
 2mb (1).gif)
नेपाली सिमेन्टको बजार सानो भएपछि उद्योगीहरु नयाँ बजार खोज्न व्यस्त छन् । धमाधम लगानी भित्रिरहेको भएपनि बजार भने साँघुरिँदै गएको उद्योगीहरुको गुनासो छ । हाल नेपालमा सञ्चालित ६० बढी सिमेन्ट उद्योगले आफ्नो क्षमताको ५० देखि मात्रै उत्पादन गर्दै आएका छन् । कोरोनाका कारण भौतिक निर्माणको काम ठप्प प्रायः हुँदा अहिले सिमेन्टको माग र उत्पादन घटेको छ ।
एकपछि अर्को उद्योग आउने क्रम जारी छ । केही दिन अघिबाट सौर्य सिमेन्टले पनि उत्पादन थालेको छ । भौतिक विकासको चरणमा रहेको नेपालमा निर्माण सामग्रीको रुपमा सिमेन्टको खपत पनि हुने नै भयो । तर, अबको १०/१५ वर्षपछि भौतिक विकासको चरण पार हुने देखेका उद्योगीहरु त्यसपछिको बजार कहाँ हो भन्नेमा ढुक्क छैनन् ।
नेपाली सिमेन्टको अहिलेको उत्पादन क्षमता वार्षिक १ लाख ५० हजार मेट्रिक टन हो । तर माग भने ९० लाख लाख टन मात्रै छ । पुँजीगत खर्च समयमै नहुँदा विकास निर्माणका कामहरु अघि बढ्न सकेका छैनन् । यसको असर प्रत्यक्ष रुपमा सिमेन्ट उद्योगमा पनि परेको छ ।
भारतमा निर्यातको असफल प्रयास
गत आर्थिक वर्ष २०७६/०७७ को बजेट भाषणमार्फत अर्थमन्त्री डा. युवराज खतिवडाले सिमेन्टलाई निर्यातयोग्य बस्तुका रुपमा विकास गरिने उद्घोष गरेका थिए । २०७६ सालको जेठ १५ गते संसदमा उभिएर बजेट भाषण गर्दैगर्दा यस्तो घोषणा गरेका डा. खतिवडाले चालु आर्थिक वर्ष २०७७/०७८ को पनि बजेट ल्याए । गत वर्षकै बजेटमार्फत सिमेन्टलाई निर्यातयोग्य बस्तुका रुपमा विकास गरिने भनिएपनि उनको नीतिले फेल खायो ।
सिमेन्टलाई निर्यातयोग्य बस्तुका रुपमा विकास गरिने भनिएपछि शिवम् र आरएमसी सिमेन्टले केही बोरा सिमेन्ट भारतको बिहारमा बेचे । तर, सरकारले नै ‘निर्यात पोलिसी’ नबनाउँदा उद्योगीहरुले निरन्तरता दिन सकेनन् । दक्षिण एशियाकै महँगोको सूचीमा दर्ज भएको नेपाली सिमेन्ट कानुन नबन्दा निर्यात हुनबाट बञ्चित भईरहेको छ ।
‘प्रतिस्पर्धी मूल्य हुनुपर्यो’
सरकारले निर्यात पोलिसी नबनाउँदा भारतमा सिमेन्ट बेच्न नसकिएको उद्योगीहरुको गुनासो छ । उत्पादन लगात कम भए मात्रै मूल्यमा प्रतिस्पर्धा गर्न सकिने भएकाले सरकारले कर, अन्तशुल्क, राजश्व जस्ता शीर्षकमा लिने शुल्क घटाउनुपर्ने उनीहरुको माग छ ।
अर्थमन्त्रीको अर्को असफलताः १३ महिनामा बजेट दोहोरियो तर बिकेन एक बोरा सिमेन्ट
सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा भारतमा पुगेपछि भारतीय उद्योगहरुको भन्दा सस्तो दरमा सिमेन्ट उपलब्ध गराउन सके मात्रै बजार विस्तार हुने भएकाले सरकारले त्यसतर्फ सोच्नुपर्ने बताउँछन् । नेपालसँग सीमा जोडिएका भारतीय क्षेत्रमा सिमेन्ट निर्यात गर्न सकिने बताउने अध्यक्ष थापा लागत कम हुनुको सट्टा वर्षैपिच्छे लागत बढिरहेका कारण अन्तराष्ट्रिय बजारमा नेपाली सिमेन्ट प्रतिस्पर्धी बन्न नसकेको गुनासो गर्छन् ।
‘क्वालिटीका हिसाबले भन्ने हो भने हाम्रो स्वदेशी चुनढुंगाबाट बनेको क्लिङकर र सिमेन्टको गुणस्तर इन्टरनेशनल स्ट्याण्डर्डको छ’ एकजना उद्योगीले भने, ‘तर मूल्य हेर्ने हो भने एकदमै उच्च छ, मूल्य धेरै भएकै कारण इन्टरनेशनल मार्केटमा हामी प्रतिस्पर्धी बन्न सकेका छैनौँ ।’
‘बजार त भारत नै हो’
भारतको उत्तर प्रदेश र बिहारमा नेपाली सिमेन्टले दबदबा कायम गर्न सक्ने उद्योगीहरुको बुझाइ छ । भारतमा ४९० रुपैयाँमा एक बोरा सिमेन्ट उपलब्ध हुन्छ । तर, नेपालमा भने उत्पादन खर्च नै ६ सय लाग्ने गर्छ । भारतमा सिमेन्ट सस्तो भएपनि सस्तो मूल्यमा उत्तर प्रदेश र बिहारमा भने पाइँदैन ।
त्यसैको फाइदा उठाउन नेपाली उद्योगीहरुले सिमा क्षेत्रमा प्लान्ट राखेर सिमेन्ट उत्पादन गर्दै आएका छन् । उत्तर प्रदेश र बिहारमा दैनिक २० हजार बोरा सिमेन्ट उत्पादन गर्ने फ्याक्ट्री नै नभएको र भारतीय उद्योगीहरुले चाहेर पनि त्यहाँ प्लान्ट राख्न नसक्ने नेपाली उद्योगीहरुको दाबी छ ।
‘यु.पी. र बिहारमा दिनको २० हजार बोरा सिमेन्ट उत्पादन गर्ने फ्याक्ट्री नै छैनन्, राजस्थान, मध्यप्रदेश र झारखण्डतिर मात्रै हो ठूला ठूला सिमेन्ट फ्याक्ट्री भएको, एक जना उद्योगीले भने, ‘तर, ती ठाउँबाट यु.पी र बिहारमा सिमेन्ट आइपुग्न १० देखि १५ दिन लाग्छ । हामी त एक दिनमै पुर्याउन सक्छौँ ।’
भारतको उत्तर प्रदेशको मात्रै जनसंख्या २० करोड छ । बिहारमा पनि ११ करोड जनसंख्या छ । यही आधारमा हेर्ने हो भने पनि उत्तर प्रदेश र बिहार नेपाली सिमेन्टको सबैभन्दा ठूलो बजार हुन सक्ने उद्योगीले बताउँदै आएका छन् । भारतको यी दुई प्रदेश नै नेपाली सिमेन्टको बजार हुने देखेरै सिमा क्षत्र नजिक प्लान्ट राखेको र सरकारले सिमेन्ट निर्यात गर्ने नीति बनाएर आफूहरुलाई सहयोग गर्नुपर्ने उद्योगीहरुको माग छ ।
यो पनिः