सिमेन्ट उद्योगी भन्छन्, ‘भारतबाट सिमेन्ट ल्याउन रोकौँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2021 | 11:07:53 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सिमेन्टलाई ४३ ग्रेडको मान्यता दिन थालेपछि उद्योगहरु ग्रेड बृद्धिको निवेदन बोकेर गुणस्तर विभाग पुग्न थालेका छन् । निवेदन दिएका मध्ये विभागले पहिलो चरणमा ३ वटा उद्योगलाई ४३ ग्रेडको मान्यता दिएको छ । शिवम् सिमेन्ट, शुभश्री अग्नी सिमेन्ट र मारुती सिमेन्टले ४३ ग्रेडको मान्यता पाएका हुन् ।

उत्पादनका आधारमा ठूला कहलिएका अधिकांश सिमेन्ट उद्योगले ग्रेड वृद्धिको लागि विभागमा निवेदन दिइसकेका छन् । निवेदन दिएका उद्योगहरुले उत्पादन गरेको सिमेन्टको गुणस्तर परीक्षण भईरहेको र विभागले गर्ने उत्पादनको गुणस्तर परीक्षणमा सफल हुनासाथ उनीहरुलाई ४३ ग्रेडको मान्यता दिईने विभागले जनाएको छ । 

के छ प्रक्रिया

सुरुमा उद्योग आफैँले ग्रेड बृद्धिको निवेदन विभागमा बुझाउनुपर्ने छ । निवेदन आएपछि विभागले उद्योगको नमूना संकलन गरेर आफ्नो ल्याबमा परीक्षण गर्छ । ४३ ग्रेडका लागि तोकिएको मापदण्ड पुरा गरेको पाइए विभागले उद्योगको प्रस्ताव नेपाल गुणस्तर परिषदमा पठाउँछ । 

परिषदले पास गरेपछि उद्योगले ग्रेड वृद्धिको प्रमाणपत्र पाउने प्रावधान छ । यदि विभागले परिषद्मा पठाएको प्रस्ताव अस्वभाविक लागेको खण्डमा परिषद्ले अस्वीकृत गर्न पनि सक्नेछ ।

५३ ग्रेडको मान्यता दिन माग

नेपाल गुणस्तर परिषद्ले साधारण पोर्टल्यान्ड सिमेन्ट (ओपीसी)को ग्रेड ४३ र ५३ कायम गर्ने निर्णय गरेको थियो । त्यसका लागि सुरुमा ३३ ग्रेडको मान्यता लिएको हुनैपर्ने भएपनि गत माघमा सिमेन्ट उद्योगले आफ्ना उत्पादनलाई ३३ ग्रेडको मापदण्डअनुसार बनाएका थिए ।

नेपाल सिमेन्ट उद्योग संघका अध्यक्ष ध्रुब थापाका अनुसार नेपाली उद्योगले ५३ ग्रेडकै सिमेन्ट उत्वादन गर्ने भएपनि अहिलेसम्म ५३ ग्रेडको प्रमाणपत्र भने पाएका छैनन् । उद्योगीहरुले ५३ ग्रेडको मान्यता पनि दिन माग गरिरहेका छन् । यसले नेपाली सिमेन्टको खपत बढ्ने उनीहरुको दाबी छ ।

‘हामीले उत्पादन गर्ने सिमेन्ट कम गुणस्तरको हुँदैन तर, ५३ ग्रेडको मान्यता नपाएकै कारण हाम्रो देशमा बन्ने ठूला आयोजनामा विदेशी सिमेन्ट प्रयोग भईरहेको छ’ अध्यक्ष थापा भन्छन्, ‘यही कारण हाम्रा उद्योगहरु पूर्ण क्षमतामा चल्न सकेका छैनन्, यदि ५३ ग्रेडको मान्यता हामीले पाउने हो भने ठूला आयोजनामा पनि स्वदेशी सिमेन्ट नै प्रयोग हुन्छ, माग बढ्छ । हाम्रा उद्योगहरु पूर्ण क्षमतामा चल्छन्, विदेशी सिमेन्टसँग पनि प्रतिस्पर्धा गर्न सजिलो हुन्छ र निर्यात पनि गर्न सक्छौँ ।’

राष्ट्रिय गौरवका आयोजनामा ५३ ग्रेडको सिमेन्ट प्रयोग गर्नुपर्ने भएकाले अहिले पनि नेपालमा भारतबाट सिमेन्टको आयात भईरहेको छ । यदि, नेपाली सिमेन्टले आफ्नो उत्पादनको गुणस्तर अनुसार ५३ ग्रेडको मान्यता पाए सिमेन्टबाट हुने ब्यापार घाटा शून्यमा झर्ने उद्योगीहरुको दाबी छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved