हिमालयन हाइड्रो एक्स्पो चैतमा: फर्पिङसम्म विद्युतीय गाडीको र्याली, रोबोट प्रतिष्पर्धा मुख्य आकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2022 | 01:51:32 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी चैत्र १८ देखि २० गतेसम्म भृकुटीमण्डपमा तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२२ आयोजना हुने भएको छ।  स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रा. लि. ले संयुक्तरुपमा एक्स्पो गर्न लागेको हो ।

यस एक्सपोमा नेपालस्थित भारतीय राजदुतावासको समन्वय तथा बेलायती राजदुतावास र क्यानेडियन हाइ कमिशन कन्ट्री पार्टनर रहने छ। भारतीय राजदुतावासको समन्वयमा एक्स्पो आयोजना हुँदा नेपाल र भारतका उर्जासम्बद्ध व्यक्ति तथा संस्थाका बिचमा पारस्परिक सहयोग र सहकार्यमा समेत सहजता आउने अपेक्षा आयोजकले लिएको छ । यसबाट नेपालको जलविद्युतको बजार र व्यापार बिस्तारका साथै भारतीय लगानीमा सहकार्यको थप अवसर उजागर हुने  विश्वास इपानले लिएको छ ।

इपानका अनुसार हाइड्रो सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको बिकसित पछिल्ला प्रविधिका बारेमा जानकारी गराउन, नेपालको जलबिद्युतको लागि बजारको प्रबर्द्धन गर्न, देशभित्र बिद्युत खपत बढाउने, विद्युत व्यापारको प्रबर्द्धन गर्ने, हाइडोपावर सम्बन्धी सरोकार राख्नेहरुलाई एकै छानामुनि भेला पारी यससम्बन्धी ज्ञान, सीप तथा प्रबिधिको जानकारी दिन तथा विभिन्न मुलुकसँग हाइड्रोपावर परियोजना विकासका सम्बन्धमा छलफल गर्ने उद्देश्यले यो एक्स्पोको आयोजना गर्न लागिएको हो । यसले नेपालमा उर्जा उत्पादनको वर्तमान अवस्थालाई थप तीब्रता दिन सहयोग गर्ने, सरकारले अघि सारेको १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादनको राष्ट्रिय लक्ष्यमा महत्वपूर्ण योगदान दिने तथा जलविद्युत क्षेत्रको विकासमा बहुआयामिक योगदान पुऱ्याउने बिस्वास गरिएको छ। यसैले हिमालयन हाइड्रो एक्स्पो २०२२ ले ऊर्जा क्षेत्रको बिकासमा फरक महत्व र प्रभाब पार्ने अपेक्षा इपानले लिएको छ । 

तीन दिनसम्म सञ्चालन हुन्ए क्स्पोमा १०० भन्दा बढी स्टल रहने छन् । जलविद्युत प्रबर्द्धक, उत्पादक, इक्युप्मेन्टस् सप्लायर्स, टर्वाइन उत्पादक लगानीकर्ता, बैंक, बिमा लगायत जलविद्युतमा नयाँ प्रविधि र सम्बन्धित विविध स्टल एक्स्पोमा रहने छन् । जसमा झण्डै ५० प्रतिशत विदेशी स्टल रहने इपानको अनुमान छ।
स्वच्छ उर्जाको प्रबर्द्धनमा सहयोग पुयाउन, नेपालमा विद्युतको खपत बढाउन र विद्युतीय सवारी साधनको प्रयोगमा अभिवृद्धि गर्ने हेतुले सोको प्रतिकस्वरुप नेपालको पहिलो फर्पिङ जलबिद्युत आयोजनामा एक्स्पो आयोजना स्थल भृकुटीमण्डपबाट विद्युतीय गाडीको र्याली गरिने छ । सो अबसरमा बिद्युतीय चार्जिङ स्टेशनको समेत उद्घाटन गरिने इपानले जनाएको छ। 

एक्स्पोमा नेपाल-भारत पावर कन्क्लेभको आयोजना गरिने भएको छ । यसमा नेपाल र भारतका विज्ञहरुले विद्युत उत्पादन, प्रसारण, प्रविधि र व्यापार सम्बन्धी चार बुदे विषयबस्तु (Theme) मा छलफल गराउनुको साथै जलविद्युत सम्बन्धी अन्य बिषयमा कार्यपत्र प्रस्तुत गरिने छ।

यस पटकको एक्स्पोमा ऊर्जासँग सम्बन्धित नयाँ प्रविधिका साथै हाइड्रो पावर रोबोथन (हाइड्रोकर्न २.०), ब्याटल रोबोट्स तथा हाइड्रो पावरको लाइभ डेमोन्स्ट्रेशन जस्ता कार्यक्रमहरु विशेष आकर्षणको रुपमा रहने इप्पानले जनाएको छ। विश्वकै पहिलो हाइड्रोपावर रोबोटिक कम्पिटिशन हाइड्रोकन २.० मा हाइड्रोपावरमा काम लाग्ने रोबोटहरुका साथै टनेल चेकिङ र इन्स्पेक्शन जस्ता काममा समेत सहायता प्रदान गर्ने रोबोटहरुको प्रतिष्पर्धा समावेश गरिने इपानले उल्लेख गरेको छ।

इपानका अनुसार एक्स्पोमा ड्रोन हाइड्रोपावर भिडियो मेकिङ कम्पिटिशन आकर्षणका रुपमा रहने छ । हाइड्रोपावरका विषयमा जानकारी दिने स्टल पनि राखिनुका साथै हाइड्रोपावरमा आधुनिक प्रविधिको सम्भावित प्रयोगका सम्बन्धमा एक्स्पोमा जानकारी दिने व्यवस्था गरिनेछ । यसका साथै एक्स्पो अवलोकनका लागि आउने इच्छुक अवलोकनकर्ताहरुलाई हेलिकप्टर मार्फत हाइड्रोपावर आयोजनाहरुको भ्रमण गराउने व्यवस्था गरिनेछ ।

यसरी एक्स्पोले नयाँ प्रविधिका साथै सम्बद्ध पक्षको सहभागितामा नयाँ आयाम थप्न टेवा पुऱ्याउने विश्वास इपानको छ।  एक्स्पोको ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा आयोजकको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved