खस्किँदै गएको नेपालको अर्थतन्त्रप्रति धेरैको चासो बढ्ने क्रम जारी छ । अर्थतन्त्रमा देखिएको संकुचन र मूल्यवृद्धिका सँगसँगै सरकार र वित्तीय निकायको टसलका कारण नेपाल आर्थिक रूपमा असफल राष्ट्र त हुँदैन भन्ने चिन्ता र चासो धेरैतिरबाट व्यक्त भएको छ ।
खासगरी विदेशी मुद्रा सञ्चितीमा आउँदै गरेको ह्रास, बैंकिङ क्षेत्रमा सुकेको तरलता, सरकारले गर्न नसकेको पूँजीगत खर्च, मूल्यवृद्धि लगायतका अर्थतन्त्रका निकै संवेदनशील विषयवस्तुलाई लिएर सरकारले कस्तो नीति अपनाउनुपर्ला भन्दै चारैतिर बहस चलिरहेको अवस्था छ ।
देश चुनावको संघारमा उभिएको छ । सही राजनीतिक नेतृत्व नभएकैले अर्थतन्त्र बिग्रिएको दाबी गरिएका बेला अर्थतन्त्र र आगामी राजनीतिक नेतृत्वका बारेमा हुने छलफलले थोरै नै भएपनि देशलाई सही मार्गनिर्देशन गर्ने प्रयास गर्न सक्छ ।
यसैबारे बिजपाटीले अर्थशास्त्री डाक्टर डिल्लीराज खनाललाई विदेशी मुद्रा सञ्चिती बढाउन के गर्नुपर्छ भनेर सोधेको थियो । उनले पूँजीगत खर्च बढाउनुपर्ने, रेमिट्यान्सलाई वैध च्यानलबाट भित्र्याउनुपर्ने लगायतका आधा दर्जन उपायहरू बताए ।
उनी भन्छन्, 'विदेशी मुद्रा सञ्चिती ज्यादै रूपमा घट्ने क्रम छ । सरकारको पूँजीगत खर्च गर्ने क्षमता कमजोर भएको छ । अहिलेको अवस्था यस्तो छ कि, हिजो कोभिडको असरको बेलामा पनि पूँजीगत खर्च गर्ने सरकारको क्षमता यो जस्तो नाजुक भएको थिएन ।
बैंकहरूले पैसा प्रवाह गर्न सकेका छैनन् । मान्छेहरूले दश लाख माग्न गए २ लाख दिएर पछि आउनुस् भनेर बैंकहरूले पठाउने अवस्था छ । आयातलाई नियन्त्रण गरिएको छ । नियन्त्रण पनि यस्तो हिसाबले गरिएको छ जसले सरकारी आम्दानीलाई नकारात्मक प्रभाव पारेको छ । राजस्वको स्रोत सुकिरहेको छ ।
अर्थतन्त्र ह्रास हुँदै गइरहेको छ, त्यस सँगसँगै जनता मूल्यवृद्धिले आक्रान्त भएका छन् । सामान्य अर्थशास्त्रका हिसाबले यो प्याराडक्स जस्तो देखिएको छ ।
मान्छेका हातमा धेरै पैसा भए पो मूल्यवृद्धि हुने हो । माग बढेका कारण मूल्यवृद्धि भएको छैन, बरू मान्छेका हातमा पैसा नहुँदा माग घटेको छ तर मूल्यवृद्धि रोकिएको छैन । नेपालमा अर्थशास्त्रको सामान्य नियम पनि लागू भइरहेको छैन ।
सबैतिरबाट हाम्रो अर्थतन्त्र गहिरो संकटतिर गइरहेको छ भनेर बुझ्न गाह्रो छैन ।
यसको संस्थागत या दीर्घकालीन केही कारणहरू छन् । रेमिट्यान्स आउने, बढी आयात हुने, उपभोगमा केन्द्रित हुने, बैंकिङ क्षेत्रले आयात र अनुत्पादक क्षेत्रमा खर्च गर्ने जस्ता कामहरूले अर्थतन्त्रको उत्पादनशीलता बढाएन ।
हाम्रा स्रोत र साधनहरूको बढी भन्दा बढी सदुपयोग गरेर अर्थतन्त्रलाई उत्पादनको दिशातर्फ लगेको भए अहिले यो अवस्था आउने थिएन । हिजो पंचायतकाल देखि नै भनौं न । त्यतिबेलैदेखि सामान आयात गर्ने अनि ब्ल्याकमार्केटिङ गर्ने कालोधन कमाउने जस्ता कामहरू भए ।
नेपालको अर्थतन्त्र अहिले मात्र होइन, सधैं घिस्रिने मात्र भइरहेको छ । कोभिडपछि सरकारले तुलनात्मक रूपमा जे दिनुपर्थ्यो, त्यो अनुसारको वित्तीय प्रोत्साहन ल्याउन सकेन । बढी भर बैंकिङ क्षेत्रमा पर्यो ।
संकटबाट पार पाउन डलर सञ्चिती बढाउनु पर्छ । यसका लागि ५/६ वटा तरिकाहरू छन्, तिनीहरूलाई तत्काल अवलम्बन गर्नुपर्छ । पहिलो सरकारले आफ्नो पूँजीगत खर्च व्हात्तै बढाउनुपर्छ । त्यसमा पनि यस्ता परियोजनाहरू जहाँ विदेशी लगानी, अनुदान या ऋण आएको छ ।
पर्यटन रिभाइभ हुन थालेको छ, सरकारले व्यापक रूपमा अघि बढाउन जरुरी छ । पर्यटनले तत्कालै रिटर्न दिन्छ । तेस्रो नेपालमा आउने रेमिट्यान्सलाई वैध र कानूनी तरिकाबाट ल्याउन प्रोत्साहन गर्नुपर्छ । अहिले सुनिन्छ, धेरै देशहरूबाट हुण्डीबाट गैर-कानूनी ढंगले पैसा पठाइन्छ भनेर, त्यो रोक्नुपर्छ ।
चौथो, गैरआवासीय नेपालीहरूलाई नेपालमा डलर खाता खोलेर पैसा हाल्न भन्नुपर्यो । यसबारे पहल पनि भइरहेको मैले सुनेको छु । विदेशबाट नेपाली बैंकमा पैसा आउन थाल्यो भने बैंकिङ क्षेत्रको तरलता पनि त्यसले बढाउने भयो । सँगै त्यसले विदेशी मुद्रा पनि नेपाल भित्रिने भयो । पाँचौं, अलिकति फास्ट ट्रयाकमा हामीले विदेशी लगानी ल्याउन सक्यौं भने पनि हाम्रो सञ्चितीको दबाब हट्छ । '
भिडियोमा हेर्नुहोस् डा. खनालसँग गरिएको कुराकानीको पूरा अंश :