घरजग्गा कारोबारका दृष्टीले दु:खद रहेको वर्ष २०७९ मा के-के भयो उतारचढाव ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 18, 2023 | 05:23:22 PM मा प्रकाशित

laxmi  sunrise bank

गत वर्ष घरजग्गा व्यवसायमा अस्वभाविक मन्दी आयो । वैशाखदेखि फागुनसम्मको तथ्याङ्कले पनि २०७९ साल रियलस्टेट व्यवसायका लागि सुःखद नरहेको देखाउँछ । चैतमा भने कारोबार मौलाएको छ ।

गत जेठ १५ गते बजेट प्रस्तुत भएपछि घरजग्गा कारोबार मन्दीतर्फ धकेलियो । राष्ट्र बैंकले साउनमा ल्याएको मौद्रिक नीतिले घरजग्गामा प्रवाह हुने कर्जाको जोखिम भार १५० प्रतिशत पुर्याएपछि व्यवसाय झन थलियो ।

सँगै, बैंकिङ प्रणालीमा तरलताको अभाव, महँगो ब्याजदर, कित्ताकाटमा गरिएको बन्देजले घरजग्गा व्यवसायमा मन्दी देखियो । फलस्वरुप, विभिन्न सहकारीका सञ्चालहरुले घर जग्गामा गरेको लगानी  ‘फ्रिज’ भयो र सहकारीहरु बचतकर्ताको पैसा फिर्ता नै दिन नसक्ने अवस्थामा सम्म पुगे ।

२०७९ साल भरीमा देशभरका १२६ वटै मालपोत कार्यालयबाट ४ लाख ६८ हजार घरजग्गा किनबेच भएका छन् । यसबापत ४५ अर्ब १३ करोड रुपैयाँ राजस्व उठेको छ । २०७८ मा देशभर ६ लाख ९१ हजार २२७ घरजग्गा किनबेच हुँदा ५ अर्ब ७६ करोड राजस्व सङ्कलन भएको थियो । 

कुन महिना कति कारोबार ?

२०७९ वैशाखमा ४४ हजार ८०३ घरजग्गा किनबेच भए । जेठमा यो सङ्ख्या बढेर ५४ हजार ५११ पुग्यो । तर, असारमा ४७ हजार मात्रै लिखत पारित भयो ।

यही बेला भूउपयोग नियमावली–२०७९ जारी भयो । यसले देशभर कित्ता काटान कडाइ हुँदा साउनपछि घरजग्गा कारोबारमा अस्वभाविक मन्दी आउन थाल्यो । साउनमा जम्मा ३३ हजार ८३४ मात्रै घरजग्गा किनबेच भए ।

भदौमा ३४ हजार ७२० घरजग्गा किनबेच हुँदा असोजमा २५ हजार ७८९ मा झर्यो । कार्तिकमा २७ हजार ९३९ र मंसिरमा २९ हजार १८४ घरजग्गा किनबेच भए ।

पुसदेखि भने कारोबार बढ्न थाल्यो । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार पुसमा ३८ हजार ८७१, माघमा ४१ हजार ८६, फागुनमा ४० हजार ७३४ र चैतमा ४९ हजार १५० घरजग्गा किनबेच भए ।

कुन महिना कति राजस्व उठ्यो ?

सरकारले घरजग्गा कारोबार हुँदा सेवा शुल्क, घरजग्गा रजिष्ट्रेशन दस्तुर, पूँजीगत लाभकर लगायतका शिर्षकमा राजस्व उठाउँछ ।  २०७९ सालमा भएका घरजग्गा किनबेचबाट देशभरका १२६ मालपोत कार्यालयले ४५ अर्ब १३ करोड रुपैयाँ राजस्व उठाएका छन् । २०७८ मा देशभरका मालपोत कार्यालयले ७१ करोड ५७ लाख रुपैयाँ राजस्व उठाएका थिए । 

वैशाखमा ४ अर्ब ७८ करोड, जेठमा ४ अर्ब २५ करोड, असारमा ६ अर्ब ११ करोड, साउनमा २ अर्ब ७४ करोड, भदौमा ३ अर्ब ५७ करोड र असोजमा २ अर्ब ५७ करोड राजस्व उठेको छ । 

कार्तिकमा ३ अर्ब, मङ्सिरमा २ अर्ब ६५ करोड, पुसमा ३ अर्ब ७१ करोड, माघमा ३ अर्ब ७० करोड, फागुनमा ३अर्ब ५७ करोड र चैतमा ४ अर्ब ५१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved