निषेधाज्ञामा झनै बढे कोरोना संकमित, घर घरमा परिक्षण गर्न विज्ञको सुझाव

लक्ष्मण लम्साल

लक्ष्मण लम्साल

Aug 26, 2020 | 08:09:52 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ उपत्यकामा जारी गरिएको निषेधाज्ञाको अवधिमा कोरोना संक्रमितको संख्या झनै बढेको पाईएको छ । थप संक्रमण फैलन नदिनको लागि गरिएको निषेधाज्ञाको अवधिमा सामान्य अवस्था (निषेधाज्ञा नहुँदा)को अवस्थाको भन्दा बढी संक्रमित भेटिएका हुन् ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले भदौ ३ गतेको मध्य रातदेखि लागु हुनेगरी एक साताका लागि निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञाको अवधिमा  कोरोना संक्रमितको संख्या घट्नुको साटो झन् बढेको हो । उपत्यकामा निषेधाज्ञा जारी भएको एक सातामा १५ सय २१ जना संक्रमित थपिएका छन् । जुन निषेधाज्ञा जारी हुनुभन्दा अघिको एक सातामा उपत्यकामा थपिएका संक्रमित भन्दा ४७३ जना बढी हो । निषेधाज्ञा जारीहुनु अघि अर्थात साउन २९ गतेदेखि भदौ ३ गतेसम्मको अवधिमा उपत्यकामा १ हजार ४८ जना संक्रमित थपिएका थिए । 

 समुदायस्तर मै फैलिएको आशंका 

निषेधाज्ञा जारी गर्दा पनि संक्रमितको संख्या झनै बढ्नुले उपत्यकामा कोरोना समुदाय स्तर मै फैलिएको हो कि भन्ने आशंका गरेका छन्  । तर, जनस्वास्थ्य विज्ञहरु भने यसलाई नकार्दै समुदाय स्तर मै संक्रमण नफैलिएको बताउछन् । जनस्वास्थ्य विज्ञ डा. रबिन्द्र पाण्डेका अनुसार कोरोना संक्रमणको तेस्रो चरणलाई समुदाय स्तरमा फैलिएको मानिन्छ । उनी भन्छन् ' पहिलो चरण भनेको कुनै अर्को ठाउँबाट आएको व्यक्तिमा संक्रमण भेटिनु होे । दोस्रो चरण भनेको ति आएका व्यक्तिबाट त्यस ठाउका मानिसहरलाई संक्रमण फैलिनु हो र तेस्रो चरण भनेको चै कस्लाई कहाँबाट संक्रमण भएको भन्ने नै थाहा नहुनु हो' । यसरी हेर्दा अहिले उपत्यकामा समुदाय स्तर मै फैलिएको मान्न नसकिने उनको भनाई छ। तर, सरकार र जनता कोरोना प्रति गम्भिर नभए उपत्यकामा समुदायस्तर मै फैलिन सक्ने उनी बताउछन् । 

त्यस्तै,जनस्वास्थ्यविद् डा समीरमणि दीक्षित पनि अहिले नै कोरोना समुदायस्तरमा फैलियो भन्ने अवस्था नरहेको बताउँछन् ।  ५० लाख मानिस रहेको उपत्यकामा दिनमा एक दूई हजार जनाको परिक्षण गरेर समुदायस्तरमा  फैलिएको र नफैलिएको बारे भन्न नसकिने डा दीक्षितको तर्क छ । 

निषेधाज्ञाको एक सातामा किन घटेनन् संक्रमित ?

निषेधाज्ञाको समिक्षा गर्ने बेला अहिलेनै नभएको भन्नेमा पाण्डे र दीक्षितको एकमत छ । यो साता भएको निषेधाज्ञाको रिजल्ट अबको १० दिनपछिमात्र समिक्षा गर्न मिल्ने उनीहरु बताउँछन् । उनीहरुका अनुसार निषेधाज्ञाको एक सातामा संक्रमित झनै बढी देखिनु भनेको निषेधाज्ञा जारी हुनुभन्दा १० दिन अघिको अवस्थाले निर्क्योल गर्छ । तर, अहिलेको निषेधाज्ञा मुख्य सडकमा मात्र भएको र भित्रि गल्लिहरुमा निषेधिाज्ञा पूर्ण रुपमा पालना नभएको पाण्डेको भनाई छ। भित्रि गल्लिहरुमा निषेधाज्ञाले छुन समेत नसकेकोले निषेधाज्ञा सिमित स्थानमा मात्र लागु गरिएको बुझ्नु पर्ने पाण्डे बताउँछन् । 

अब के गर्ने ?

निषेधाज्ञा आवश्यक थियो या थिएन भन्नेमा दुवै विज्ञको फरक फरक तर्क छ । डा. पाण्डे निषेधाज्ञालाई कर्फ्युभन्दा कडा गर्नुपर्ने बताउछन् भने  लकडाउन गरीरहनु नपर्ने डा.दीक्षितको भनाई छ । तर, डा पाण्डे पनि लामो समय निषेधाज्ञा र लकडाउन गर्न नहुने पक्षमा छन् । उनी भन्छन् ‘एक साता कर्फ्यु सरह निषेधाज्ञा गरेर त्यस अवधिमा पिसिआर टेस्ट व्यापक बढाउँनु पर्छ । त्यस अवधिमा दिनमा कम्तिमा एक लाखको हाराहारीमा पुुर्याउँनु पर्छ र संक्रमित जतिलाई आइसोलेसन र क्वारिन्टाईनमा राखेर अन्यलाई स्वास्थ मापदण्ड पालना गरेर सामान्य अवस्थामा छोडिदिनु पर्छ ।’ 

सरकारले अहिले दिनमा २२ हजारका दरले परीक्षण गर्न सकिने क्षमता रहेको बताएको छ । तर अहिले सरकारसंग रहेकोे यहि स्रोत साधनले दिनमा एक लाख पीसीआर परीक्षण गर्न सकिने डा. पाण्डे बताउँछन् । ‘पुलिङ विधि अपनाउने हो भने अहिले सरकारसंग भएको स्रोत साधनले नै दैनिक रुपमा एक लाख पीसीआर परीक्षण गर्न सकिन्छ ।’ उनले भने ।

उनका अनुसार 'पुलिङ टेष्टमा शंकास्पद ५ व्यक्तिको स्वाब संकलन गरेर राखिन्छ। पाँच जनाबाट संकलित स्वाबलाई एउटै ट्युबमा मिसाइन्छ। जसमध्ये एक जनाबाट १४० माइक्रोलिटर नमूना निकालेर त्यसलाई एउटै नमूनाको रुपमा कोरोना परीक्षण गरिन्छ। एक जनाबाट १४० माइक्रोलिटरका हिसाबले पाँच जनाको सात सय माइक्रो लिटर नमूनालाई परीक्षण गरिन्छ। उक्त नमूनाको रिपोर्ट नेगेटिभ आए पाँचै जनाको नमूना पुनः परीक्षण गर्नु पर्दैन। यो हिसाबले बाँकी चार वटा कीट बचत गर्न सकिन्छ। तर नतिजा पोजेटिभ आए पाँचै जनाको नमूना छुट्टाछुट्टै पुनः परीक्षण गर्नुपर्ने हुन्छ।'

तर, डा. दीक्षित भने अब लकडाउन गरी रहनु नपर्ने बताउँछन् । उनी भन्छन् ‘स्वास्थ्य मापदण्ड पालना गरेर अवस्थालाई सामान्य अवस्थामा छाडिदिउँ। मास्क, ग्लब्स, सेनिटाइजनर लगायतको प्रयोग गरौं र सामाजिक दूरी कायम गरेर पहिलाकै अवस्थामा फर्किनु पर्छ ।’

मास्क लगाएर सामाजिक दूरी मात्र कायम गर्ने हो भने संक्रमण फैलिन धेरै हद सम्म कम हुने उनको भनाई छ । लकडाउन गरेर उपत्यकाका ५० लख जनाकै टेस्ट गर्ने हो भने लकडाउनको औचित्य हुने अन्यथा लकडाउन गर्नुको औचित्य नरहेको उनी बताउछन्। उनी भन्छन् 'एक जना मात्र संक्रमित रहेको अवस्थामा त्यसै बाट फेरी माहामारी फैलिन्छ । अहिले भएको पनि त्यहि हो । तर, अहिलेको अवस्थामा सबै संक्रमित पत्ता लगाउने कुरो असम्भव छ ।’

प्रत्येक घर तथा परिवारमा कम्तिमा एक जनाको परीक्षण गर्ने र प्रोटोकल पालना गरेर सामान्य अवस्थामा नै फर्किदा ठिक हुने उनी बताउछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved