महासंघ चुनाव: बरिष्ठ उपाध्यक्षका चार दाबेदारमध्ये को बलियो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2023 | 08:23:37 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासङ्घमा चुनावी गर्मी लागेको छ । प्रदेश र सङ्घको निर्वाचन र सरकार गठन आदि कारणले सुस्त देखिएको निर्वाचन केन्द्रित गतिविधि अहिले भने बढेको छ । राष्ट्रपतिको निर्वाचन सकिएपछि उद्योगी व्यवसायीहरुको चुनावी गतिविधि अझै बढ्ने देखिन्छ ।

यसै क्रममा महासङ्घको कार्यसमिति बैठकले उम्मेदवारहरुको मनोनयन शुःल्क तय गरेको छ । बरिष्ठ उपाध्यक्षको उम्मेदवारका लागि मनोनयन शुःल्क ५ लाख तोकिएको छ । त्यस्तै, ३ उपाध्यक्षका लागि ३–३ लाख रुपैयाँ मनोनयन शुःल्क तोकिएको छ । केन्द्रीय सदस्यका उम्मेदवारले ७५ हजार रुपैयाँ बुझाउनु पर्नेछ ।

महासङ्घमा बरिष्ठ उपाध्यक्षसहित जिल्ला नगर उपाध्यक्ष, वस्तुगत उपाध्यक्ष र एसोसिएट उपाध्यक्ष गरी ३ उपाध्यक्षमा चुनाव हुनेछ । ६ पदाधिकारी रहने महासङ्घमा कोषाध्यक्ष भने कार्यसमितिले मनोनयन गर्ने प्रावधान छ ।

बरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने भएकाले अध्यक्षमा निर्वाचन हुँदैन । विधानको यस व्यवस्था अनुसार हालका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आगामी चैत २९ गतेबाट स्वतः महासङ्घको अध्यक्ष बन्नेछन् ।

बरिष्ठ उपाध्यक्षमा ४ जना दाबेदार

वरिष्ठ उपाध्यक्ष बन्न यसपाली ४ जनाले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ र हालका उपाध्यक्ष त्रय दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र साङ्घाई बरिष्ठ उपाध्यक्ष लड्ने तयारीमा छन् । 

पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठलाई महासङ्घको ‘पायोनियर खेलाडी’ मानिने चण्डीराज ढकालले नै उम्मेदवार बनाएको चर्चा छ । निजी क्षेत्रको सबैभन्दा ठूलो सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घमा अब अब्बल निर्णय क्षमता भएको व्यक्ति चाहिने र अहिलेको अवस्थामा उमेशलाल नै यसका लागि सक्षम पात्र भएको दाबी चण्डीराजको छ ।

त्यस्तै दिनेश श्रेष्ठ जिल्ला नगरमा पकड भएका व्यक्ति हुन् । महासङ्घको निर्वाचनमा जिल्ला नगरको मतभार ५० प्रतिशत हुने भएकाले दिनेश श्रेष्ठले जिल्ला नगरबाट आफ्नो बहुमत आउने देखेका छन् । 

अञ्जन श्रेष्ठ वस्तुगतमा पकड भएका उम्मेदवार मानिन्छन् । नाडा अटोमोबाइल्स एसोसियसन नेपाल र अन्य प्रभावशाली वस्तुगत सङ्घहरुमा उनको राम्रो पकड छ । पूर्व अध्यक्ष आनन्दराज मूल्मीका कारण पनि जिल्ला नगरबाट अञ्जनले राम्रो मत पाउने विश्लेषण हुने गरेको छ ।

अर्का दाबेदार रामचन्द्र साङ्घाई एसोसियटमा आफ्नो बल देखिरहेका छन् । मारवाडी समुदायबाट सञ्चालित कर्पोरेट हाउस (एसोसियट सदस्यहरु)को मत निर्विकल्प रुपमा आफूलाई आउने विश्वाससहित उनले पछाडि नफर्किने दावी गरिरहेका छन् । 

यसै शिलशिलामा उनले जिल्ला नगर र वस्तुगत सङ्घका अध्यक्षहरुलाई केही दिन अगाडि कमलपोखरीस्थित आफ्नो घरमा बोलाएर ‘कक्टेल डिनर’ नै गराएर भोट मागेका छन् ।

यद्यपि, बरिष्ठमा उम्मेदवार बन्ने चाहना गरिरहेका मध्ये उमेशलाल र अञ्जनले मात्रै टिम बनाउन सकेका छन् । उमेशलालसँग जिल्ला नगर उपाध्यक्ष, वस्तुगत उपाध्यक्ष र एसोसियट उपाध्यक्षका उम्मेदवार छन् । 

त्यस्तै, अञ्जनको टिममा पनि जिल्ला नगर उपाध्यक्ष, वस्तुगत उपाध्यक्ष र एसोसियट उपाध्यक्षका उम्मेदवार छन् । दिनेश श्रेष्ठले पनि आफूसँग टिम रहेको बताएका छन् । तर, साङ्घाई भने खाली छन् । एसोसियट उपाध्यक्षमा आफ्नो टिमबाट साहिल अग्रवाल उम्मेदवार रहेको साङ्घाईको दावी छ । साहिल अग्रवाल भने अञ्जनको टिमबाट घोषित एसोसियट उपाध्यक्षका दावेदार हुन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved