ग्रीन भेन्चर्स आईपिओ रिभ्यु: संघई र अग्रवाल समुहको स्वामित्व, बिजुली बेचेर यो वर्ष अर्ब बढी कमाउने लक्ष्य

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 21, 2022 | 08:44:49 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्रीन भेन्चर्स लिमिटेडले  चैत्र ८ गतेदेखि सर्वसाधारणलाई आईपिओ निष्काशन गर्दै छ । कम्पनीले सर्वसाधारणलाई ३१ करोड २५ लाख बराबरको ३१ लाख २५ हजार शेयर निष्काशन गर्न लागेको हो । 

जस मध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २ सय ५० कित्ता सामुहिक लगानी कोष योजनाहरुको लागि छुट्याईएको छ । बाँकि रहेको २८ लाख ७५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि दिन सकिने छ । इच्छुक लगानीकर्ताले चैत्र ११ गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि लक्ष्मी क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

कम्पनी परिचय

नेपालमा रहेको अपार जलश्रोतको उपयोग गरी जलविद्युत आयोजनाहरुको पहिचान गरी संभाव्यता अध्ययन, निर्माण र संचालन गर्ने अभिप्रायले निजी क्षेत्रका उद्यमीहरु मिलेर यस ग्रीन भेन्चर्स लिमिटेड, कम्पनी ऐन, २०६३ बमोजिम मिति २०६१ साल मंसिर २२ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड कम्पनीको रूपमा दर्ता भई कारोबार संचालन गर्दै आएको कम्पनी थियो । कम्पनीमा आयोजना प्रभावित क्षेत्र (उद्योग प्रभावित क्षेत्र)का बासिन्दा तथा सर्वसाधारणहरुको जनसहभागिता बिस्तार गर्ने हेतुले २०७५ साल फागुन १३ गतेदेखि कम्पनी ऐन,२०६३ बमोजिम पब्लिक लिमिटेड कम्पनीमा परिणत भई कारोबार संचालन गरी रहेको छ ।

हाल यस कम्पनीमा २८ जना संस्थापक शेयरधनीहरु रहेका छन् । यस कम्पनीका संस्थापक शेयरधनीहरु विद्युत, बैंक÷वित्तीय क्षेत्र, स्वास्थ्य, शैक्षिक क्षेत्र एवं व्यापार÷व्यवसायको साथै व्यवस्थापन क्षेत्रमा लामो समयदेखि दखल भएका प्रतिष्ठित व्यक्तित्वहरु रहेका छन्।

कम्पनीले ओखलढुंगा जिल्लाको लिखु—४ जलविद्युत आयोजनाबाट ५२.४ मेगावाट जलविद्युत उत्पादन गर्ने उद्देश्य अनुरुप जलविद्युत आयोजनाको निर्माण, उत्पादन तथा संचालन गर्न विद्युत उत्पादनको अनुमति नेपाल सरकार उर्जा मन्त्रालयबाट क्रमशः मिति २०६८÷११÷२८ र मिति २०७४÷०२÷१२ (पहिलो संशोधन) गतेका दिन प्राप्त गरेको हो ।

आयोजनाको थप विवरण 

नेपाल विद्युत प्राधिकरणको मिति २०७८।०८।१३ को पत्र संख्याः ने.वि.प्रा.०७८÷७९ वि.व्या.वि.च.नं. ४८२ अनुसार आयोजनाको व्यापारिक उत्पादन शुरु हुने मिति (COD) २०७८।०७।२१ तोकिएको छ । आयोजनाले  (COD) देखि विद्युत उत्पादन गरी नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गरी रहेको छ ।

विद्युत परियोजनाको नाम ः लिखु—४ जलविद्युत आयोजना

 आयोजना स्थलः ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिका वडा नं. १ र ३ (साविक रगनी  गा.वि.स. र खिजिचण्डेश्वरी गा.वि.स.) तथा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं. ७  (साविक भुजि गा.वि.स) ।

श्रोत नदी ः लिखु खोलाको पानी

आयोजनाको किसिमः रन अफ रिभर

विद्युत उत्पादन अनुमति प्राप्त मितिः २०६८।११।२८ र २०७४।०२।१२(पहिलो संशोधन)

विद्युत उत्पादन अनुमति बहाल रहने मिति ः२०६८।११।२८ देखि २१०३।११।२७

जडित क्षमताः ५२.४ मेगावाट

 आयोजनाको कुल लागतः रु.१२,०८,२८,४९,१३२ (अक्षरेपी रु बाह्र सय आठ करोड अठाइस लाख  उन्नचास हजार एक सय बत्तीस )

 आयोजनाको प्रति मेगावाट लागतः रु.२३.०५ करोड (अक्षरेपी रु तेइस करोड पाँच लाख ) 

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधिः ७.९१ वर्ष

आयोजनाको डिस्काउण्टमा लगानी फिर्ता हुने अवधिः ११.५७ वर्ष

कर्जा विवरण : कम्पनीले आयोजना निर्माणको लागि ८ वटा वाणिज्य बैंकबाट ९ अर्ब ५ करोड कर्जा स्वीकृत गराएकोमा ८ अर्ब ८१ करोड ६२ लाख ६ हजार २ सय २२ रुपैयाँ कर्जा लिएको छ । कर्जा भुक्तानी अवधि अधिकतम १५ वर्षसम्म रहेको छ भने कम्पनीले हालसम्म कर्जाको किस्ता तिरेको छैन । 



पुँजी संरचना 

 कम्पनीको अधिकृत पूँजी पाँच अर्ब रुपैंया रहेको छ । कम्पनीको जारी पूँजी तीन अर्ब बाह्र करोड पचास लाख रुपैंया रहेको छ । सर्वसाधारणको लागि छुट्ट्याइएको ३१,२५,००० बराबरको पूरै शेयर निष्कासन भएपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब १२ करोड ५० लाख पुग्ने छ । सर्वसाधारणको लागि शेयर निष्काशन गरिसकेपछि कम्पनीमा संस्थापकहरुको शेयर स्वामित्व ८० प्रतिशत, आयोजना प्रभावित स्थानीयको शेयर स्वामित्व १० प्रतिशत र आम सर्वसाधारणको शेयर स्वामित्व १० प्रतिशत कायम रहने छ ।

संस्थापक÷संचालक विवरण 

कम्पनीको आधारभूत शेयरधनीहरु संघइ र अग्रवाल समुह हुन्  । कम्पनीको आधारभूत शेयरधनीहरुमा गोविन्द लाल संघइ, विरेन्द्र कुमार संघइ, नितेश अग्रवाल , सुभाष चन्द्र संघई,, राम चन्द्र संघई, , आदित्य संघई, , त्रिवेणी इर्नेजी प्रा.लि, विशाल अग्रवाल,, अनुज अग्रवाल, पुरुषोत्तम लाल संघई, शैलेश संघई,, अशोक कुमार अग्रवाल, हर्षवर्धन संघई, तुलसी राम अग्रवाल, अर्पित अग्रवाल, निकुञ्ज अग्रवाल,  सुमिता अग्रवाल, त्रिलोक चन्द अग्रवाल, र साकेत संघइ रहेका छन् ।

कम्पनीको संचालकहरुमा सुभाष चन्द्र संघई, विरेन्द्र कुमार संघई, गोविन्द लाल संघई, त्रिलोक चन्द अग्रवाल, र अनुज अग्रवाल रहेका छन् । कम्पनीको अध्यक्ष सुभाष चन्द्र संघई रहेका छन् । १९९० देखि नयाँ उद्योग क्षेत्र जस्तै तरकारी, तेल रिफाइनरी, वनस्पति,टेक्सटाइल र चियामा बढावा दिन शुरु गरेका उनीसँग ४५ वर्षको व्यापारमा अनुभव छ  । उनी चिया उद्योगमा २० वर्षको अनुभव छ । कम्पनीले संचालक समितिको अध्यक्ष लगायत अन्य सदस्यहरुलाई बैठक भत्ताः नदिने गरिएको उल्लेख गरेको छ । 

उच्च व्यवस्थापकको विवरण 

कम्पनीको प्रमुख कार्यकारी अधिकृत किशोर कुमार सिंह रहेका छन् । परियोजना विकास प्रबन्धकको रुपमा बद्रि प्रसाद रिजाल रहेका छन् भने रमन सिंह सिनियर जनरल म्यानेजरको रुपमा गरेका छन् । कम्पनीमा हाल ८५ जना कर्मचारी छन् । ८५ जना नै अस्थाई कर्मचारी हुन् । 

वित्तीय विवरण 

आर्थिक वर्ष २०७८ असार मसान्तसम्मको लेखापरीक्षण भएको वित्तीय विवरण अनुसार कम्पनीको खुद घाटा ९७ लाख ९९ हजार ८ सय ४५ रुपियाँ थियो । आ.व. २०७८÷७९ पुस मसान्तको ग्रीन भेन्चर्स लिमिटेडको लेखापरिक्षक तथा व्यवस्थापनबाट प्रमाणित भएको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको नाफा ५ करोड २ लाख ६४ हजार ९ सय ६७ रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीले विद्युत बिक्रिबाट २९ करोड २६ लाख ८१ हजार २ सय ६३ रुपैयाँ आम्दानी गरेको छ  ।  

 कम्पनीले आर्थिक वर्ष ७८/७९, ७९/८० र ८०/८१ मा कम्पनीले चुक्ता पुँजी ३ अर्ब १२ करोड ५० लाख नै रहने प्रक्षेपण गरेको छ । यी आर्थिक वर्षमा कम्पनीले विद्युत बिक्रिबाट क्रमश १ अर्ब २६ करोड ८९ लाख, १ अर्ब ६५ करोड ५९ लाख र १ अर्ब ७० करोड ७५ लाख आम्दानी गर्ने प्रक्षेपण गरेको छ । कम्पनीले यी आर्थिक वर्षमा खुद नाफा क्रमश १० करोड ४४ लाख २५ हजार, २५ करोड ४० लाख ७० हजार, र ३२ करोड ४२ लाख २ हजार हुने प्रक्षेपण गरेको छ ।

कम्पनीले वित्तीय प्रक्षेपणका आधारहरुको औचित्य पुष्टि हुने विवरण निम्न अनुसार पेश गरेको छ 

१) शेयर निष्काशनबाट प्राप्त रकम बैंकको ऋण तिर्नका लागि उपयोग गर्ने प्रक्षेपण गरीएको छ ।

२) कुनै पनि सम्पत्ति थप नहुने प्रक्षेपण गरीएको छ तथा ह्रास खर्च कम्पनीको ह्रासकट्टि निति अनुसार SLM को आधारमा प्रक्षेपण गरीएको छ ।

३) विद्युत बिक्रीको ४५ दिन बराबरको रकम पाउनुपर्ने हिसाबमा देखाइएको छ ।

४) पेश्की ऋण तथा ब्याज बैंकहरुसंग भएको सम्झौता बमोजिम देखाइएको छ ।

५) नगद तथा बैकं मौज्दात र चालु तथा अन्य दायित्व बिगतको परिणामहरुको आधारमा प्रक्षेपण गरीएको छ ।

६) विद्युत बिक्रीबाट हुने आम्दानी विद्युत खरिद बिक्री सम्झौतामा भएको प्रावधान तथा बिगतको परीणामहरुको आधारमा प्रक्षेपण गरीएको छ ।

७) रोयल्टि खर्च विद्युत खरिद बिक्री सम्झौतामा भएको प्रावधानको आधारमा प्रक्षेपण गरीएको छ ।

८) कर्मचारी बोनस,कर्पोरेट सामाजिक दायित्व तथा आयकर गणना प्रचलित कानुन बमोजिम गरिएको छ । 

प्रक्षेपित वित्तीय विवरण कम्पनी आफैले तयार र सो वित्तीय विवरणहरु पुनरावलोकन गरी ठिक छ भनी विकास तोदी एण्ड एसोसिएट्स चार्टर्ड एकाउण्टेण्टका विकास तोदीले प्रमाणित गरेका छन्  । 

पुँजीको उपयोग 

कम्पनीले आईपिओबाट संकलन भएको सम्पूर्ण रकम बैंक तथा वित्तिय संस्थाबाट प्रवाहित भएको क्रृण कर्जा लाई चुक्ता गर्नको लागी उपभोग गरिने जनाएको छ । 

प्रत्याभूति विवरण र अन्य शुल्क 

कम्पनीले निष्काशन गरेको शेयर बिक्रि पूर्ण रुपमा बिक्रि नभएमा कम्पनीले बिक्रि नभएको सम्पूर्ण शेयर सकार्ने गरि नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ। यस सेवा वापत कम्पनीले कोषलाई १२ लाख रुपियाँ सेवा शुल्क दिने छ । कम्पनीले बिक्रि प्रबन्धकलाई सेवा शुल्क वापत १ लाख ५० हजार दिने छ । कम्पनीको रेटिङ्ग शुल्क ३ लाख ९५ हजार ५ सय रहेको छ भने अपरिष्कृत वित्तीय विवरण लेखापरिक्षकबाट प्रमाणित गरेको शुल्क २ लाख ८२ हजार ५०० रहेको छ । विद्युत नियमन आयोगबाट स्वीकृतिको लागि सेवा शुल्क ४ लाख रहेको छ । 


प्रति शेयर आम्दानी र प्रति शेयर नेटवर्थको विवरण

आर्थिक वर्ष ७५/७६,  ७६/७७ र ७७/७८  मा कम्पनीको वास्तविक प्रति शेयर नेटवर्थ क्रमश ९१.०७ रुपैयाँ, ९०.५९ रुपैयाँ, र ९१.८६ रुपैयाँ रहेको थियो । आर्थिक वर्ष ७८/७९  को पुस मसान्तसम्मको अपरिस्कृत विवरण अनुसार कम्पनीको प्रति शेयर नेटवर्थ  ९३.८७ रुपैयाँ रहेको थियो । आर्थिक वर्ष ७८/७९, ७९/८० र ८०/८१ मा कम्पनीले कम्पनीको प्रति शेयर नेटवर्थ क्रमश १०३.३१ रुपैयाँ, १११.३६ रुपैयाँ र १२१.६३ रुपैयाँ हुने प्रक्षेपण गरेको छ ।

आर्थिक वर्ष ७५/७६,  ७६/७७ र ७७/७८  मा कम्पनीको वास्तविक प्रति शेयर आम्दानी  क्रमश -०.२५  रुपैयाँ, -३.०६  रुपैयाँ, र -०.४२ रुपैयाँ रहेको थियो । आर्थिक वर्ष ७८/७९  को पुस मसान्तसम्मको अपरिस्कृत विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी २.०१  रुपैयाँ रहेको थियो । आर्थिक वर्ष ७८/७९, ७९/८० र ८०/८१ मा कम्पनीले कम्पनीको प्रति शेयर आम्दानी क्रमश ३.६१ रुपैयाँ, ८.०५  रुपैयाँ र १०.२७ रुपैयाँ हुने प्रक्षेपण गरेको छ ।

क्रेडिट रेटिङ्ग विवरण

निष्काशन गरिने साधारण शेयरको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ (तेस्रो संशोधन सहित) मा भएको व्यवस्था बमोजिम कम्पनीको इस्यूर रेटिङ्ग गराउनु पर्ने भएकोले कम्पनीले क्रेडिट रेटिङ्ग नियमावली, २०६८ को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपाल लि.,कमलादी, काठमाण्डौंबाट इस्यूर रेटिङ्ग गराइ{ "[CARE-NP BB (Is) |Double B (Issuer Rating)]"प्रमाणपत्र प्राप्त गरेको छ . "[CARE-NP BB(Is) [Double B(Issuer Rating)]" ले समयमानै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित मानिन्छ । (Moderate risk of default regarding timely servicing of financial obligations) भन्ने बुझिन्छ । केयर रेटिङ्ग नेपाल लि.ले CARE-NP AAA (Is) देखि CARE-NP D (Is) सम्मको ग्रेडिङ्ग प्रदान गर्दछ । जसमा ग्रेड "CARE-NP AAA(Is)" ले सकारात्मक आधार जनाउँछ भने "CARE-NPD (Is)" ले नकारात्मक आधारहरू जनाउँछ । इस्यूर रेटिङ्ग ग्रेड प्रदान गरेको मिति :२०७८/०९/०२ रहेको छ भने यो बहाल रहने अवधि २०७९/०८/१५ सम्म रहेको छ ।

पहिलो कारोबार 

कम्पनीको शेयर सुचिकृत भएपछि नेपाल स्टक एक्सचेन्जले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ । यस हिसाबमा कम्पनीको पहिलो कारोबारको लागि ९३.८७ रुपैयादेखि २८१.६१ रुपैयाँसम्मको रेन्ज तोक्ने सम्भावना छ । 

नोट: यो रिभ्यु कम्पनीले उपलब्ध गराएको विवरणपत्रको आधारमा तयार पारिएको हो । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved