरणले कार्यसम्पादन सुधार गर्न ४ महिनाको अल्टिमेटम दिएको हो ।

खिम्ती, तामाकोसी र भोटेकोसी नदी क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन तामाकोसी–काठमाडौँ उच्च क्षमताको प्रसारण लाइन र सबस्टेसन निर्माण सुरु गरिएको हो । प्राधिकरणले आयोजनाअन्तर्गत रामेछापको न्यू खिम्ती, बाह्रबिसे र काठमाडौंको लप्सीफेदीमा ४०० केभीको सबस्टेसन पनि निर्माण गरिरहेको छ । 

एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा प्रसारण लाइन तथा सबस्टेसनको निर्माण भइरहेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक हरराज न्यौपानेलगायतको टोलीले बाह्रबिसे सबस्टेसन निर्माणस्थलको निरीक्षण गरी ४ महिनाभित्रमा काममा सुधार नदेखिए ठेक्का तोड्ने चेतावनी दिएको छ ।

‘करिब दुई वर्ष अघिको भन्दा निर्माणस्थलमा गर्नु पर्ने कामको प्रगति उल्लेख्य देखिएको छैन, यस्तै अवस्था रहने हो भने ठेक्का तोड्नुको विकल्प छैन, ४ महिना हेर्छौं त्यसपछि पनि काममा सुधार भएन भने ठेक्का सम्झौताअनुसारको कारबाहीको प्रक्रिया अगाडि बढ्छ’, ठेकेदार कम्पनीका प्रतिनिधिलाई निर्देशक दिंदै कार्यकारी निर्देशक घिसिङले भने । 

ठेकेदार कम्पनीका प्रतिनिधिले भने बर्खाको समयमा काम गर्न नसकिएको र अहिले क्रमिक सुधार गरिएकोले ४ महिनामा कामको प्रगति हेर्न अनुरोध गरेका थिए । ठेकेदार कम्पनीको व्यवस्थापन परिवर्तन भई नयाँ टिम आएकोले अहिले काममा केही प्रगति देखिएको छ ।

कम्पनीले सबस्टेसनमा रहने पावर ट्रान्सफर्मरलगायतका उपकरणहरु ल्याइसकेको छ भने ट्रान्सफर्मर रहने स्थान, कार्यालय तथा नियन्त्रण कक्ष भवन निर्माणाधीन छन् । सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/११ केभी,५ एमभीएका पावर ट्रान्सफर्मरहरु रहने छन् । सबस्टेसन निर्माणपछि स्थानीय रुपमा बाह्रबिसे बजारबाट सबस्टेसनसम्म जाने करिब साढे चार किलोमिटर सडक जीर्ण रहेकोले निर्माणस्थलमा उपकरणहरु तथा निर्माण सामाग्री ढुवानीका लागि समस्या छ । बागमती प्रदेश सरकारको लगानीमा बन्न लागेको सडकको निर्माण अलपत्र छ ।

चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको विद्युत बाह्रबिसे सबस्टेसनमा जोडिने छ ।

यसैगरी, रामेछापको खिम्तीमा रहेको न्यू खिम्ती सबस्टेसनबाट बाह्रबिसै हुँदै काठमाडौंको लप्सीफेदीसम्मको ४०० केभीको डबल सर्किट तामाकोसी–काठमाडौं प्रसारण लाइन निर्माणाधीन छ । प्रसारण लाइन अन्तर्गत न्यू खिम्ती–बाह्रबिसे खण्डमा पर्ने ११५ वटा टावरमध्ये ३५ वटा टावरको जग हालिएको छ भने ६ वटा उठाइएको छ । ४४ किलोमिटर यस खण्डको निर्माण आगामी साउनभित्र सक्ने लक्ष्य राखिएको छ ।

यो लाइन बनाउन पनि बाह्रबिसे सबस्टेसनको ठेकेदारले नै पाएको थियो । तर, ठेक्का सम्झौताको ७४ प्रतिशत समय बित्दासमेत कम्पनीले निर्माणका प्रारम्भिक काम नै नगरेपछि सम्झौता अवधि बाँकी नै रहेको अवस्थामा ठेक्का तोडिएको थियो ।  त्यसपछि प्राधिकरणले गरेको नयाँ टेण्डरमा भारतीय कम्पनी  केइसी इन्टरनेशनल छनोट भएको थियो । 

बाह्रबिसे–लप्सेफेदी खण्डमा पर्ने १२२ टावरमध्ये ९८ वटाको जग हालिएको छ भने ७८ वटा खडा गरिएको छ । वन क्षेत्रको जग्गा प्रयोग, स्थानीयको अवरोधलगायतका कारणले निर्माण प्रभावित भएको छ । भारतीय कम्पनी लार्सन एण्ड टर्वो (एलएण्डटी)ले ठेक्का पाएको यस  खण्डको निर्माण आगामी साउनभित्र सक्ने लक्ष्य राखिएको छ ।

लप्सीफेदीबाट भक्तपुरको चाँगुनारायणसम्मको १३२ केभी प्रसारण लाइन निर्माणाधीन छ । यस खण्डको निर्माण ठेक्का पनि एलएण्डटीले नै पाएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved