'यहि वर्ष नाफामा जान्छौ, त्यसपछि सिंगटी हाइड्रोले लाभांश दिन्छ' (अन्तर्वार्ता)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2024 | 10:24:35 AM मा प्रकाशित

laxmi  sunrise bank

सिंगटी हाईड्रो इनर्जी लिमिटेडले आज फागुन २ गतेदेखि हकप्रद निष्काशन गर्दै छ। कम्पनीले  १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

अन्य जलविद्युत आयोजनामा लगानी गर्न तथा कम्पनीको ऋण चुक्ता गर्न हकप्रद निष्काशन गर्न लागिएको कम्पनीले जनाएको छ। यसै सन्दर्भमा कम्पनीको वित्तीय अवस्था, कम्पनीको आयोजनाको अवस्था, कम्पनीको भावी योजना, लगायतका विभिन्न समसायिक विषयमा कम्पनीका प्रबन्ध संचालक सुदिप खड्कासँग कुराकानी गरेका छौ ।

प्रस्तुत छ कुराकानीको सम्पादित अंश:

अहिले कम्पनीको आयोजनाको अवस्था कस्तो छ ?

अहिले कम्पनीले दोलखामा २५ मेगावाट क्षमताको सिंगटी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । कम्पनीले उत्पादन गरेको विद्युत प्राधिकरणले नियमित खरिद पनि गरिरहेको छ। आयोजनाबाट उत्पादन भएको एक्सेस बिजुलीको भने प्राधिकरणले हिउँदको समयमा मात्र खरिद गर्ने गरेको छ । आयोजना पूर्ण क्षमता मा नै चलिरहेको छ ।

शतप्रतिशत हकप्रद बिक्री गर्दै हुनुहुन्छ, कति प्रतिशत बिक्री होला ?

सकेसम्म पूर्ण शेयर नै बिक्री होस् भन्ने भन्ने हाम्रो चाहना हो । यद्यपि ८० देखि ९० प्रतिशतसम्म हकप्रद बिक्री हुन्छ भन्ने अनुमान रहेको छ । कतिपय शेयरधनी बाहिर हुने, कतिपयले थाहा नपाउने, कतिपयले आर्थिक अवस्थाको कारण शेयर भर्न नसक्ने हुने जस्ता समस्याले गर्दा ९० प्रतिशत हाराहारी शेयर बिक्री हुन्छ भन्ने हाम्रो अनुमान छ । 

जसको डिम्याट खाता छैन, उसले कसरी आवेदन दिन सक्छ ?

हामीले डिम्याट खाता नबनाएकाहरुलाई पनि हकप्रद भर्न सक्ने व्यवस्था गरेका छौ । हकप्रदको लागि आवेदन दिनको लागि तोकिएका केन्द्रमा गएर आफ्नो परिचयपत्र देखाएर शेयरधनी रहेका तर डिम्याट खाता नभएका शेयरधनीले पनि आवेदन दिन सक्ने व्यवस्था गरेका छौँ । 

हकप्रद निष्काशनको लागि कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ । क्यापिटलको नागपोखरी स्थित कार्यालयबाट आवेदन दिन सकिन्छ । त्यस्तै कुमारी बैंकको उपत्यका भित्र  कुमारीपटी र  ठिमी शाखाबाट तथा उपत्यका बाहिर हेटौडा, बिर्तामोड, बिराटनगर, बिरगंज, जनकपुर, नारायणगढ, पोखरा,  बेनी, बुटवल, सुर्खेत, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर, र चरिकोट शाखाबाट आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

आयोजना प्रभावित स्थानीयलाई लक्षित गरेर नेपाल इनभेष्टमेन्ट मेगा बैंकको सिंगटी शाखा, नेपाल बैंकको सिंगटी शाखा र प्रभु बैंकको   सिंगटी शाखाबाट पनि आवेदन दिन सकिन्छ । 

नेपाल बाहिर रहेका शेयरधनीहरुको हकमा आफन्त मार्फत आवेदन दिन सक्नेछन् ।  त्यसको लागि नाता खुल्ने परिचयपत्र आवश्यक पर्छ ।  

हकप्रदको बिक्रीबाट उठेको रकम कहाँ कहाँ खर्च हुन्छ ?

हामीले शतप्रतिशत हकप्रद निष्काशन गर्दा १४५ करोड रकम उठाउने छौ ।  यो रकम मध्ये ६५ करोड रुपैयाँ हामीले बैंकको ऋण तिर्ने छौ । हामीले ४०० करोड ऋण तिर्न बाँकि छ । 

त्यस्तै अर्बिट इनर्जी प्रा. लिमा ६४ करोड र ह्याबिटाट पावर कम्पनीमा १६ करोड लगानी गर्ने छौ । अर्बिट इनर्जीले कोशी प्रदेशको संखुवासभा जिल्लाको सभापोखरी गाँउपालिकामा रहेको सभा खोला सीबाट ६.३ मेगावाट क्षमताको विद्युत्निर्माण र सञ्चालन र उत्पादन गर्ने र सभा खोला बी जलविद्युत् आयोजनाबाट २१.५ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने आयोजना सञ्चालन गरिरहेको छ । हालसम्म सिंगटी हाइड्रोले ४ करोड ४३ लाख ५० हजारको दीर्घकालीन लगानी गरिसकेको छ । अर्बिट इनर्जीमा हकप्रद शेयरबाट प्राप्त रकमबाट रु. ६४,००,००,००० दीर्घकालीन लगानी गर्ने छौ जसमध्ये रु.४,४३५,०,००० लगानी गरिसकिएको छ ।

त्यस्तै ह्याबिटाट पावरले कोशी प्रदेशको सिदिन र याङ्नाम गाविसमा रहेको हेवा ए साना जलविद्युत्आयोजनाबाट ०.५ मेगावाट क्षमताको  आयोजना निर्माण गरिरहेको छ ।  त्यस कम्पनीमा १६ करोड लगानी गर्ने छौ ।

कम्पनीले लाभांश कहिले दिन सक्छ ?

हामीले ६५ करोड ऋण तिरेपछि ब्याजको रकम जोगिन्छ। हामीले यो वर्ष कन्ट्रयाक्ट इनर्जीको ९५ प्रतिशत बिजुली बेच्ने लक्ष्य लिएका छौ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ देखि नाफा कमाउने र आर्थिक वर्ष २०८१/८२ देखि शेयरधनीहरूलाई लाभांश वितरण गर्न सक्ने अपेक्षा गरिएको छ ।

घाटामा रहेको कम्पनीको हकप्रद किन भर्ने ?

सुरुमा बैंकको ब्याजदर महंगो भएर कम्पनीको घाटा बढ्यो । हामीले ५ वर्षको लागि ७ प्रतिशत स्थिर ब्याजमा सम्झौता गरेका थियौ । तर परिस्थितिले गर्दा ब्याजदर बढेर १३ प्रतिशतसम्म बढ्यो । तर अहिले भने ब्याजदर घटेको छ । अब भने कम्पनी विस्तारै नाफामा जाने छ । बैंकलाई तिर्नुपर्ने वित्तीय लागतमा कमी ल्याउने ऋण चुक्ता गर्दा आगामी वर्षमा नाफा कमाउने अपेक्षा गरेका छौ । प्रस्तावित आयोजनाहरुमा समेत गरिने लगानीमा हुने विविधिरण मार्फत जोखिम न्यूनीकरण हुने विश्वास छ जसबाट यस कम्पनीलाई भविष्यमा प्राप्त हुने प्रतिफल यस कम्पनीका कायम शेयरधनीहरुलाई लाभांशको रुपमा प्राप्त हुनेछ । सोहि कारण हकप्रदमा आवेदन दिन आग्रह गर्छु ।

अन्तिममा लगानीकर्तालाई के संदेश दिन चाहन्छु ?

अब सिंगटी मार्फत हामीले अन्य आयोजनामा लगानी गर्दै जाने छौ । ति आयोजनाबाट प्रतिफल प्राप्त हुँदै जाने छ । कम्पनी पनि मजबुत हुँदै जाने छ। कम्पनीको आगामी भविष्य राम्रो छ। कोहि पनि योग्य लगानीकर्ता हकप्रदमा आवेदन दिनबाट नछुटुनको लागि आग्रह गर्न चाहन्छु । हालसम्म यस कम्पनीमा विश्वास गर्ने लगानीकर्तालाई हार्दिक धन्यवाद दिन चाहन्छौ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved