काठमाडौँमा स्याटेलाइट सिटीः स्थानीयले दिएको जग्गा प्लट बनेर फिर्ता

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 03, 2021 | 01:14:17 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ उपत्यकामा ३ वटा आधुनिक शहर बन्दैछन् । काठमाडौँ इशान (भक्तपुर), काठमाडौँ आग्नेय (भक्तपुर) र काठमाडौँ हरित (काठमाडौँ) नामका आधुनिक शहरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मन्त्रिपरिषद्मा पुगिसकेको छ । 

काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीका अनुसार ललितपुरमा बनाउन लागिएको ‘काठमाडौं नैऋत्य’ को डीपीआर भने मन्त्रिपरिषद्मा पठाईएको छैन । ललितपूर महानगरपालिकाले यो शहर स्वीकार गरिनसकेका कारण मन्त्रिपरिषद्मा जान नपाएको हो ।

स्थानीयले जग्गा दिनुपर्ने

अहिले मन्त्रिपरिषद्मा डीपीआर पुगेका ३ वटा आधुनिक शहर निर्माण गर्न स्थानीयले जग्गा उपलब्ध गराउनुपर्ने भएको छ । स्थानीयहरुले प्रतिकित्ता औसतमा ३५ प्रतिशत जग्गा योगदान गर्नुपर्ने र त्यसवापत सरकारले शहरमा घडेरी तथा प्लट उपलब्ध गराउने भएको हो ।

स्थानीयले दिएको जग्गा फराकिला सडक बनाउन, सार्वजनिक क्षेत्र निर्माण गर्न, सर्भिस प्लट राख्न र खुला ठाउँ छोड्न प्रयोग गरिने प्राधिकरणले जनाएको छ । नयाँ शहर बनिसकेपछि जग्गाको भाउ तीन गुणासम्म बढ्ने अनुमान गरिएकाले जग्गा उपलब्ध गराउँदा स्थानीयलाई कुनै घाटा नहुने प्राधिकरण बताउँछ ।

प्रस्तावित ४ शहरमध्ये सबैभन्दा ठूलो शहर ईशान हो । यो १ लाख ३ हजार ५ सय रोपनी क्षेत्रफलमा फैलिने छ । यी ४ आधुनिक शहर कुल १ लाख ३० हजार क्षेत्रफलमा बन्नेछन् । 

कुन शहरबाट कति घडेरी स्थानीयलाई ?

काठमाडौँ ईशान (पूर्व–उत्तर)

यो शहर चार वटा शहरमध्ये सबैभन्दा ठूलो हुनेछ । पूर्वमा भक्तपूरको नगरकोट जाने बाटो, तेलकोट बाटो, पश्चिमतर्फ जोरपाटी, मुलपानी, गोठाटार र उत्तरमा साँखु बजारसम्म फैलिने यो शहर निर्माणको लागत २ खर्ब ८६ अर्ब २५ करोड रुपैयाँ अनुमान गरिएको छ । 

२० हजार ४४२ रोपनी जग्गामा सडक र ५ हजार २२० रोपनी जग्गा खुला ठाउँका रुपमा राखिने प्रस्ताव छ । ५७ हजार ७२० रोपनी जग्गा भने स्थानीयले घडेरी र प्लटका रुपमा पछि फिर्ता पाउनेछन् । स्थानीयले प्रतिकित्ता ३६.९८ प्रतिशत जग्गा उपलब्ध गराउनुपर्ने र ६३.०२ प्रतिशत जग्गा प्लटका रुपमा पछि फिर्ता पाउने छन् । 

यसअघिः
काठमाडौँमा ४ स्याटेलाइट सिटीः १ लाख ३० हजार रोपनी जग्गा कहाँबाट जुट्यो ?

७ वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको यो परियोजनामा ४ हजार १ सय रोपनी जग्गा सर्भिस प्लटका रुपमा राखिने र प्लट बिक्रिवापत २ खर्ब ३ अर्ब ३६ करोड रुपैयाँ आम्दानी हुने दाबी गरिएको छ ।

काठमाडौँ आग्नेय (पूर्व–दक्षिण)

यो शहरको पूर्वमा अरनिको राजमार्गको सूर्यविनायकदेखि सूर्यविनायक मन्दिर छेउको बनसम्म, पश्चिममा खहरे खेला, बालकोट–विरुवा सडक, पानी ट्यांकी, बालकोट, अमरनगर, ठिमी हुँदै अरनिको राजमार्ग, उत्तरमा पनि अरनिको राजमार्गसम्म र दक्षिणमा सिनामखाल, रानीकोट जंगल, अनन्तलिंगेश्वर फेदी, तर्खगाल, पात्लेटार, विरुवा र खहरेसम्म फैलिने छ । यसको लागत २३ अर्ब २५ अर्ब रुपैयाँ अनुमान गरिएको छ । 

कुल १८ हजार ५७० रोपनी रोपनी जग्गामा बन्ने यो शहरमा ३ हजार ५०४ रोपनीमा सडक बन्नेछन् । ९९६ रोपनी खुला ठाउँ र १ हजार रोपनी जग्गा सर्भिस प्लटका रुपमा रहने शहर ५ वर्षभित्र निर्माण सकिने दाबी छ । 

यो शहरमा स्थानीयले प्रतिकित्ता औसतमा ३५ प्रतिशत जग्गा उपलब्ध गराउनुपर्ने छ । पछि ६५ प्रतिशत जग्गा प्लटका रुपमा फिर्ता गरिने छ । प्लट बिक्रि गरेका सरकारले ४० अर्ब आम्दानी गर्ने दाबी गरिएको छ । 

काठमाडौँ हरित (उत्तर)

प्रस्तावित यो शहर पूर्वमा सामाखुशी, टोखा रोड र बाईपासम्म फैलिने छ । पश्चिममा काभ्रेस्थलीदेखि बाईपास जाने बाटो, उत्तरमा सपनातिर्थ मालुङ हुँदै काभ्रेस्थली सडक र दक्षिणमा ग्रिनल्यान्ड चोकदेखि मनोरथ हुँदै महादेव खोला काभ्रेस्थलीको मुल बाटोसम्म पुग्नेछ ।

१३ हजार ६२३ रोपनी क्षेत्रफलमा फैलिने यो शहरको कुल लागत २३ अर्ब रुपैयाँ अनुमान गरिएको छ । यो शहरमा स्थानीयले प्रतिकित्ता औसत ३२.८७ प्रतिशत जग्गा उपलब्ध गराउनुपर्ने छ । पछि ६७.१३ प्रतिशत जग्गा स्थानीयले प्लटका रुपमा फिर्ता पाउनेछन् । 

सर्भिस प्लट बेचेर ३६ अर्ब ९ करोड रुपैयाँ कमाई हुने प्राधिकरणको लक्ष्य छ ।

सुविधै सुविधा

यी ३ वटा शहर निर्माण गर्न ३ खर्ब ३६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । ३ वटै आधुनिक शहर बनेपछि सर्भिस प्लट बिक्रिमार्फत मात्रै कुल २ खर्ब ७९ अर्ब ४५ करोड रुपैयाँ आम्दानी हुने प्राधिकरणको दाबी छ । 

स्थानीयको जग्गा लिएर प्लट बनाउने र पछि स्थानीयलाई नै फिर्ता गर्ने नीति लिएर व्यवस्थित आवासका लागि आधुनिक शहर बनाउन लागिएको र यो वैज्ञानिक हुने प्राधिकरणको दाबी छ ।

साइकल लेन, चौडा र अन्डरग्राउन्ड सडक, आकासे पुल, मनोरञ्जन पार्क, सपिङ मल, व्यवस्थित आवास, प्रशस्त खुला ठाउँ, खेल मैदान, स्वीमिङ पुल, बिजुली, विद्यालय, अस्पताल जस्ता पूर्वाधार अत्याधुनिक शैलीमा निर्माण गरिनेछ । 

बिजुली, इन्टरनेट र टेलिफोनका तार भूमिगत गरिने डीपीआरमै उल्लेख छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved