महासंघ निर्वाचनः ५४ वर्षसम्म ९ सय रहेका एसोसियट सदस्य एकै वर्षमा कसरी १७ सय नाघे ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 09, 2022 | 12:44:10 PM मा प्रकाशित

laxmi  sunrise bank

राजनीतिक दल र तिनका नेता कार्यकर्तालाई मात्रै नभई उद्योगी व्यवसायीलाई पनि चुनाव लागेको छ । चैतको अन्तिममा हुने उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि आकांक्षीहरु देश दौडाहामा छन् ।

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएकाले वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले चैत २९ गतेबाट अध्यक्ष पद सम्हाल्दै छन् । 

यसपाली वरिष्ठ उपाध्यक्ष बन्ने दौडमा ४ जना छन् । पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ, हालका उपाध्यक्ष त्रय दिनेश श्रेष्ठ, अन्जन  श्रेष्ठ र रामचन्द्र सांघाई यसपटक वरिष्ठ उपाध्यक्ष बनेर अर्को पटक अध्यक्षको कुर्सीमा विराजमान हुने दाउमा छन् ।

एसोसियट सदस्य दोब्बरले बढे

महासंघमा चुनावी दौध सुरु भएको गत वर्षबाटै हो । २०७७ मंसिर १३ गते निर्वाचन भयो । १५ गतेबाट शेखर गोल्छाले अध्यक्षको पद सम्हाले । सोही दिनबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित चन्द्र ढकालसहित ३ जना उपाध्यक्षहरुले पनि पदभार सम्हाले । 

१५ गते नै कोषाध्यक्ष चयन गरियो । शुकुन्तलाल हिराचन कोषाध्यक्षमा निर्वाचित भए । 

यसपछि सदस्य थप्ने खेल महासंघमा सुरु भइहाल्यो । विशेषगरी कर्पोरेट हाउस भनिने ठूला घरानाहरुबीच एसोसियट तर्फ सदस्य थप गर्ने होडबाजी नै चल्यो ।

२०७७ मंसिरमा भएको निर्वाचनमा ९२३ एसोसियट सदस्यले भाग लिएका थिए । तर, अहिले एसोसियट सदस्यको संख्या १ हजार ७६२ पुगेको छ । यीमध्ये गत साधारणसभामा भाग नलिएका अर्थात् मताधिकार नभएका १४ सदस्य छन् । बाँकी अर्थात् १ हजार ७४८ सदस्यले आगामी निर्वाचनमा मतदान गर्न पाउने छन् । 

महासंघको विधानमा सदस्य भएपछि एउटा साधारणसभामा भाग लिएपछि मात्रै मताधिकार पाउने व्यवस्था छ ।

त्यस्तै, जिल्ला नगरतर्फ गत निर्वाचनमा ११३ जिल्ला नगरले मतदान गरेकोमा हाल १२० पुगेका छन् । महासंघमा जिल्ला नगर सदस्य उद्योग वाणिज्य संघ १२१ वटा पुगेको भएपनि एउटा जिल्ला नगर सदस्य संघले भने यसपटक पर्यवेक्षकको रुपमा मात्रै प्रवेश पाउने छ ।

बस्तुगततर्फ १२३ सदस्य संघ पुगेका छन् । 

कसले कति सदस्य थपे ?

महासंघमा पूर्व अध्यक्ष चण्डीराज ढकाललाई बलिया र निर्णायक पात्र मानिन्छ । गत निर्वाचनमा पनि उनले चन्द्र ढकाललाई लिएर देश दौडाहा गरेका थिए । यसपाली उनले उमेशलाल श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष बनाउन चाहेका छन् ।

तर, सदस्यहरु थप गर्ने मामिलामा भने चण्डी–चन्द्रले खासै जोडबल गरेको देखिएको छैन । प्राप्त विवरणमा एसोसियटमा ८२८ नयाँ सदस्य थपिँदा चन्द्र ढकालले ५० जति थपेका छन् । उनी आफू स्वतः अध्यक्ष हुने भएकाले धेरै सदस्य थप गर्न बल पनि नगरेको बताइन्छ ।

त्यस्तै, सबैभन्दा धेरै सदस्य रामचन्द्र सांघाईले थपेका छन् । हाल एसोसियट उपाध्यक्ष पनि रहेको र वरिष्ठ उपाध्यक्षको उम्मेदवार पनि भएकाले उनले २ सय बढी एसोसियट सदस्य थप गरेका छन् । 

उपाध्यक्ष दिनेश श्रेष्ठले पनि केही सदस्य थप गरेको चर्चा छ । 

अर्का उपाध्यक्ष अन्जन श्रेष्ठले १ सयको हाराहारीमा एसोसियट सदस्य थपेका छन् । पदाधिकारीमा उम्मेदवार नै नरहेका देशबन्धु बस्नेतले पनि १५० जति एसोसियट सदस्य थप गरेका छन् ।

एसोसियट सदस्य अम्बिका पौडेलले पनि केही सदस्य थपेको चर्चा छ । तर, उनी स्वयंले भने आफूले थपेको नभई चिनजानका केही साथीहरुलाई सदस्यता लिँदा राम्रो हुन्छ भनेर पूँजी बजार सम्वद्ध केही कार्यालयलाई सदस्य बन्न प्रेरित गरेको बताएका छन् ।

गत निर्वाचनमा पौडेलले सबैभन्दा बढी मत पाएका थिए । पूँजी बजारका ज्ञाता भनेर चिनिने उनी कुल ९२३ मत खस्दा ८०२ मत प्राप्त गरेर निर्वाचित भएका थिए । पौडेल यसपाली पनि केन्द्रीय सदस्यमा चुनाव लड्दै छन् । 

त्यस्तै, सुमित केडियाले पनि केही सदस्य थपेका छन् ।

५४ वर्षमा जम्मा ९ सय रहेको एसोसियट सदस्य संख्या एकै वर्षमा ८ सयले बढेर १७ सय पुग्नुले पनि वरिष्ठ उपाध्यक्ष र एसोसियट उपाध्यक्ष पदमा निकै रोचक भिडन्त हुने अनुमान लगाउन सकिन्छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved