बिजपाटी फलोअपः गोरखकाली रबर उद्योग पुनः सञ्चालनमा आउने सम्भावना कति ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 05, 2021 | 10:59:24 AM मा प्रकाशित

laxmi  sunrise bank

गोरखकाली रबर उद्योग बन्द भएको ६ वर्षपछि पुनः सञ्चालनको कसरत सुरु भएको छ । केही दिनअघि बिजपाटी डटकमले गोरखाली रबर उद्योग बन्द भएपछि टायरमा मूलुक सत् प्रतिशत परनिर्भर भएको र चालु आर्थिक वर्षको १० महिनामा ८ अर्बको टायर आयात भएको समाचार लेखेको थियो ।

उक्त समाचार प्रकाशित भएपछि उद्योग मन्त्रालयले बन्द भएका तथा रुग्ण अवस्थामा रहेका उद्योगलाई सञ्चालनमा ल्याउने घोषणा बजेटमार्फत नै भएको र गोरखकालीको सम्बन्धमा असार भित्रै पुनः सञ्चालनको मोडल बनाईने बताएको छ ।

‘रुग्ण उद्योगहरु नीजि क्षेत्रसँग मिलेर चलाउने तयारी छ’ उद्योग मन्त्रालय स्रोत भन्छ, ‘गोरखकाली रबर उद्योग पनि निजी क्षेत्रसँगै मिलेर चलाउने हो, तर निजी क्षेत्रबाट के के सहयोग लिने र सरकारले के के दिने भन्ने टुंगो लाग्न बाँकी छ । असार भित्रै टुङ्ग्याउँछौँ ।’ 

शंका कायमै

२०७६ साउन १९ गतेको मन्त्रिपरिषद बैठकले रुग्ण उद्योगको अध्ययन गरी सुझाव दिन पूर्वसचिव दीपक सुवेदीको संयोजकत्वमा ६ सदस्यीय अध्ययन समिति गठन गरेको थियो । रुग्ण उद्योगको पहिचान, वर्गीकरण तथा पुनरुत्थानका लागि सरकारलाई सुझाव दिन गठित उक्त समितिले रुग्ण उद्योगहरु ‘सरकार आफैँले चलाउँदा हुन्छ’ भन्ने सुझाव दिएको थियो ।

उक्त समितिले हालको प्रतिस्पर्धी बजारमा आधुनिक मेशिनहरु ल्याएर सरकार आफैँले गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउनु राम्रो हुने सुझाव दिएको थियो । तर, समितिको सुझाव विपरित सार्वजनिक नीजि साझेदारी (पीपीपी) मोडलमा चलाउने तयारी थालिएको छ । 

तर, गोरखाकाली रबर उद्योग पुनः सञ्चालन हुनेमा आशंका उब्जिएका छन् । कर्मचारीहरु नभएको, उत्पादन क्षमता कमजोर रहेको, ब्याजदर महँगो भएका कारण तिर्न असमर्थ, कच्चा पदार्थ किन्न सक्ने क्षमता गुमाउँदै गएको र मजदुरको हड्तालले गिजोलिएको गोरखकाली राबर उद्योग पुनः सञ्चालनमा ल्याउन शून्यबाट प्रक्रिया सुरु गर्नुपर्ने तर, त्यसो हुने सम्भावना नदेखिएको अध्ययन समितिकै सदस्यको शंका छ । 

यसअघिः
गोरखकाली मासेपछिको नतिजाः टायर किनेरै १० महिनामा ८ अर्ब बाहिरियो

चालु आर्थिक वर्षबाटै यो उद्योग पुनः चलाउने दाबी गरिएपनि अहिलेकै अवस्थामा सरकारले लगानी गर्न पनि नसक्ने भएकाले यसै वर्षबाट सञ्चालनमा आउन नसक्ने उद्योग मन्त्रालयकै अधिकारीको भनाई छ ।

सरकारै पिच्छेका फरक फरक नीति

सबैजसो सरकारले गोरखकाली रबर उद्योग पुनः सञ्चालनमा ल्याउने बताईरहे । २०७१ साल चैतबाट बन्द भएको यो उद्योग आर्थिक वर्ष २०७२÷०७३ को नीति तथा कार्यक्रममा पुनः सञ्चालन गरिने भनियो । तर, सम्पत्ति संरक्षण गर्न केही कर्मचारी खटाउने बाहेक अरु काम केही भएनन् ।

२०७४ सालको निर्वाचनपछि बनेको वर्तमान सरकारले ४ वटा बजेट ल्याईसकेको छ । ३ वटा बजेट कार्यान्वयन पनि सकिएका छन् । चौँथो बजेट साउन १ बाट कार्यान्वयनमा जाँदैछ । यी सबै बजेटमा गोरखकाली रबर उद्योग पुनः सञ्चालनमा ल्याउने कुरा छुटेन । तर, उद्योग सञ्चालनमा आउनुको सट्टा भएका सम्पत्तिको ‘भ्यालु’ दिनप्रतिदिन घट्दै गयो ।

यो उद्योगमा सरकारको ३८ प्रतिशत र उद्योग क्षेत्रका समुदायको २१ प्रतिशत लगानी छ । बाँकी साल्ट ट्रेडिङलगायत सरकारी संस्थान र बैंकहरूको लगानी छ । नेपाल सरकार, समुदाय, सरकारी संस्थान र बैंकहरूको कुल २८ करोड लगानी रहेको उद्योगको सम्पत्ति के कति छ भन्नेबारे हाल मूल्यांकन भईरहेको उद्योग मन्त्रालयको संस्थान महाशाखाले जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved