नेपालका मेला र महोत्सव: ग्ल्यामरस प्रदर्शन गर्ने थलो मात्रै

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 23, 2023 | 04:25:21 PM मा प्रकाशित

laxmi  sunrise bank

गत मङ्सिरको अन्तिम हप्तामा भएको आठौँ लुम्बिनी राष्ट्रिय महोत्सव कलाकारको नाचगानमा सिमित थियो । ‘पर्यटन महोत्सव, कृषि तथा राष्ट्रिय औद्योगिक ब्यापार मेला’ भनिएको उक्त महोत्सवमा स्टलहरु राखिएको भए पनि साङ्गीतिक कार्यक्रम मात्रै चर्चामा रह्यो । स्टल राखेकाहरुले व्यापार पाएनन्।

बागमती प्रदेशस्तरको भनिएको चितवनको खैरहनी प्रादेशिक महोत्सवले पनि व्यापार पाएन । कलाकार लगेर सहभागीलाई मनोरन्जन दिलाउनेबाहेक यो महोत्सवले अर्को उपादेयता पुष्टि गर्न सकेन । महोत्सव फगत मनोरन्जनमा मात्रै केन्द्रित रह्यो ।

पौष २५ देखि माघ ४ गतेसम्म चलेको चितवन महोत्सवको अवस्था पनि अरु मेला महोत्सवको भन्दा खासै फरक भएन । कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पोल्ट्री तथा उद्योग प्रवद्र्धनका गतिविधि सञ्चालन गरिने र प्रतियोगितात्मक कृषिउपजको समेत प्रदर्शनी रहने भनिए पनि महोत्सवमा भने बाल उद्यानले नै प्राथमिकता पाउँदै आएको छ । आर्थिक गतिविधि नगण्य मात्रामा भएका छन् ।

कैलालीको धनगढीमा आयोजना भएको सुदूरपश्चिम महोत्सव, दाङको तुलसीपुरमा आयोजित महोत्सव तथा रुपन्देहीको भैरहवा महोत्सव, नवलपरासीको बर्दघाटमा आयोजित बर्दघाट कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला र तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेलाले पनि औद्योगिक प्रवद्र्धन नभई ‘ग्ल्यामरस’ प्रदर्शन मात्रै गरे ।

यस्ता नेपालका अधिकांश महोत्सवहरु कलाकारको नाँचगान र मनोरन्जनमा मात्रै सिमित भएका पाइएको छ ।

फागुन १९ गतेदेखि हुने दोलखा महोत्सव विगतको जस्तै मजाक मात्रै नहोस् भनेर नेकपा एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धरले आयोजकलाई सचेत नै गराएका छन् । विगत वर्षहरुमा आयोजित महोत्सवहरूबाट उपलब्धि नभएको उनको तर्क छ ।

स्थानीय र रैथाने कला र संस्कृतिको प्रवद्र्धन गर्नुको सट्टा महोत्सवमा भिड जम्मा पार्न कामुक प्रस्तुति दिने कलाकारहरु खोज्ने परम्पराले उपलब्धी नदिने मानन्धरको दाबी छ ।

भाइरल हुने होडबाजी

देशका विभिन्न भेगमा आयोजना भएका महोत्सवहरुबाट कलाकारसहित दर्शकहरुमा पनि भाइरल हुने होडबाजी चलेको प्रष्टै देखिन्छ । स्टेजमा उभिएर कलाकारले गाउने कामुख र भावुक गीत एबं नृत्यमा दर्शकदीर्घाबाट त्यस्तै अभिनयसहित रुवावासी गर्नेहरु बढेका छन् ।

यसरी भावुक अभिनयमार्फत फेसबुक र टिकटकमा ‘भाइरल’ बन्ने होडबाजी नै चल्यो । कलिला उमेर समूहका बालिकाहरु मेला र महोत्सवको आयोजनास्थल परिसरमा चिच्याएर  रोइकराइ गरेका भिडियो सामाजिक सञ्जालमा भाइरल छन् । यो क्रम अझै जारी छ ।

एलिना चौहानले स्टेजबाट गाएको ‘धोकेबाज हौ तिमी’ र पुस्कल शर्माले गाएको ‘आउँछ्यौँ आउँदिनौँ’ बोलका गीतमा रुवाबासी गरेर दर्शकले गरेको अभिनयलाई उदाहरणका रुपमा लिन सकिन्छ ।

औद्योगिक व्यापार मेलामा ग्ल्यामरस किन ?

मङ्सिरदेखि चैतसम्मको अवधिमा मेला महोत्सव चल्छन् । दशैँ तिहारलाई छोडेर हेर्ने हो भने कलाकारहरुले मञ्च पाउने र आम्दानी बढाउने ठाउँ पनि यही हो ।

अधिकांश मेला महोत्सवको नाम ‘औद्योगिक व्यापार मेला’ अथवा ‘औद्योगिक, कृषि, पर्यटन प्रवद्र्धन मेला’ राखिएको हुन्छ । तर यस्ता महोत्सवमा औद्योगिक प्रवद्र्धनको सट्टा मनोरन्जनात्मक गतिविधि बढी हुन्छन् । आयोजकहरु यसलाई बाध्यता भन्छन् ।

अधिकांश मेला महोत्सवको आयोजक जिल्ला नगर उद्योग वाणिज्य सङ्घहरु छन् । उनीहरुले आफ्नो संस्थामा केही रकम बचत पनि होस् र व्यापार व्यवसाय चलायमान होस् भन्ने उदेश्यले मेला महोत्सवको आयोजना गर्ने भए पनि सरकारी तहबाट कुनै सहयोग नहुने भएकाले कलाकार ल्याएर कम्तीमा टिकट बिक्री मात्रै भए पनि गर्नुपर्ने बाध्यतामा आयोजकहरु रहेको नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशका उपाध्यक्ष दुर्गाराज श्रेष्ठ बताउँछन् ।

‘पर्यटन बोर्डको पर्यटन प्रवद्र्धन गर्ने काम हो, पर्यटन बोर्ड आन्तरिक मेला महोत्सवमा चासो दिँदैन, व्यापार बढ्दा व्यवसायीहरुले कर त स्थानीय तहलाई पनि तिर्छन्, स्थानीय तहहरु पनि व्यवसायिक मेला महोत्सवमा लगानी नगर्ने’, उपाध्यक्ष श्रेष्ठ भन्छन्, ‘पहाडी जिल्लामा महोत्सव हुँदा एउटा स्टल बराबर मुस्किलले ५ हजार १० हजार आउँछ, सय वटा जति स्टल हुन्छन्, खर्च हुन्छ करोडमा, स्टलबाट लाख आउँछ, अनि कलाकार ल्याएर कलाकारको प्रस्तुति देखाउँछौँ भनेपछि मान्छेहरु आउँछन् र टिकटबाट अलिकति कभर हुन्छ भनेर कलाकार लैजानुपर्ने बाध्यता छ ।’

महोत्सव आयोजनापछि सम्भवनाका ढोकाहरु के–के खुले भन्ने विषयमा लिखित दस्तावेज बनाएर योजना बनाउने निकायमा पुर्याउने र त्यसलाई लागू गराउन निरन्तर ‘फलोअप’ गर्ने बानी पनि आयोजकहरुमा नहुँदा महोत्सवहरु उपलब्धिविहीन जस्तो देखिने गरेको नेपाल उद्योग वाणिज्य महासंघका मेला समिति सभापति नरेन्द्रकुमार खड्का बताउँछन् ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved