रिभर फल्स पावरले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलले आज सोमबार आईपिओ बाँडफाँड गरेको हो ।
आईपिओको नतिजा केहि समयपछि प्रकाशन हुने छ । आईपिओ प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट https://www.prabhucapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट र रिभर फल्स हाइड्रोको वेबसाइट www.riverfallshydro.com.np/ बाट हेर्न सकिने छ ।
क्यापिटलका अनुसार आईपिओमा कुल १८ लाख ५९ हजार २ सय ४२ जना बाट २ करोड १३ लाख ९४ हजार ६ सय ३० कित्ताको आवेदन परेको थियो । जस मध्ये ४९ हजार ९ सय ८३ जनाको आवेदन रद्द भएको छ । यस हिसाबमा १८ लाख ९ हजार २ सय ५९ जनाको आवेदन सदर भई शेयर पाउनको लागि योग्य भएका छन् ।
आईपिओमा माग भन्दा बढीको परेकोले योग्य रहेका १८ लाख ९ हजार ५९ जना आवेदकलाई समावेश गराएर गोलाप्रथाद्वारा शेयर बाँडफाँड गरिएको छ । यसबाट २ लाख ५३ हजार ८ सय ९० आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएका मध्ये १६ लाख ५ हजार ३ सय ५२ जना आवेदक हात खाली भएका छन् ।
मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । केहि घण्टामा आईपिओको नतिजा हेर्न सकिने क्यापिटलले जनाएको छ । मेरोशेयरमा भने केहि ढिलो मात्र नतिजा उपलब्ध हुने छ ।
बैशाख ३० गते, ३१ गते, जेठ १ गते र जेठ २ गते सार्वजनिक विदा परेकोले कम्पनीको आईपिओ कुल ८ दिन बिक्रि खुला रहेको थियो । कम्पनीले यस अघि नै संखुवासभाका आयोजना प्रभावितलाई आईपिओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ । रिभल फल्स पावरले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित पिलुवाखोलामा १०.३ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । आगामी असार मसान्त भित्र आयोजना सम्पन्न गर्ने कम्पनीको लक्ष्य रहेको छ।