काठमाडौंमा १४२ केन्द्र संवेदनशील, हेलिकोप्टर ‘स्ट्यान्डबाई’, यस्तो छ सुरक्षा ब्यबस्था

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 13, 2017 | 07:26:35 AM मा प्रकाशित

laxmi  sunrise bank

पहिलो चरणको स्थानीय तहको निर्वाचनमा चितवन र ६ नम्बर प्रदेशका जिल्लाहरू सुरक्षाका दृष्टिकोणले बढी संवेदनशील सूचीमा परेका छन् । गृह मन्त्रालयले सोहीअनुसार ती जिल्लामा सुरक्षा रणनीति बनाई थप सुरक्षाकर्मी परिचालन गरेको छ ।

चितवनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको गतिविधि धेरै भएकाले संवेदनशीलको सूचीमा परेको हो । सुरक्षा मूल्यांकनकै आधारमा चितवनमा प्रहरीले मेयरका उम्मेदवारलाई व्यक्तिगत सुरक्षागार्डसमेत दिएको छ । चितवनमा नेकपाको संगठन भएकाले हिंसात्मक घटना गर्न सक्ने आ“कलन गरिएको छ ।

त्यस्तै, ६ नम्बर प्रदेशका मध्यपश्चिमका रुकुम, डोल्पा, हुम्ला, कालिकोट, दैलेख, सुर्खेत, जुम्ला, मुगु, जाजरकोट, सल्यान जिल्लालाई प्रहरीले संवेदनशीलमा राखिएको छ । विप्लवको गतिविधि यी जिल्लामा रहेकाले चुनावविरोधी घटना हुनसक्ने गृह मन्त्रालयको विश्लेषण छ । निर्वाचनमा सहरी क्षेत्रभन्दा दुर्गम पहाडी गाउँहरूमा धेरै चुनौती रहेको प्रहरीको विश्लेषण छ । सडक बाटो नपुगेका र ग्रामीण क्षेत्रहरूका मतदान केन्द्रको सुरक्षामा विशेष सतर्कता अपनाइएको गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिए । सोहीअनुसार ग्रामीण क्षेत्रका धेरै मतदान केन्द्रमा इन्स्पेक्टरकै कमान्डमा प्रहरी खटाइएको छ । विप्लव नेतृत्वको पार्टीले देशभरि नै हिंसात्मक घटना गर्दै आएको छ । प्रहरीले करिब दुई सय कार्यकर्तालाई पक्राउ गरिसकेको छ । केही कार्यकर्ता तालिमप्राप्त पूर्वलडाकु भएकाले उनीहरूमाथि विशेष निगरानी गरिएको गृह मन्त्रालयले जनाएको छ ।

साइबर क्राइममा दुई उजुरी 
निर्वाचन प्रसारप्रसारमा सामाजिक सञ्जालमार्फत बदनाम गराएको भन्दै प्रहरीमा उजुरी पर्न थालेको छ । महानगरीय अपराध महाशाखामा एमाले र धादिङका माओवादी केन्द्रका एक उम्मेदवारले उजुरी दिएका छन् । एमालेले बनाएको एक प्रचार भिडियोमा अर्काे अडियो राखेर बदनाम गर्ने प्रयास भएको भन्दै उजुरी परेको छ । त्यस्तै, माओवादी केन्द्रका एक उम्मेदवारलाई फोन नदिन भन्दै सामाजिक सञ्जालमा उनीविरुद्ध गलत प्रचार गरिएको भन्दै उजुरी परेको छ । दुवै घटनाको अनुसन्धान भइरहेको महाशाखाका डिएसपी पशुपति रायले बताए । बिहीबार रातिदेखि मौन अवधि सुरु भए पनि केहीले सामाजिक सञ्जालबाट प्रचारप्रसार गरिरहेका छन् ।

काठमाडौंमा १४२ केन्द्र संवेदनशील 
प्रहरीले काठमाडौंमा १ सय ४२ मतदान केन्द्रलाई सुरक्षाका दृष्टिकोणले संवेदनशीलको सूचीमा राखेको छ । संवेदनशील केन्द्रमा सामान्यभन्दा थप सुरक्षाकर्मी खटाइएको छ । काठमाडौं जिल्लामा ३ सय २० मतदान केन्द्र छन् जसमध्ये १ सय ७८ लाई सामान्यमा राखिएको छ । काठमाडौंमा एउटा पनि अति संवेदनशील मतदान केन्द्र छैन । संवेदनशील मतदान केन्द्रमा प्रहरी नायब निरीक्षक (सइ) तथा सामान्य मतदान केन्द्रमा सहायक प्रहरी निरीक्षक (असइ) को नेतृत्वमा प्रहरी खटाइएको छ । सइ र असइको कमान्डमा हरेक मतदान केन्द्रमा म्यादीसहित न्यूनतम १२ प्रहरी खटिने महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी सिद्धिविक्रम शाहले बताए । मतदान केन्द्रमा बढीमा २४ जनासम्म सुरक्षाकर्मी खटिनेछन् ।

धेरै मतदाता भएको मतदान केन्द्रलाई संवेदनशीलमा राखिएको डिएसपी शाहले बताए । मतदान केन्द्रको भित्री तहमा नेपाल प्रहरी मात्र रहन्छन् । बीचमा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना खटिनेछन् । उपत्यकामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वका नेपाल कम्युनिस्ट पार्टीको गतिविधि प्रमुख सुरक्षा चुनौती भएको प्रहरीको निष्कर्ष छ । प्रहरीले नेकपाका केही कार्यकर्तालाई पक्राउ गरिसकेको छ । नाका तथा गेस्टहाउसहरूमा चेकिङ पनि बढाएको छ । चुनावमा सुरक्षा चुनौती दिन सक्ने गुन्डा नाइकेलाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ परेर छुटेकालाई पनि प्रहरीले तारेखमा राखेको छ ।

हेलिकोप्टर ‘स्ट्यान्डबाई’
चुनावी सुरक्षाका लागि गृह मन्त्रालयले २४ सै घन्टा हेलिकोप्टर तयारी अवस्थामा राखेको छ । काठमाडौं र सुर्खेतमा हेलिकोप्टर तयारी अवस्थामा राखिएको गृह मन्त्रालयका सहायक प्रवक्ता जनार्दन गौतमले बताए । दुर्गम क्षेत्रमा कुनै घटना भएमा तत्काल उद्धार तथा थप सुरक्षाकर्मी ओसार्न हेलिकोप्टर तयारी अवस्थामा राखिएको हो । नयाँ पत्रिका दैनिकमा खबर छ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved