साना उद्योग जोगाउन सके मात्रै औद्योगिकरणको जग बलियो हुन्छः उद्योगमन्त्री मधेश प्रदेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2022 | 05:20:47 PM मा प्रकाशित

laxmi  sunrise bank

मधेश प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतोले मुलुकमा रहेका परम्परागत मौलिक उत्पादन गर्ने लघु, घरेलु तथा साना उद्योग जोगाउन सके मात्रै औद्योगिकरणको जग बलियो हुने बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ग्रामीण क्षेत्रका परम्परागत र मौलिक साना तथा घरेलु उद्योग नै मुलुकको अर्थतन्त्रको जग भएको भन्दै यस्ता उद्योगको प्रवद्र्घनबाट मात्रै मुलुकको अर्थतन्त्र समृद्ध बन्ने बताए ।

स्थानीय मौलिक उद्योगका उत्पादनलाई बढावा दिने र बढ्दो आयातलाई न्यूनीकरण गर्नुपर्ने अहिलेको राष्ट्रिय प्राथमिकताको विषय भएको भन्दै उनले गुणस्तरीय र प्रतिष्पर्धी उत्पादन कसरी गर्न सकिन्छ उद्योगी व्यवसायी तथा सरोकारवाला निकायहरुबाट अध्ययन आवश्यक भएको बताए ।

साना उद्योगीका हरेक समस्यालाई बुझेर औद्यागिकरणमा लैजाने सरकारको प्राथमिकता भएको भन्दै मन्त्री महतोले भने “साना तथा घरेलु उद्योग र उद्योगीको सम्मानबाट नै अर्थतन्त्र माथि उठ्छ । यसका लागि सरकार सहजीकरण र सहकार्य गर्न तयार छ ।”

महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले २०४७ सालदेखि नै साना तथा घरेलु उद्योगीहरुको लागि पैरवी गर्दै आएको बताउँदै स्वदेशी वस्तु उत्पादन र प्रयोग बढाउनुपर्छ भनेर निरन्तर सरकारलाई दबाब दिइरहेको बताए ।

नेपालको सन्दर्भमा लघु, घरेलु तथा साना उद्योगहरु आर्थिक समृद्धिको सम्बाहकका रुपमा रहेतापनि यस्ता उद्योगहरुको प्रमुख समस्याको रुपमा बजार पहुँच र वित्तीय पहुँच रहेको बताए ।

स्वदेशी वस्तुको प्रवद्र्घन र बजारीकरण गर्नका लागि मधेश प्रदेशमा निर्यातगृह र बिक्री कक्ष सञ्चालनमा ल्याउन पनि उनले मन्त्री महतोको ध्यानाकर्षण गराए ।

महासंघका निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरीले घरघरमै उद्योग भएको मधेश प्रदेशमा लघु, घरेलु तथा साना उद्योगका साथै महिला उद्योग ग्राम पनि सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा महासंघका उपाध्यक्षहरु हरिहर थापा, नेत्र पाठक, मोहन कटुवाल, सत्यनारायण प्रजापति, शोभा गुरुङ तथा सदस्य विरेन्द्र जत्ती, महासंघको महिला उद्यमी समिति सचिव डा. सोनी महतोलगायतले पनि आफ्ना भनाई राखेका थिए ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved