एउटै लगानीकर्ता संघ बनाउने कोईरालाको प्रयासमा दर्तावाला संघहरुको असहयोग किन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2022 | 09:41:53 AM मा प्रकाशित

laxmi  sunrise bank

पुँजीबजारसँग सम्बन्धित लगानीकर्ताको एउटा मात्र साझा संस्था बनाउने तिलक कोइरालाको प्रयासमा दर्तावाल संस्थाहरुले असहयोग गरेका छन्। एक मात्र साझा संस्था बनाउनलाई शुक्रबार आह्वान गरिएको छलफल समारोहमा अनुपस्थिति जनाएर दर्तावाल संस्थाहरुले असहयोग गरेका हुन्। 

आफुलाई सेयर बजारको अभियन्ता भन्न रुचाउने तिलक कोइरालाले शुक्रबार आह्वान गरेको  छलफलबाट  चार वटा संस्थाहरु गाभिएर एकता समिति गठन भएको छ । स्वतन्त्र पूँजी बजार लगानीकर्ता संघ, सेयर लगानीकर्ता दबाब समूह, पूँजी बजार संघ र लगानीकर्ता हकहित संरक्षण मन्चलाई एक आपसमा गाभेर १०१ सदस्यीय सेयर लगानीकर्ता एकता समिति निर्माण भएको हो। 

आफु संघ संस्थामा नबस्ने बताउदै आएका तिलक कोइराला उक्त समितिको  संयोजक बनेका छन्। कार्यकारी पद नलिने पूर्व घोषणा गरेको भए पनि संयोजकको पद स्वीकार नगरे कार्यक्रम नै विथोलिने चेतावनी दिएको अवस्थामा बाध्यतावश आग्रह स्वीकार गर्नु परेको  उनको भनाई छ। 

एकता समितिमा नजानुको कारणबारे के भन्छन् दर्तावाल संस्थाका पदाधिकारी

त्यसो त एकता समितिको संयोजकको जिम्मेवारी पाएका र एउटा मात्र लगानीकर्ता संघ बनाउने अभियानमा लागेका तिलक कोइरालाले आफुहरुलाई यस बिषयमा सम्पर्क नै नगरेको दर्तावाल संस्थाका अध्यक्ष तथा पदाधिकारीहरु बताउँछन्।  

"नेपालको सेयरबजारलाई लिएर दर्ता भएका आधिकारिक संघ तीनवटा मात्र छन्" नेपाल पुंजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल भन्छिन्,  "भोलि दर्ता भएका संघ एक आपसमा मर्ज वा एक हुनुपर्यो भने कुनै एकले नेतृत्त्व लिएर काम गर्छन् तर दर्ता नै नभएका सँस्थाहरुले एकता समारोह गर्नुको अर्थ नै छैन। "

आफु नेतृत्त्वको  नेपाल पुँजी बजार लगानीकर्ता संघ नै ७७ जिल्लामा फैलिएको महासंघ जस्तो भएको बताउदै अध्यक्ष पोखरेलले आफुहरु अर्को कुनैसंघ मर्ज वा एक हुनुपर्ने अर्थ नै नभएको बताएकी छन्। 

त्यस्तै सेयर लगानीकर्ता संघ नेपालका एक पदाधिकारीले पनि आफु दर्तावाल संस्थाहरु एक भएर अगाडी बढ्ने बिषयमा छलफल हुन सक्ने तर दर्ता नै नभएका सँस्था वा कुनै व्यक्तिको आह्वानमा एउटा सँस्था बन्नै नसक्ने बताएका छन्। 

"विगत ८-१० बर्षदेखि सेयर लगानीकर्ताको हकहितमा काम गरिरहेका दर्तावाल र आधिकारिकता पाएका सँस्थाहरुलाई कसैले आएर ल एक हुनुपर्यो भनेर एकता आह्वान  गर्नु आफैंमा हास्यास्पद हो " ति पदाधिकारी भन्छन्, "अहिले प्रस्ताव गर्ने र एकता हुन आउने कोहि पनि दर्तावाल संघ होइनन्, जहाँ जसरी एकता गरे पनि मिल्छ तर हामि दर्तावाल संस्थाहौँ , हाम्रो पदाधिकारी छ, विधि विधान छ, कसैले भन्दैमा हस्ताक्षर ठोक्न जानलाई हामि एउटा व्यक्तिले चलाएका सँस्था होइनौं।"

सेयर बजारलाई लिएर दर्ता भएका र नेपाल सरकारबाट मान्यता पाएका ३ वटा लगानीकर्ता संघ मात्र छन्। अर्थ मन्त्रालय, राष्ट्र बैंक, नेपाल धितोपत्र  बोर्ड तथा अन्य निकायले पनि यी ३ संघलाई मात्र मान्यता दिएका छन्। नियामक निकायले पनि छलफल तथा संवाद गर्दा यी ३ वटा संघलाई संयुक्त रुपमा नै भेट्दै आएको छ। नेपाल इन्भेष्टर फोरम, नेपाल पुँजी बजार लगानीकर्ता संघ, र सेयर लगानीकर्ता संघ नेपालले आफुहरु मात्र नेपाल सरकारबाट मान्यता प्राप्त संघ भएको बताउदै आएका छन् ।  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved